१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन

प्रमुख शक्तिहरू उपलब्धिको रक्षा गर्न एकढिक्का हुनेमा विश्वस्त छौँ: विमला सुवेदी

प्रमुख शक्तिहरू उपलब्धिको रक्षा गर्न एकढिक्का हुनेमा विश्वस्त छौँ: विमला सुवेदी
अ अ+ अ-

काठमाडौँ । पछिल्लो समय देशमा राजनीतिक उतारचढावसँगै सरकार परिवर्तन पनि चाँडचाँडै भइरहेको छ । सरकारको फेरबदलले कानुन निर्माणमा केही गतिरोध उत्पन्न भइरहेको अनुभव हामी सबैले गरेका छौँ । जुन गतिमा कानुन निर्माणको काम हुनुपथ्र्यो त्यो हुन सकिरहेको छैन । म सभापति रहेको कानुन तथा मानवअधिकार समितिमा यसबीचमा तीन वटा विधेयक आएका थिए ।

त्यसमध्ये राष्ट्रिय एवं अन्तर्राष्ट्रिय महत्वको सम्पत्ति शुुद्धीकरणसम्बन्धी विधेयकमा गम्भीर छलफल गरी पारित गरियो । सङ्क्रमणकालीन न्यायसँग जोडिएको सत्य निरुपण तथा मेलमिलापसम्बन्धी(टिआरसी) विधेयक हो । त्यसमा पनि उपसमिति बनाएर लामो समय काम गरियो । अहिले त्यो अन्तिम चरणमा पुगेको छ । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमाथि समितिमा छलफल भइरहेको छ । अन्य संसदीय समितिले पनि आफ्नो क्षेत्राधिकारका कानुन र विषयवस्तुलाई निष्कर्षमा पुर्‍याउन हरसम्भव प्रयास गरिहेका छन् भन्ने लागेको छ ।

सङ्घीय सांसदको मूल कर्तव्य कानुन निर्माण हो । विधायिकी भूमिका नै पहिलो र महत्वपूर्ण हो । सांसदको भूमिका कानुन निर्माण गर्ने भएपनि त्यसैमा मात्रै सीमित नभई विकास–निर्माणमा पनि हुनुपर्छ भन्ने जनताको बुझाइ छ । जनप्रतिनिधिका हैसियतले सांसदसँग समाजले कुलो, बाटो, विद्युत्, सिँचाइ, विद्यालय, स्वास्थ्यचौकी, खानेपानीका योजनाको अपेक्षा गरेको हुन्छ । सांसदहरू विभिन्न काममा अल्झिनु परेकाले कहिलेकाहीँ सदन र समितिका बैठक सञ्चालनका लागि न्यूनतम उपस्थिति सङ्ख्या (कोरम) नपुग्ने समस्या पनि देखिएको छ । विधायकहरू विकास निर्माणका फाइल च्यापेर मन्त्रालयका कोठा–चोटा दौडिरहेको अवस्था छ । विगतको तुलनामा बुझाइमा सुधार भइरहेको छ, यसमा स्वयम् र जनताले पनि कसको भूमिका के भन्ने स्पष्ट हुनुपर्छ ।

मुलुकमा राजनीतिक परिवर्तन र संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्ने विषयमा दलहरूबीच अभूतपूर्व एकता र सहमति कायम भयो । त्यसअघि जनआन्दोलनलाई सफल तुल्याउन र द्वन्द्वको अवस्थालाई अन्त्य गर्न प्रमुख दलहरूबीचको सहमति, सहकार्य र एकताको भूमिका निकै महत्वपूर्ण रह्यो । अहिले संविधानले व्यवस्था गरेका सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तलाई संस्थागत गर्न पनि सबै शक्ति एकढिक्का भएर अघि बढ्नुपर्ने आवश्यकता छ ।

नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट प्राप्त उपलब्धिलाई संस्थागत र परिस्कृत गर्दै लैजानु पर्ने बेलामा सरकार छिटोछिटो फेरबदल हुने कार्यले राजनीतिक अस्थिरता निम्तिने होकी भन्ने आम बुझाइ छ । यो अस्वभाविक होइन । तर मुलुक र जनतालाई अप्ठेरो र सङ्कट परेका बेला नेपालका राजनीतिक दल एउटै कित्तामा उभिन्छन् भन्ने पटकपटक पुष्टि भइसकेको छ । अहिले केही अदलबदल देखिए पनि प्रमुख शक्तिबीच राष्ट्रिय र जनहितका विषयमा दलहरूबीच मत भिन्नता होइन, एकता हुन्छ भन्नेमा विश्वस्त हुन सक्ने थुप्रै उदाहरण छन् ।

समाजमा भ्रष्टाचार महारोगका रुपमा देखा परेको छ । त्यसविरुद्धको प्रभावकारी अभियान सञ्चालन नगरी देशमा सुशासन कायम गर्न र सामाजिक न्याय प्राप्त हुन सक्दैन भन्ने कुरालाई आत्मसात गरेर मुलुकको अहिले सरकारको नेतृत्वबाट भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने सवालमा महत्वपूर्ण प्रयास र प्रयत्न भइरहेको छ । यो महत्वपूर्ण परिघटना हो । सुनकाण्डदेखि ललिता निवाससम्मका भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गरिएका छन् । सरकारको यो अभियानमा समाजका सबै तह र तप्काबाट सहयोग, समर्थन र प्रोत्साहन हुनुपर्छ । यस मामिलामा अहिले समाजमा सकारात्मक सन्देश प्रवाह भएकोजस्तो लाग्छ ।

नेपालको अहिलेको निर्वाचन प्रणाली निकै खर्चिलो भएकाले पूर्ण समानुपातिक हुनुपर्छ भनी नेकपा (माओवादी केन्द्र)ले विगतदेखि नै भन्दैआएको छ । त्यसमा जान सकियो भने निर्वाचन खर्च घटाउन र निष्ठाको राजनीतिलाई प्रवद्र्धन गर्न सहयोग पुग्छ । समाजमा भइरहेका घटनाको गहिराइमा गएर बुझ्ने र आत्मसात गर्ने भन्दा हल्काफुल्का ढङ्गबाट हेर्ने र प्रतिक्रिया दिइहाल्ने प्रवृत्तिले समाजमा एक खालको अराजकता निम्त्याएको छ ।

समाजमा एउटा तप्काले पुराना राजनीतिक दलले केही गरेनन्, यी सबै खराब हुन् भन्ने भाष्य खडा गर्ने कोसिस गरिरहेको छ । मुलुकलाई जहानीयाँ, पञ्चायत र निरङ्कुश अधिनायकवादी शासन व्यवस्था अन्त्य गरी यहाँसम्म ल्याउन पुराना र ठूला दलबाट ठूलो बलिदानी र योगदान भएको छ । त्यो त्याग, बलिदान र समर्पणलाई पूर्णरुपमा बेवास्ता गर्न सकिन्न ।

आर्थिक, सामाजिक र पूर्वाधार विकासका दृष्टिले हिजो र आजको नेपाल समान छैन, धेरै परिवर्तन भएको छ । विगतको तुलनामा समाज जागरुक भएको छ । यसमा पुराना दलको योगदान छ । त्यसलाई बेवास्ता गर्ने प्रवृत्ति ठीक होइन । प्राकृतिक स्रोत साधनले भरिपूर्ण, उपयुक्त हावापानी, जमिन, जलस्रोत, कर्मशील जनशक्ति भएको सुन्दर हाम्रो देशलाई समृद्धिको मार्गमा अघि बढाउन हामीले मेहनत यहीँ गरे पुग्छ । जनतालाई अवसर प्रदान गर्न, मनोबल बढाउन, उत्प्रेरणा दिन हामी लागिपर्छौं । त्यसका लागि नेपाली दाजुभाइलाई हाम्रो सधैँ साथ, सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दछु ।

सांसद विमला सुवेदीको परिचय

नुवाकोट जिल्ला सूर्यगढी नगरपालिका–३ का स्थायी बासिन्दा सांसद विमला सुवेदी विसं २०४६ मा अनेरास्ववियु छैटौँमा आबद्ध भई राजनीतिमा सक्रिय हुनुभएको हो । उहाँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जिल्ला सदस्य, ब्युरो सदस्य हुँदै आठौँ महाधिवेशनबाट पोलिटब्यूरो सदस्य हुनुभयो । विसं २०६४ मा संविधानसभा सदस्य बन्नुभएकी उहाँ विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनुभएको हो । नेत्री सुवेदी हाल प्रतिनिधिसभा कानुन तथा मानवअधिकार समितिका सभापति हुनुहुन्छ ।