४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट

आफ्नै रेकर्ड तोड्दै अर्जुन कुलुङ बने विजेता

आफ्नै रेकर्ड तोड्दै अर्जुन कुलुङ बने विजेता
अ+ अ-

काठमाडौं । खेल पर्यटनलाई प्रवद्र्धन गर्दै नेपालकै लामो ट्रेल रेस प्रतियोगिता ‘मञ्जुश्री ट्रेल रेस’ अन्तर्गतको चौथो संस्करण सम्पन्न भएको छ ।

प्रतियोगिताका विभिन्न चरणका दौडसमध्ये सबैभन्दा लामो एक सय माइलको रेसमा यसअघिको आफ्नै रेकर्ड तोड्दै अर्जुन कुलुङ राई विजेता बनेका छन् । उनले एक सय माइलको दूरी २६ घण्टा ५० मिनेट १५ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जित्न सफल भएको मञ्जुश्री ट्रेल रेसका अध्यक्ष सुवाश थापाले जानकारी दिए । यससँगै कुलुङले सन् २०२२ मा ३१ घन्टा १० मिनेट ५७ सेकेण्डको आफ्नै रेकर्ड तोडेका छन् ।

यस्तै बेलायतका अलिस्टेयर मेस्सनले २८ घण्टा २८ मिनेट ३५ सेकेण्डमा दौड पूरा गरी उपविजेता बन्दा ३३ घण्टा ५७ मिनेट ४० सेकेन्डमा दौड पूरा गर्दै विजय मगर तेस्रो भए ।

एक सय किलोमिटरको दौड १४ घण्टा ४५ मिनेट २० सेकेन्डमा पार गर्दै पुरुषतर्फ मनकुमार रोका मगर विजेता बनेका छन् । यस्तै १६ घण्टा ४६ मिनेट ४८ सेकेन्डमा दौड पूरा गरी फुर्पासिंह तामाङ दोस्रो र १६ घण्टा ५४ मिनेट १७ सेकेन्डमा दौड पूरा गरी अविनाश देवकोटा तेस्रो भए ।

साथै ५० किलोमिटर दौड प्रतियोगिता अन्तर्गत सात घण्टा १७ मिनेट २५ सेकेन्डमा पार गर्दै पुरुषतर्फ हरिलाल सिंह र महिलातर्फ आठ घण्टा २२ मिनेट पाँच सेकेन्डमा पार गर्दै प्रिया राई विजेता बने । यस दलौमा पुरुषतर्फ निम्साङ लिम्बु र महिलातर्फ रसिला तामाङ क्रमश: सात घण्टा १८ मिनेट ११ सेकेन्डमा र नौ घण्टा १३ मिनेट ६ सेकेन्डमा दौड पूरा गरेर दोस्रो भएका छन् । यस्तै पुरुषतर्फ दीपेश तामाङ र महिलातर्फ छोकी शेर्पाले क्रमश: आठ घण्टा चार मिनेट ३६ सेकेन्डमा र नौ घण्टा १६ मिनेट ४५ सेकेन्डमा दौड पूरा गरेर तेस्रो भए ।

यस संस्करणमा एक सय माइल, एक सय किमि र ५० किमि प्रतियोगिताक शीर्ष पाँच खेलाडी स्वत: एसिया ट्रेल मास्टर्समा छनोट भएको अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार यी धावकहरूले मलेसियामा आगामी सेप्टेम्बर १४ मा हुने एटिएम फाइनल दौडमा प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै ३० किलोमिटर दौड चार घण्टा ४९ मिनेट ४८ सेकेन्डमा पार गर्दै उबिन मल्ल विजेता बने भने चार घण्टा ५७ मिनेट २९ सेकेन्डमा दौड पूरा गर्ने लुकास सेर्डन दोस्रो र चार घण्टा ५७ मिनेट ४५ सेकेन्डमा दौड सम्पन्न गर्ने एण्ड्रियु एलकक तेस्रो भए ।
यस्तै महिलातर्फ अमेरिकाकी कार्ली एण्ड्रेसन राट्लीले छ घन्टा ४५ मिनेट २१ सेकेण्डमा दौड पूरा गर्दै महिलातर्फको ३० किलोमिटर दौड प्रतियोगितामा विजेता बनिन् ।

बेलायतकी जेन्नी चाप्लिनले सात घन्टा १९ मिनेट ४८ सेकेण्डमा ३० किमी दौड पूरा गरेर उपविजेता बन्दा अमेरिकाकी एरिका मिक्सले सात घण्टा २० मिनेट ५० सेकेण्डमा दौड पूरा गरेर तेस्रो बनिन् ।

दश किलोमिटर दौड एक घण्टा दुई मिनेट पाँच सेकेन्डमा पार गर्दै कुलबहादुर बस्नेत प्रथम भए भने एक घण्टा दुई मिनेट छ सेकेन्डमा दौड पूरा गरेर रेम बुढामगर दोस्रो र एक घण्टा दुई मिनेट आठ सेकेन्डमा दौड पूरा गरेर प्रविन लिम्बु तेस्रो भएका छन् ।
अध्यक्ष थापाका अनुसार प्रतियोगितालाई समावेशी बनाउन आज दुई किलोमिटरको विशेष दौड समेत सम्पन्न गरिएको छ । जसमा अपाङ्गता भएका बालबालिकाहरु सहभागी थिए । नेपाल डाउन सिन्ड्रोम सोसाइटीसँगको सहकार्यमा सम्पन्न गरिएको सो दौड प्रतियोगितमा १३ बालबालिका सहभागी थिए । जसमा सत्यम थापा विजेता बन्दा रुकुस मैनाली उपविजेता र सिर्जना राई तेस्रो बने ।
शुक्रबार बिहान ८ बजे इचङ्गुनारायणस्थित सिंगल ट्रीमा रहेको हिमालय क्वीन बी रिसोर्टबाट एक सय माइलको दौड सुरू भएको थियो ।

धावकहरुले फुल्चोकी, नागर्जुन, शिवपुरी, नगरकोट, चम्पादेवी, भष्मासुर र चन्द्रागिरीलगायतका पहाड चढ्ने, झर्ने गरेका थिए । सो क्रममा उनीहरूले ती सबै पहाड गरी कूल नौ हजार आठ सय मिटरको उचाइ लिएका थिए ।

अध्यक्ष थापाका अनुसार दौडअन्तर्गत छोटो दूरीका दौड पनि प्रतियोगिता गरिएका थिए । जसअन्तर्गत एक सय किलोमिटरको दौड झुलेबाट, ५० किलोमिटरको दौड बडिखेलबाट र मञ्जुश्री ट्रेल रेससँग आवद्ध ट्रेलमाण्डुको ३० किलोमिटरको केभीआर स्टेज दौड फर्पिङको डोल्लुबाट सुरू भएको थियो ।

ट्रेलमाण्डुको यो प्रतियोगितामा पाँच स्टेज दौडको फाइनल दौड हो । शनिबार बिहान कालुपाँडे डाँडाबाट १० किमिको दौड सुरू भइ सिङ्गल ट्रीमै सकिएको यस दौडमा एक सय धावक सहभागी भएको अध्यक्ष थापाले जानकारी दिए ।

शुक्रबार र शनिबार सम्पन्न भएको विभिन्न चरणको दौडमा नेपालसहित १६ मुलुकका तीन सय २४ धावकहरू सहभागी भएका थिए । जसमा ४० जना विदेशी धावक सहभागी भएको आयोजकले जनाएको छ । सहभागी धावकमध्ये यस्तै दुई सय ८९ जना पुरुष र ३५ जना महिला रहेका थिए । विभिन्न चरणमध्ये सय माइलको दौडमा चार महिला सहित १८ धावक सहभागी थिए ।

यस संस्करणमा नेपाल, चीन, सिङ्गापुर, बेलायत, डेनमार्क, इण्डिया, बेलारुस, इण्डोनेसियाका धावकहरू सहभागी भएको अध्यक्ष थापाले जानकारी दिए ।

एक सय माइल विजेता अर्जुन कुलुङ बाहिरी मुलुकमा हुने दौडभन्दा मञ्जुश्री ट्रेल दौडको महत्व बढ्दै गएको बताउँछन् । त्यही महत्वका कारण नै आफूले दोस्रो पटक पनि दौडमा सहभागी भएको उनले सुनाए । उनले सन् २०२२ को आफ्नै रेकर्ड तोड्दा एकदमै खुशी भएको समेत सुनाए ।

विश्व चर्चित धावक लिजी हकर, सेथ ओल्पिन र रोजर हेन्केनले पहिलोपटक सन् २०१५ मा यो रूटको परिकल्पना गरेका थिए । त्यसपश्चात उनीहरूले सन् २०१६ मा यो रूट छिचोले । जिमी ओस्त्रोम, राज प्रधान, नारायण आचार्यलगायतले पटकपटक गरी ट्रेलको वैकल्पिक रूटहरूसहित नक्साङ्कन गरेका थिए ।

फ्रान्सस्थित विश्वभरका ट्रेल रेस आयोजकहरूको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आइटिआरए) र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्याङ्कन तथा निर्धारण गर्ने संस्था युटिएमबिको सम्बन्धन प्राप्त भएकाले मञ्जुश्री ट्रेल रेसलाई अन्तर्राष्ट्रिय स्तरमा विशेष महत्वका साथ हेरिने अध्यक्ष थापाको भनाइ छ ।

आयोजकका अनुसार एक सय माइलको दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: रु ६० हजार, रु ४० हजार र रु २० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । एक सय किलोमिटर दौडका प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमश: रु ४० हजार, रु २५ हजार र रु १५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

पचास किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: रु ३० हजार, रु १५ हजार र रु १० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै ट्रेलमाण्डुको केभिआर १०० स्टेज रेस अन्तर्गत प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: रु २० हजार, रु १० हजार र पाँच हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।