५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कावाखोला पुल पुन: निर्माण थालियो



अ+ अ-

भोजपुर । निर्माणको अन्तिम चरणमा भाँचिएको कावाखोलाको पक्की पुलको पुन:निर्माण थालिएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्ज्याङ जोड्ने कावाखोला पुलको पुन:निर्माण गत महिना थालिएको थियो ।

हालसम्म निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको इटहरीस्थित स्थानीय सडक पुल कार्यान्वयन एकाइले जनाएको छ । यो पुलको ९० प्रतिशत काम सम्पन्न भएपछि २०७८ मङ्सिरमा भाँचिएको थियो । भाँचिएपछि पुलको स्वरुप परिवर्तन गरेर पुन:निर्माण थालिएको प्रादेशिक स्थानीय सडक पुल सहयोग एकाइ कोशी प्रदेशका प्रमुख सूर्यनारायण चौधरीले जानकारी दिनुभयो ।

‘स्टिल ट्रस ओपन फाउन्डेसन’मा बन्ने यो पुल एक स्पानको हुने उहाँको भनाइ छ । पुल ४५ मिटर लम्बाइ, छ मिटर चौडाइ र १ दशमलव २० मिटरको दुवैतिर पैदल हिँड्न मिल्नेगरी निर्माण हुने जनाइएको छ । पुल निर्माणको काम आगामी वैशाख महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । “कावाखोला पुलको पुन: निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ । पुल निर्माणको काम आगामी वैशाख महिनाभित्रमा सम्पन्न हुन्छ ।” मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु चार करोड ६२ लाख ७४ हजार नौ सय १० को लागतमा पुल बन्न लागेको हो ।

गुणस्तरीय ढङ्गले यथाशक्य चाँडो निर्माण सम्पन्न गराउन हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईलगायत स्थानीय जनप्रतिनिधिको टोलीले निरन्तर अनुगमन गरिरहेको छ । स्वीस सरकारको सहयोगमा निर्माण हुने उक्त पुलको २०७६ साल फागुन १२ गते शिलान्यास भएको थियो । रासस