काठमाडौँ । नेकपाका नेता दिनानाथ शर्मा पुष्पकमल दाहाल र माधव नेपाल समूहमा देखिएका छन् । यसअघि ओली पक्षमा रहेका भनिएका उनी आज बागलुङ जिल्लामा सो समूहले आयोजना गरेको विरोध सभामा देखिएका हुन् ।
पूर्व शिक्षामन्त्री समेत रहेका नेता शर्मा पूर्व माओवादी नेता हुन् । उनले संसद विघटन हुनु अघि र त्यसपछि पनि प्रधानमन्त्री केपी ओलीको पक्षमा वकालत गर्दै आएका थिए ।
नेकपाका केन्द्रीय सदस्य शर्मा हाल राष्ट्रिय सभामा सत्ता पक्षका नेता समेत हुन् । गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि पनि नेता शर्माले ओलीको बचाउ गर्दैै आएका थिए ।ओलीको पक्षमा आफ्ना धारणा राख्दै आएको भए पनि नेता शर्मा दुवै समूहले आयोजना गर्दै आएका सार्वजनिक समारोहहरुमा देखिएका थिएनन् ।
तर आज उनी आफ्नो गृह जिल्ला बागलुङमा आयोजित विरोध सभामा अतिथिका रुपमा देखिएका छन् । आज जिल्लामा प्रतिनिधि सभा विघटनका विरुद्धमा विरोध सभाको आयोजना गरिएको छ । सो सभामा नेकपाका नेताहरु घनश्याम भुसाल, रामकुमारी झाँक्री, देबेन्द्र पौडेललगायतको सहभागिता छ ।
देबेन्द्र पौडेल सोही जिल्लाबाट निर्वाचित सांसद हुन् । तर यहाँका अर्का सांसद सूर्य पाठक भने ओली पक्षमा खुलरै लागेका छन् ।











