२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएनजीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा



अ+ अ-

काठमाडौँ । नेपाल हङकङमा जारी त्रिकोणात्मक सिरिजको फाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा पपुवा न्यूगिनी (पीएनजी)लाई ८५ रनले हराउँदै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६.१ ओभरमा अलआउट हुँदै ११३ रनमात्र बनाउन सक्यो ।

पीएनजीका लागि हिरी हिरीले २८, सेसे बाउले २१, टोनी उराले १३ तथा नोसइना पोकानाले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४, प्रतिश जिसिले २ तथा आकाश चन्द र गुलशन झाले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १९८ रन जोड्यो ।

नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतकीय पारी खेले । ३९ बल खेलेका भुर्तेलले ४ चौका र ४ छक्का हिर्काउँदै ५९ रन जोडे । यस्तै, जोराले २६ बलमा ३ चौका र ४ छक्काको हिर्काउँदै ५६ रन जोडे ।

बिनोद भण्डारीले २७ र लोकेश बमले १४ रन जोड्दा गुलशन झा १५ र विवेक यादव १९ रनमा अविजित रहे । ४ बलमात्र खेलेका यादवले ३ छक्का हिर्काए । बलिङतर्फ पीएनजीका आशाद भालाले दुई तथा नोसैना पोकाना, जोन कारिको र नोर्मान भनुआले एक–एक विकेट लिए ।

आज हुने लिग चरणको अन्तिम खेलमा पीएनजी र हङकङले खेल्नेछन् । उक्त खेलको विजेताले बुधबार हुने फाइनलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।