९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

उत्पादनले बजार नपाउँदा महिला उद्यमी मर्कामा

उत्पादनले बजार नपाउँदा महिला उद्यमी मर्कामा
अ अ+ अ-

ढोरपाटन । बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँका १५ जना उत्साहित महिला मिलेर ढाका उद्योग सञ्चालन गर्नुभयो । उहाँहरुले निरन्तर ढाका बुन्न थाल्नुभयो तर आफ्ना उत्पादनले बजार नपाउँदा अहिले निरास बन्नुभएको छ ।

उत्पादित ढाकाले गोदाम भरिँदै गए पनि माग निकै कम हुने गरेको छ । ती सामग्री बेच्न उहाँहरु कहिले बुर्तिबाङ बजार त कहिले म्याग्दीसम्म पुग्नुहुन्छ । लाखौँको लगानीका सामग्री गोदाममै थन्किएका उहाँहरुको गुनासो छ । तमान गाउँको कल्याण आमासमूहले सञ्चालन गरेको उद्योगमा हाल १५ जना महिला आबद्ध हुनुहुन्छ । विसं २०७५ मा सङ्गम परामर्श केन्द्र बागलुङले १५ दिने प्रशिक्षण दिएपछि उहाँहरुले उद्योग सञ्चालन गर्नुभएको हो । प्रारम्भमा रु ४५ हजार लगानीमा सुरु गरिएको उद्योगबाट अहिले करिब रु सात लाखको सामग्री तयार भएका छन् । आफ्ना उत्पादनले बजार नपाउँदा आफैँले बोकेर ग्राहक खोज्दै हिँड्नुपर्ने बाध्यता भएको समूहकी अध्यक्ष टीकादेवी बुढा घर्तीले राससलाई बताउनुभयो ।

उद्योगबाट ढाकाको सल, टोपी, लुङ्गी, दोसल्ला, खादालगायत सामग्री उत्पादन गर्ने गरेको उहाँको भनाइ छ । विगतको तुलनामा उत्पादनले बजार पाए पनि सोचेअनुसारको नहुँदा समस्या भएको घर्तीले बताउनुभयो । बिहान बेलुका घरका कामधन्दा गर्ने र दिउँसोको समय निकालेर उद्योगमा काम गर्दै आएको भन्दै उत्पादनले बजार नपाउँदा दुःख लाग्ने घर्ती बताउनुहुन्छ । उद्योगमा एक जनाले महिनाको ३५÷४० हजारको सामग्री तयार गर्ने गरेको सुनाउँदै बिक्री नहुँदा एक हजार पनि कमाउन मुस्किलपर्ने उहाँले गुनासो गर्नुभयो ।

“फुर्सदको समयमा काम गर्छौं राम्रो बजार हुन्थ्यो भने पूरै समय दिएर काम गर्ने थियौँ, तर समय निकालेर काम गर्दा पनि धेरै कपडाहरु बनाएका छौँ, एक जनाले हजारौँको काम गर्छौं, तर बिक्री नहुँदा कहिले त एक हजार पनि पाउन मुस्किल छ”, उहाँले भन्नुभयो, “सामानले कोठा भरिएका छन्, कहिलेकाहीँ नजिकैका ग्राहकहरु आएर सामान लैजानु हुन्छ, टाढाबाट भने आउनुहुन्न, बजार पाउन गाह्रो भएको छ ।”

समूहमा काम गर्दै आउनुभएकी जुनुमाया घर्तीमगरले सुरुमा निकै उत्साहित भएर काम गरेको भन्दै अहिले उत्पादनले बजार नपाउँदा जाँगर मर्दै गएको बताउनुभयो । आफूहरु विस्तारै राम्रो हुँदै जानेमा आशावादी भने रहेको उहाँको भनाइ छ । समयसमयमा गाउँपालिकाले प्रयोजनका लागि खरिद गरेर प्रोहोत्सान गरे पनि बजारीकरणका लागि पहल हुन नसकेको उहाँले बताउनुभयो । सरकारले बजारीकरणको व्यवस्थापन गरिदिए अझै धेरै महिलाले यसबाट स्वरोजगार हुने उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “गाउँमा घुम्न आउनेले राम्रो लागेर टोपी, लुङ्गी, खादा र दोसल्ला किनेर लैजानुहुन्छ तर सोचेअनुसार बिक्री भएको छैन । समय मिलाएर हामी बजारमा पुग्छौँ, गाउँमा जान्छौँ, मेलापर्वमा अलिअलि बिक्री हुन्छ, बजारको मात्रै समस्या छ, अरु सबै हामीले मिलाएका छौँ ।”

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले महिला उद्यमीलाई मेशिनलगायत अन्य सहयोग गरिएको भन्दै बजारीकरणका लागि पहल थालेको बताउनुभयो । समयसमयमा महिला उद्यमीहरुलाई प्रोत्साहन गर्दै आएको भन्दै उहाँले गाउँदेखि सहरसम्म आयातीत सामानको बढ्दो प्रयोगले स्थानीयस्तरमा उत्पादित वस्तुले बजार नपाएको बताउनुभयो । उद्यमीलाई बजार खोज्दै हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्ने उहाँ बताउनुहुन्छ ।

“पालिकाकोतर्फबाट सुरुमा मेशिन सहयोग गरिएको छ, पालिकाकै सहयोगमा भवन निर्माण पनि भइरहेको छ, उहाँहरुलाई हामीले प्रथामिकताका साथ सहयोग गर्दै आएका छौँ यहाँका उत्पादनलाई हामीले प्राथमिकतामा राखेका छौँ, हामीले महिला उद्यमीलाई निरन्तर सहयोग गर्नेछौँ, मेला महोत्सवमा सामान बिक्रीका लागि लैजान यातायात खर्च र स्टल खर्चको बेहोर्ने योजना पनि बनाएका छौँ, उद्योगलाई थप व्यवस्थित बनाउनका लागि पालिकाले अध्ययन गरिरहेको छ”, उहाँले भन्नुभयो । रासस