९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

नेपाल–जापान सम्बन्धमा नेपाली समाज उदाहरणीय छ: राजदूत सुवेदी

नेपाल–जापान सम्बन्धमा नेपाली समाज उदाहरणीय छ: राजदूत सुवेदी
अ अ+ अ-

टोकियो । जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले जापानमा रहेको नेपाली समाजले नेपाल–जापान सम्बन्ध विस्तारमा पुर्याउँदै आएको योगदान उदाहरणीय रहेको बताउनुभएको छ । दुई देशबीचको सम्बन्ध विस्तारमा जापानस्थित नेपाली समाजले हासिल गरेको उचाईबाट जापान सरकार तथा यहाँको समाजले नेपाली परिचय र पहिचान दिलाउन सफल भएको उहाँले उल्लेख गर्नुभयो ।

राजदूत डा सुवेदीले नेपाल–जापानबीचको सांस्कृतिक, धार्मिक र जनस्तरमा सम्बन्ध विस्तारमा यहाँको नेपाली समाजले उल्लेख्य भूमिका निर्वाह गरेको बताउनुभयो । जापानमा हाल करिब एक लाख ६३ हजारको सङ्ख्यामा नेपाली रहेको अनुमान गरिएको छ । नेपालीहरु विभिन्न पेसा व्यवसाय, रोजगारी र अध्ययनका सिलसिलामा जापानमा बस्दै आएका छन् ।

उच्च शिक्षा अध्ययन र रेष्टुराँ व्यवसायमा संलग्न नेपालीको सङ्ख्या बढी छ । जापानमा हाल करिब ४० हजार नेपाली विद्यार्थी उच्च शिक्षा अध्ययनमा छन् भने करिब आठ सयको सङ्ख्यामा नेपाली रेष्टुराँ सञ्चालनमा रहेको बताइएको छ । त्यहाँका रेष्टुराँ नेपाली पहिचान झल्कने रातोमाटो, निम्तो, चिनो, आँगन, हार्दिक, नेपाली खाजाघरजस्ता नामाकरण दिएर सञ्चालन गरिएको पाइन्छ । नेपाली दालभात तरकारीका अलवा कोदो र फापरको ढिँडो, मःमजस्ता परिकार र व्यञ्जनले नेपाली खानालाई जापानमा समेत परिचय गराएको राजदूत डा सुवेदी बताउनुहुन्छ ।

“जापानमा रहेको नेपाली समाज अन्य देशको तुलनामा सु–सङ्गठित, सुविचारित र समृद्ध हुँदै गएको छ”, राजदूत डा सुवेदीले भन्नुभयो ।

गैरआवासीय नेपाली सङ्गठन (एनआरएन)का पूर्वअध्यक्ष भवन भट्ट तथा मनि एक्सचेन्जका क्षेत्रका ओम गुरुङ, रवीन शेरचन, महेशलाल श्रेष्ठ एवं व्यापार तथा व्यवसाय क्षेत्रमा भूषण घिमिरे, शिवप्रसाद पौडेललगायत जापानमै ख्याति कमाएका व्यक्ति हुनुहुन्छ । अहिले जापानमा रहने नेपाली कुक अथवा वेटर मात्र नभई विभिन्न क्षेत्र तथा ठूला र स्थापित पेसा व्यवसायमा अघि बढिरहेका छन् । जापानमा प्रा डा केशवलाल महर्जन, प्रा डा नेत्रप्रकाश भण्डारी, प्रा डा रमेश पोखरेल, प्रा डा प्रमिला न्यौपानेलगायत प्राध्यापनमा संलग्न हुनुहुन्छ । स्वास्थ्यदेखि इन्जिनियरिङ, वातावरणका क्षेत्रसम्ममा समेत विद्यावारिधि गर्ने क्रममा नेपाली विद्यार्थी रहेका छन ।

राजदूत डा सुवेदी भन्नुहुन्छ, “हामीले गौरव गर्नुपर्छ । नेपालीहरु विद्या र वुद्धिको क्षेत्रमा प्रखररुपमा अघि बढी रहनुभएको छ । नेपाली प्रकृति, संस्कृति, कला र साहित्यको अनुसन्धानमा त्यतिकै समर्पित छन् ।” नेवारी संस्कृतिमा मात्र नभई नेपालका कुना कन्दरामा पुगेर मगर भाषामा विद्यावारिधि गर्ने समेत जापानी नागरिक रहेका राजदूत डा सुवेदी बताउनुहुन्छ ।

“नेपालको प्रकृतिदेखि, कला, सङ्गीत, संस्कार, धर्म र संस्कृतिसम्म अनुसन्धान गर्ने जापानी रहेका छन्”, उहाँले भन्नुभयो । नेपाल–जापानबीचकोे अनुपम सम्बन्ध र सहयोगलाई जापानले सदासर्वदा उच्च प्राथमिकतामा राख्दैआएको छ । जापानले नेपालको शिक्षा, स्वास्थ्य, सडक, हवाई, सडक, कृषि, पूर्वाधारलगायतका क्षेत्रमा लामो समयदेखि सहयोग पु¥याउँदै आएको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ तारिखमा औपचारिकरुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । तर करिब डेढ सय वर्ष अघिदेखिनै दुवै देशबीच सम्बन्ध ऐतिहासिक र प्रगाढ थियो । त्यसअघि सन् १८९९ मा जापानका बौद्ध भिक्षु एकाइ कावागुचीले बौद्धधर्म ग्रन्थको अनुसन्धानका सिलसिलामा नेपालको भ्रमण गर्नुभएको थियो ।

राणाकालमा आठ विद्यार्थीलाई खनिज, मेकानिकल, खरखजाना, प्रविधि र कृषिबारे उच्च शिक्षा अध्ययनका लागि जापान पठाइएको इतिहास छ । शैक्षिक हिसाबले त्यो घटना निकै महत्वपूर्ण विषय हो । तत्कालीन सरकारले ती विद्यार्थीका लागि खाना पकाउने भान्सेसहित पानीजहाज चढाएर अध्ययन गर्न जापान पठाएको थियो । उनीहरु नेपाल फर्कने क्रममा जापानबाट उन्नत जातको गोदावारी फूल र हलुवावेद नेपाल ल्याएको बताइन्छ ।

नेपाल र जापानबीच दौत्य सम्बन्धको नो वर्षपछि टोकियोमा नेपाली दूतावास स्थापना भएको हो । त्यसको लगत्तै जापानले काठमाडाँैमा आफ्नो दूतावास खोलेको थियो । नेपालका सबै राजनीतिक परिवर्तनलाई जापान सरकार र जापानी जनताले आत्मसात् गर्दै सम्मान र स्वीकार गर्दैआएका छन् । अनुशासित र मेहनती जनता, नवीनतम उच्च प्रविधिको प्रयोग र शान्त कूटनीतिका माध्यमद्वारा अघि बढिरहेको जापान विश्वका सबै मुलुकका लागि आकर्षण र अध्ययनको केन्द्र बनेको छ ।

कुलेखानी जलविद्युत् आयोजना, महाराजगञ्ज शिक्षण अस्पताल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडार जडान, रेडियो नेपालको भवन, सिन्धुली–बर्दिवास विपी राजमार्ग र नागढुङ्गा सुरुङ नेपालको विकासमा जापानी सहयोगका उदाहरण भएको राजदूत डा सुवदी बताउनुहुन्छ । कुनै रणनीतिक उद्देश्य नराखी केवल नेपाली जनता र नेपालको आर्थिक तथा सामाजिक विकासलाई केन्द्रित गरी जापानले निरन्तर सहयोग गर्दैआएको उहाँले बताउनुभयो । सरकारीसगै जनस्तरमा रही आएको घनिष्ट र प्रगाढ सम्बन्धकै कारण ठूलो सङ्ख्यामा नेपाली जापान पुगेका हुन् ।

विदेशी मुलुकमा नेपाली पाठ्यक्रमका आधारमा पठनपाठन हुँदैआएको टोकियोस्थित एभरेष्ट इन्टरनेसनल स्कुलले पनि जनस्तरमा दुई देशबीचको सम्बन्ध विस्तारमा सेतुको काम गरेको छ । त्यस विद्यालयलाई जापानले अन्तर्राष्ट्रियस्तरको विद्यालयको मान्यता प्रदान गरेको विद्यालयका प्राचार्य विष्णुप्रसाद भट्ट बताउनुहुन्छ । टोकियोस्थित नेपाली समाजकै अग्रसरमातामा खोलिएको सो विद्यालयमा हाल कक्षा १ देखि १२ सम्म नेपालकै पाठ्यक्रमका आधारमा पठनपाठन भइरहेको छ ।

उक्त विद्यालयले नेपाली भाषा, साहित्य, शिक्षा, वेशभूषा, परम्परा, रहनसहन, कला, संस्कृति र सभ्यतालाई विश्वसमुदायमा पु¥याउन योगदान पुर्याइरहेको संस्थापक सदस्य एवं विद्यालय सञ्चालक समिति सदस्य भूषण घिमिरेले बताउनुभयो । विद्यालयमा हाल जापानीसहित ४५० विद्यार्थी अध्ययनरत छन् । टोकियोमा नेपाली पाठ्यक्रमअनुरुप पढाइ हुने विद्यालय सञ्चालन गरी नेपालीपन र नेपाली मन बचाउने कार्यमा नेपाली समाजले गरेको कार्य आदरणीय रहेको राजदूत डा सुवेदीले बताउनुभयो । सन् १९९० मा जापानमा नेपाली समाज गठन भएको हो । रासस