४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘नेपाली अर्केस्ट्रा’ बनाउने सपना अधुरै

‘नेपाली अर्केस्ट्रा’ बनाउने सपना अधुरै
अ+ अ-

काठमाडौँ । नेपाली गीत, सङ्गीतका क्षेत्रमा सङ्गीतसम्राटका रुपमा सम्झिने गायन, सङ्गीत र गीत रचनाका विलक्षण प्रतिभा अम्बर गुरुङको एउटा महत्वपूर्ण सपना थियो ‘नेपाली चेम्बर अर्केस्ट्रा’ बनाउने ।

तत्कालीन शाही नेपाल प्रज्ञा प्रतिष्ठानमै रहँदा उहाँले ६ जना जतिको अर्केस्ट्रा बनाउने सपना बुन्नुभएको थियो । उक्त सपना अहिलेसम्म पूरा हुन सकेन ।

उहाँको आज ८६औँ जन्मजयन्ती मनाइरहँदा सङ्गीत साधकहरुले त्यही कुरालाई घच्घचयाइरहेका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले उहाँको जन्मजयन्तीका अवसरमा सोमबार उहाँको योगदानको सम्मानमा वरिष्ठ सङ्गीतकर्मीबीच काठमाडौँमा अन्तरक्रिया गरी स्मरण गरेको छ ।

उक्त प्रतिष्ठानका प्रथम कुलपति तथा नेपाली राष्ट्रिय गानका सङ्गीतकार हुनुहुन्छ अम्बर गुरुङ । आजको कार्यक्रममा उहाँको अर्केस्ट्रा बनाउने सपना पूरा हुन नसकेकामा सहभागीले चिन्ता प्रकट गरेका छन् । गुरुङसँग १५ वर्ष काम गर्नुभएका दीपक जङ्गम नेपाली अर्केस्ट्रा बनाउने उहाँको सपना पूरा गर्न सके त्योभन्दा ठूलो उपलब्धि अरू केही नहुने र उहाँको सच्चा सम्मान हुने बताउनुहुन्छ ।

उहाँले गुरुङ नेपाली गीत, सङ्गीत र नाट्य विधालाई अन्तर्राष्ट्रियस्तरको कसरी बनाउन सकिन्छ भनेर चिन्तनमनन गरिरहने व्यक्तिका रुपमा सम्झनुभयो । “नेपालमा पनि गीत, सङ्गीताका धेरै विज्ञ हुनुहुन्छ, उहाँहरुको विज्ञतालाई प्रयोग गर्न सके पनि अम्बर दाइको सोच केही प्रतिशत पूरा हुन्छ”, उहाँले भन्नुभयो ।

विसं १९९४ फागुन १४ गतेका दिन दार्जिलिङको लालढिकीमा उहाँको जन्म भएको थियो । उहाँका हजुरबुबा भारतीय सेनाको जागिरे भएर भारत जानुभएको थियो । उहाँका बुबा उजिरसिंह गुरुङले पनि भारतीय सेनामै जागिर खानुभएको थियो । उहाँको पुख्र्यौली थलो भने गोरखा जिल्लाको रिसिङ हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाली राष्ट्रिय गानका सङ्गीतकार मात्रै भनेर अम्बर गुरुङको योगदानलाई नभुल्न आग्रह गर्नुभयो । उहाँले स्मरण गर्नुभयो, “अम्बर दाइको आफ्नै गायन, शब्द र सङ्गीत रहेको ‘उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरू को होला… ले संवेदनामै हिर्काएको महसुस हुन्छ, अर्को उहाँकै शब्द र सङ्गीत रहेको ‘सम्हालेर राख…’ बज्दा दाइको विम्ब मेरा अगाडि आउँछ ।”

अम्बर गुरुङलाई सङ्गीतको ऋषिमुनि मान्ने कुलपति राई जीवनको उत्तरार्धमा उहाँसामु सङ्गीत भर्न अनुरोधका लागिभन्दा पनि उहाँका कुरा सुन्न जाने गरेको सुनाउनुभयो । गुरुङलाई सम्झँदा नेपाल प्रवेशअघिको ‘नौ लाखे तारा… ’को समयलाई एउटा आयाम र नेपाल आएपछिको अवस्थालाई अर्को आयामका रुपमा बुझ्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । उहाँले  गुरुङलाई सङ्गीतकार भन्दै गर्दा गीतकार र निबन्धकारको परिचयलाई नभुल्न आग्रह गर्नुभयो ।

“त्यसैले उहाँ ऐतिहासिक कडी जोडिएको व्यक्ति हो भन्छु म, कोही एउटै गीत, कविताले चर्चित हुन्छन् तर अम्बर दाइ एउटा गीत होइन जुनसुकै गीत, सङ्गीत हेर्नुहोस् कस्तो छ”, उहाँले भन्नुभयो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा प्रथम कुलपति गुरुङको स्मरण गर्दा उहाँको योगदानका साथै डिप्रेसनमा गएको कुरा भुल्न नहुने बताउनुहुन्छ । त्यसबेला नाट्य निर्देशक सुनिल पोखरेललगायत व्यक्तिहरुले गीत गाउन लगाएर उहाँलाई ‘डिप्रेसन’बाट छुटाएको कुरा बिर्सन नहुने बताउनुहुन्छ । त्यो बेला उहाँलाई धेरैले बिर्सिएको अनुभव उहाँले सुनाउनुभयो ।

पुराना दिग्गज व्यक्तित्वलाई बिर्सन हुन्न भनेर आज यो कार्यक्रम गरिएको र यसअघि बालकृष्ण समलाई पनि स्मरण गरिएको उहाँले सुनाउनुभयो । कुलपति शर्माले प्रतिष्ठानमा आफू काम गर्नका लागि आएको र सबैको राय, सुझाव र सल्लाहकै आधारमा सङ्गीत नाट्यलाई अघि बढाउने सोच आफ्नो रहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “आउनुहोस्, छलफल गरौँ, बसौँ, कसरी अघि बढाउन सकिन्छ, सरकारलाई घच्घच्याउन सँगै जाऔँ, काम गर्न सकियो भने अम्बर गुरुङजस्ता अग्रजहरुको सपना पूरा गर्न सकिन्छ ।”

उहाँले अम्बर गुरुङको नेपाली अर्केष्ट्रा बनाउने सपना पूरा गर्नका लागि बजेट माग गरेर मन्त्रालयमा योजना पेस गरेको पनि सुनाउनुभयो । गुरुङको ८६औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति शम्भु राई, सदस्यसचिव कुस्मा महरा, सङ्गीतकार अमूल कार्की, पूर्वसदस्यसचिव तथा रचनाकार श्याम तमोटलगायतले गीत–सङ्गीतको क्षेत्रमा अमर गुरुङको योगदान अतुलनीय रहेको र उहाँको सपना पूरा गर्न सबैको एकसाथ पहल जरुरी रहेको औँल्याउनुभयो ।

कार्यक्रममा गायक तथा सङ्गीताकार विष्णु अधिकारी र तबलावादक कुमार महराजले ‘मेरो यो गीतमा जुन मुर्छना छ…’, वरिष्ठ सङ्गीतकार एवं गायिका सङ्गीता प्रधानले ‘कति सम्हालौँ चोटहरु…’ र गायिका कुन्ती मोक्तानले ‘उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरू को होला…’ गीत प्रस्तुत गर्दै अम्बर गुरुङको योगदानलाई स्मरण गर्नुभएको थियो । रासस