२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता बालेन्द्र प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि दुर्भाग्यः नेता सुवेदी कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतीबिन्दु शल्यक्रिया हुने भन्सार छलेका १४ थान आइफोन मोबाइल बरामद सांसद बोल्ने, सरकार नसुन्ने परम्परा अन्त्य हुनुपर्छः रास्वपा सांसद आचार्य बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँमा खेल्दै पढ्दै



अ+ अ-

मनाङ । मनाङमा हिउँद लागेसँगै बिदा भएका विद्यालय खुल्न थालेका छन् । जाडो बढेसँगै बन्द भएका मनाङका विद्यालय फागुनदेखि खुल्न थालेको शिक्षा तथा समन्वय एकाइ मनाङले जनाएको छ ।

विद्यालय खुलेसँगै हिमपात भएपछि विद्यार्थी हिउँसँगै पढ्दै आएको शिक्षा तथा समन्वय एकाइ मनाङका प्रमुख मतिलाल चपाईंले बताउनुभयो । उहाँका अनुसार विशेष गरी माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मध्यनजर गरी मनाङका तीन विद्यालय खुलिसकेका छन् । उहाँले भन्नुभयो, “एसइईका लागि विद्यालय खुलाइसकेका छौँ । बिदा लम्बिँदा विद्यार्थीलाई समस्या हुन्छ । यसलाई मध्यनजर गरेका छौँ ।”

उहाँले नासों गाउँपालिका–५ थोंचेस्थित प्रकाशज्योति आवासीय माध्यमिक विद्यालय फागुन १ गतेदेखि खुलेको जानकारी दिनुभयो । चामे गाउँपालिका–१ तिमाङस्थित गौरीशङ्कर माध्यमिक विद्यालय माघ २३ देखि र चामे–४ चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय माघ २८ गतेदेखि पठनपाठन सुरु भएको उहाँको भनाइ छ ।

यस वर्ष मनाङबाट प्रकाशज्योतिका १९, लोकप्रियका १७, अन्नपूर्ण माविका एक र लोकप्रिय माविबाट (खुला) तीन गरी ४० विद्यार्थी एसइई परीक्षामा सहभागी हुने प्रमुख चपाईंले बताउनुभयो । मनाङमा चारवटा मात्रै माध्यमिक विद्यालय छन् ।

यस वर्षको एसइई परीक्षालाई मध्यनजर गरी जाडो भए पनि विद्यालय छिटो खुलाइएको प्रकाशज्योति माविका प्रधानाध्यापक पद्मराज पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “एसइई परीक्षा दिने विद्यार्थीको पठनपाठनलाई लक्षित गरी विद्यालय चाँडै खुलाएका हौँ । चिसो भए पनि विद्यार्थीलाई पठनपाठनमा प्रभाव पर्नसक्ने विषयलाई मध्यनजर गरेका छौँ ।” जाडो बिदाका समयमा पनि लमजुङको च्याम्चेमा विद्यार्थीको घरमै पठनपाठन गराइएको उहाँले बताउनुभयो ।

प्रधानाध्यापक पन्थीले भन्नुभयो, “आवासीय विद्यालय भएकाले लमजुङका बच्चा पनि मनाङमा पढ्न आउँछन् । मनाङको सिमानामै पर्ने च्याम्चेका केही विद्यार्थी हाम्रैमा पढ्छन् । जाडो बिदाका समयमा च्याम्चेमा घर खोजेर पढायौँ । एसइई परीक्षालाई विशेषरुपमा लिइने हुँदा हामी पनि लागिरहेका छौँ । विद्यार्थी उत्कृष्ट र सहभागी सबै विद्यार्थी उत्तीर्ण हुँदा हाम्रो गौरव बढ्नेछ ।”

वार्षिक परीक्षा पनि आइसकेको र पठनपाठनमा लाग्नुपर्ने भएकाले बिहान दुई घण्टा र बेलुका दुई घण्टा तालिका बनाएर विज्ञान, गणित, अङ्ग्रेजी र ऐच्छिक गणित पढाउने गरेको प्रअ पन्थीले बताउनुभयो । एसइईका विद्यार्थी पठनपाठनमा व्यस्त हुने र साना बालबालिका हिउँमा खेल्दै पढ्ने गरेको उहाँको भनाइ छ ।

आवासीय विद्यालय भएकाले समय व्यवस्थापनमा समस्या नभएको उहाँले बताउनुभयो । पालिकाले रु ५० लाख वार्षिक बजेट छुट्याएर विद्यालयलाई सहयोग गर्दै आइरहेको छ । आवासीय विद्यालय भएकाले प्रतिविद्यार्थी रु एक हजार पाँच सय मासिक शुल्क भने लिने गरेको उहाँले बताउनुभयो । यसका अतिरिक्त १२ जना विद्यार्थीलाई निःशुल्क आवासीय सुविधा उपलब्ध गराएको विद्यालयले जनाएको छ । सञ्चालनमा नआएका विद्यालयका शिक्षकलाई काजमा ल्याएर पठनपाठन गरिरहेको पन्थीले जानकारी दिनुभयो ।

मनाङका अन्य विद्यालय फागुन १५ पछि मात्रै खुल्नेछन् भने नार्पाभूमि गाउँपालिकाका विद्यार्थीको पठनपाठन काठमाडौँ सञ्चालन भइरहेको छ । वार्षिक परीक्षा सकाएर नतिजा प्रकाशन गरी नयाँ शैक्षिकसत्रका लागि वैशाखमा सञ्चालन गरिने नार्पाभूमि गाउँपालिकाका शिक्षा शाखा प्रमुख मनिषा विकले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “एक त विकट छ । सदरमुकामबाटै जान दुई दिन लाग्छ । सडक सञ्जाल पुगेको छैन भने अर्कोतर्फ यहाँ अहिले बाक्लो हिउँ छ । चिसो अत्यधिक भएकाले गाउँ फर्किने अवस्था छैन । त्यसैले यहीँ चालु शैक्षिकसत्र सकाएर मात्रै फर्कन्छौँ । यसले विद्यार्थीलाई पनि सहज भएको छ ।”

गौरीशङ्कर मावि कक्षा ७ मा अध्ययनरत विद्यार्थी छुपी गुरुङ हिउँसँग खेल्दै पढ्न पाउँदा खुसी लागेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हिउँ परे पनि रमाइलो गरी खेल्दै पढ्न पाएका छौँ ।”

मौसम चिसो भए पनि हिउँ खेल्दै पढ्न पाएको कक्षा ८ मा अध्ययनरत विवेक गुरुङले बताउनुभयो । ढिलागरी परेको हिमपातले चिसो बढे पनि विद्यार्थी शिक्षाबाट प्रभावित हुन नदिने गरी विद्यालयमा पठनपाठन भने सञ्चालन गरिएको छ । रासस