९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

अभिभावक गुमाएकी खेलाडी रियाको उच्च शिक्षा प्राप्तिको चाहना अधुरै

अभिभावक गुमाएकी खेलाडी रियाको उच्च शिक्षा प्राप्तिको चाहना अधुरै
अ अ+ अ-

महेन्द्रनगर । कराते खेलाडी रिया पुजाराले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको सात महिना भए पनि ‘प्लस टू’को प्रमाणपत्र भने लिन सकेकी थिइनन् । उनका सहपाठी स्नातक तहमा भर्ना भइसकेका छन् तर उनी भने घरमै थन्किएकी छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गड्डाचौकीकी रियाले स्थानीय डायमण्ड पब्लिक ऐकेडेमीबाट ‘प्लस टू’ उत्तीर्ण गरेकी हुन् । उनी उक्त विद्यालयमा कक्षा ३ देखि पढ्न थालेकी हुन् । कक्षा ३ देखि हालसम्मको शुल्क तिर्न नसक्दा रियाले स्नातक तह पढ्न नपाएकी हुन् । यसबीचमा शैक्षिक प्रमाणपत्रका लागि उनी पटक–पटक विद्यालय धाइन् तर धेरै शुल्क रकम तिर्न बाँकी रहेकाले विद्यालयले शैक्षिक कागजात दिन मानेन ।

केही दिनअघि करातेका पूर्वप्रशिक्षक मकेन्द्रबहादुर सिंहले रियाको हालसम्मको शुल्क तिरिदिएपछि प्रमाणपत्र उनको हातमा परेको छ तर स्नातक तह पढ्न बाटो खुले पनि उनको कमजोर आर्थिक अवस्थाका कारण हालसम्म क्याम्पस भर्ना हुन सकेकी छैनन् । उच्च शिक्षा हासिल गर्न उनी आर्थिक जोहो कसरी गर्ने भन्ने चिन्तामा छन् ।

“कक्षा ३ देखि ‘प्लस टू’सम्मको रु तीन लाख ६१ हजार शुल्क तिर्न बाँकी थियो”, रियाले रासससँग भनिन्, “आर्थिक अवस्था कमजोर हुँदा शुल्क तिर्न सकेकी थिइनँ ।” पूर्वप्रशिक्षक सिंहले विद्यालयको रु दुई लाख ५० हजार शुल्क तिरेपछि रियाले सात महिनापछि विद्यालयबाट एसइई र ‘प्लस टू’ को प्रमाणपत्र पाएकी छिन् । अब उनी स्नातक तह पढ्नेबारे योजना बुन्दैछिन् ।

पछिल्लो समय अमेरिकामै बस्दै आएका पूर्वप्रशिक्षक सिंह यही फागुन पहिलो साता महेन्द्रनगरमा आयोजना गरिएको सुदूरपश्चिम प्रदेशस्तरीय सितोरियो करातेको दीक्षान्त समारोहमा भाग लिन आएका थिए । त्यही क्रममा रियाको सिंहसित भेट भयो । उनको आर्थिक अवस्थाका बारेमा कराते प्रशिक्षक बिमल खडायत, मदन नाथ र दीपक चन्दले कराते महासङ्घका केन्द्रीय उपाध्यक्षसमेत रहेका सिंहलाई अवगत गराए ।

“मकेन्द्र गुरु मेरो बारेमा जान्न बुझ्न घरमै आए”, रियाले भनिन् । अवस्था अवगत भएपछि पूर्वप्रशिक्षक सिंहले विद्यालयमै पुगेर रियाको रु दुई लाख ५० हजार शुल्क तिरिदिए । विद्यालयले अढाइ लाख शुल्कमै शैक्षिक प्रमाणपत्र उपलब्ध गराएको उनले बताइन् । बाँकी रु एक लाख ११ हजार शुल्क उनको विद्यालयले मिनाहा गरिदियो ।

अठार वर्षीया रिया करातेकी पदकधारी खेलाडी हुन् । शुल्क तिर्न बाँकी रहेको कुरा उनले साथीभाइ र प्रशिक्षकहरुलाई अवगत गराएकी थिइन् तर कहीँकतैबाट पनि सहयोग जुटेन । “शैक्षिक प्रमाणपत्र लिन पटक पटक विद्यालय धाए, तर विद्यालय प्रशासनले शुल्क नतिर्दा दिन नसकिने बतायो”, रिया भन्छिन्–“शुल्कका विद्यालयबाट फोन आउन थालेपछि दुई महिनासम्म मोबाइल बन्द गरेर बसेँ ।”

रिया करातेको ५० तौल समूहमा प्रतिस्पर्धा गर्दै आएकी छिन् । उनले २०७४ माघदेखि करोत खेल्न थालेकी हुन् । यसबीचमा रियाले छवटा पदक प्राप्त गरेको बताइन् । उनी हाल मधेस प्रदेशको बर्दिबासमा यही फागुन १८ गतेदेखि आयोजना हुने मिथिला राष्ट्रिय कराते प्रतियोगिताको तयारीमा जुटेकी छिन् । त्यसलगत्तै फागुन २४ गतेदेखि चितवनमा हुने प्रदेशस्तरीय कराते प्रतियोगिताका लागि उनी गड्डाचौकी डोजोमा तयारी गरिरहेकी छिन् ।

रियाको दैनिकी कष्टकर छ । उनका बुबा चञ्चलसिंहको डेढ वर्षअघि निधन भएपछि आर्थिक अवस्था नाजुक बनेको छ । उनका बुबा भारतमा सवारी चालक थिए । त्यही बापतको कमाइएले चञ्चलसिंहका चार सन्तानको जीविका चलेको थियो । “सम्पत्तिका नाममा डेढ कट्ठा जग्गा छ”, उहाँले आफ्नो परिवारको अवस्थाबारे सुनाइन् ।

विद्यालयमा भर्ना भएदेखि नै विद्यालयको शुल्क बक्यौता रहँदा रियालाई अध्ययन गर्न सकस हुँदै आएको थियो । “मेरा साथीहरु स्नातक पढ्दैछन्, म भने कागजात जुटाउनमै रहेँ,” उनले भनिन् । डायमण्ड विद्यालयमा उनीसँगै उनका भाइको पनि शुल्क तिर्न बाँकी थियो । डायमण्ड पब्लिक ऐकेडेमीमा कक्षा १२ सम्मको मात्र पठनपाठन हुन्छ । अब उनीसित माथिल्लो कक्षा पढ्न अर्को क्याम्पस भर्ना हुनुबाहेक विकल्प छैन । “मसित स्नातक तह पढ्न खर्च छैन,” रियाले पीडा सुनाइन् ।

गड्डाचौकी कराते डोजोबाट कराते खेल्दै आएकी रियाले हालसम्म राष्ट्रिय प्रतियोगितामा रजत र कास्य पदक प्राप्त गरेकी छिन् । अब उनको धोको स्वर्ण पदक जित्नेछ । “बुबा बितेपछि खेलको नजिता आफ्नो पक्षमा पार्न सकिँन”, उनले भनिन् । घरको आर्थिक अवस्था कमजोर हुँदा पढाइ मात्र होइन आफ्नो खेल पनि प्रभावित हुने गरेको रिया बताउँछिन् । कराते प्रशिक्षक मदन नाथ र दीपक चन्दको सहयोगले मात्र उनले खेललाई निरन्तरता दिन सकेकी छिन् ।

“बुबाले किनिदिएको खेल पोसाकका भरमा खेलिरहेकी छु”, रियाले भनिन्, “कक्षा ११ र १२ पढाइ साथिभाइहरुसँग पुस्तक मागेरै सिध्याए ।” स्नातक तह पढ्नका लागि पूर्वप्रशिक्षक सिंहले सहयोग गर्ने आश्वासन दिएको उनले बताइन् । “खेल अभ्यास र पढाइसँगसँगै गर्न सहज हुने क्याम्पसको खोजीमा छु, अहिले नै कहाँ पढ्ने भन्नेबारे सोच्न सकेकी छैन”, रियाले भनिन् ।

विसं २०५१ देखि २०६३ सम्म कराते प्रशिक्षकका रुपमा काम गरेका सिंहले रियालाई सक्दो सहयोग गर्ने बताए । उनले भने, “समस्यामा परेका खेलाडीलाई सहयोग गर्नु मेरो दायित्व हो, म उनलाई सक्दो सहयोग गर्छु ।” करातेको अनुशासित र सङ्घर्षशील खेलाडीको परिचय बनाएकी रियाको विद्यालयको शुल्क तिर्ने समस्या टरेपछि अब भने स्नातक तह कसरी पढ्ने भन्ने समस्या छ । शेरबहादुर सिंह र रासस