१५ भाद्र २०८३, सोमबार
,
Latest
हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता चीन रेडक्रसद्वारा नेपाललाई २ हजार शव राख्ने झोला सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता पहिचान नभएका शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ, भविष्यमा आफन्तलाई हस्तान्तरण गर्न सकिन्छः सरकार बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इमाडोल घटना अपडेट: छोराछोरीको हत्या गरी चार तलाबाट हाम्फालेर आमाले आत्महत्या गरेको आशङ्का



symbolic picture
अ+ अ-

काठमाडौँ । ललितपुरको इमाडोलमा छोरा र छोरीको मृत्यु भएको केही घन्टापछि घरको चार तलाबाट हाम्फालेकी आमा ३६ वर्षीया रविना महर्जनकोसमेत गएराति मृत्यु भयो ।

उक्त घटनाको प्रारम्भिक अनुसन्धानमा छोराछोरीलाई पहिले केही वस्तुले सास थुनेर हत्या गरी महर्जनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले घटनाको प्रकृति हेर्दा उनले नै छोराछोरीको हत्या गरी त्यसपछि घरको चार तलाबाट हाम्फालेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको जानकारी दिनुभयो । शव परीक्षणको रिपोर्टपछि मृत्युको यकीन कारण भन्न सकिने उहाँको भनाइ छ ।

उहाँले घटनाका कारणबारे सबै कोणबाट अनुसन्धान सुरु भएको जानकारी दिनुभयो । उक्त घटना शनिबार अपराह्न २ बजेतिरको हो ।

महर्जनले घरको चार तलाबाट हाम्फालेकी थिइन् । छिमेकीहरुले देखेपछि तत्काल प्रहरीलाई खबर गरी उपचारका लागि अस्पताल लगियो । घरभित्र जाँदा दुई बालबालिका अचेत भेटिएपछि उनीहरुलाई पनि अस्पताल लगिएको थियो ।

छ वर्षीय बालक र दुई वर्षीया बालिका (महर्जनका छोराछोरी) लाई शनिबार साँझ ५:२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । राति ९:३५ बजे उनको पनि मृत्यु भयो ।

अहिले शव परीक्षणका लागि शिक्षण अस्तपालमा पठाइएको छ । अनुसन्धानमा सहभागी एक प्रहरी अधिकृतले तकियाले बालबालिकाको मुख थुनेर हत्या गरी उनले आत्महत्या गरेको देखिएको बताउनुभएको छ ।

फरेन्सिक ल्याबका चिकित्सकले पनि बच्चाको सास रोकिएर नै ज्यान गएको बताएका ती अनुसन्धान अधिकृतले बताउनुभयो । उहाँले भन्नुभयो, “तर रिपोर्ट नआई हामीले कारण यो नै हो भन्न सक्दैनौँ ।”

हाम्फाल्ने क्रममा सासू पनि छतमै थिइन् 

घटना हुँदा महर्जनकी सासू छतको अर्को कुनामा थिइन् । उनी अली बिरामी भएकाले धेरै हिँडडुल गर्न सक्दिनथिन् । रविना छतको बार चढ्न लाग्दा सासूले किन त्यहाँ गएको भनेर सोधेकी र उनले कपडा झरेकाले लिन लागेको जवाफ दिएकी थिइन् । “जान हुँदैन भन्दाभन्दै बार चढेर गएकी थिइन्, हाम्फाल्न पो रहेछ”, सासूलाई उद्धृत गर्दै ती अनुसन्धान अधिकृतले बताए । उनले यसअघि कोठामा ढोका बन्द रहेको र ढकढक गर्दा समेत नखोलेको प्रतिक्रिया दिएको बताइएको छ ।

उनका श्रीमानकाे साउन्ड सिष्टमको व्यवसाय छ । शनिबार महालक्ष्मी नगरपालिकाको कामको तयारीका लागि उनी घरबाट गएका थिए । रविनाले हाम्फाल्नुअघि उनीसँग थोरै कुराकानी भएको थियो । २ बजेतिर फोन गरेर रविनाले कता हुनुहुन्छ भनेर श्रीमान्लाई सोधेकी थिइन् । श्रीमान्ले ३ बजे काम सकिन्छ र घर आउँछु भन्ने जवाफ दिएर फोन राखेको प्रहरीसँग बताएका छन् । त्यसपछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।

पारिवारिक बेमेल केही देखिएको छैन । कहिलेकाहीँ सामान्य झैझगडा भए पनि ठूलो रिसराग नदेखिएको प्रहरीले बताएको छ । धेरै नबोल्ने महिला भएकाले कुनै कुण्ठा पो थियो की भनेर त्यसतर्फ पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले यो घटनाको अनुसन्धान थालेको छ । रासस