११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी News Polar नेपाल स्काउटसम्बन्धी विधेयकमा शिक्षा मन्त्रालयद्वारा रायसुझाव माग News Polar संघ, प्रदेश र स्थानीय तहबीच समन्वय नहुँदा सेवा प्रवाह प्रभावित : मन्त्री प्रजापती News Polar भोटेकोशी बाढी प्रभावितको पुनःस्थापना र रोजगारीमा निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित

सङ्कटमा रिग्दी खोलाका असला माछा

सङ्कटमा रिग्दी खोलाका असला माछा
file photo
अ अ+ अ-

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–२ वर्लयाङका शेरबहादुर प्रजाको घर रिग्दी खोलाको छेउमै छ । यही खोलाको पानीले उहाँले पानीघट्ट चलाउँदै आउनुभएको छ । रिग्दीको चिसो पानीमा दैनिक खेल्दै आउनुभएका प्रजाले यहाँको असला माछा खान नपाएको धेरै भइसक्यो । पहिले दैनिकजसो माछा मारेर खाने गरेको अनुभव सुनाउँदै उहाँले अहिले साना भुरा माछा पनि पाइन छाडेको बताउनुभयो ।

चितवनको अग्लो पहाड सिराइँचुली क्षेत्रको मुहानबाट बग्दै त्रिशूली नदीसम्म पुग्ने खोला हो रिग्दी । यो खोला कुनै समय असला माछाका कारण निकै परिचित भएकामा अहिले यहाँका असला माछा सङ्कटमा परेका छन् । खोलामा जथाभावी विषादीको प्रयोग, विद्युतीय माध्यमबाट माछा मार्ने र डोजरको प्रयोगका कारण खोलामा रैथाने माछा हराउन थालेको स्थानीयवासीले  बताए । निकै स्वादिलो र सबैले रुचाउने माछा संरक्षण नहुँदा हराउँदै गएको पानीघट्ट सञ्चालक प्रजाले बताउनुभयो । “पहिले–पहिले गाई तर्दा पनि खुरले कुल्चेर माछा मथ्र्यो”, उहाँले भन्नुभयो, “अहिले भुरा देख्न पनि मुस्किल छ ।”

“विषादी हाल्ने र करेन्ट लगाउनेजस्ता गतिविधिलाई स्थानीय सरकारले रोक्न सक्नुपर्छ”, पानीघट्ट सञ्चालक प्रजाले जोड  दिनुुभयो, “लुकिछिपी अझै यस्ता गतिविधि हुने गरेका छन् । परम्परागत शैलीमा माछा मार्न दिइए र करेन्ट लगाउनेलाई सरकारले कारबाही गर्ने हो भने यहाँको माछा संरक्षण गर्न सकिन्छ । ”

मायाटारका टीकाबहादुर गुरूङले पहिले पहिले जाल खेल्दै जाँदा पाँच/छ पटकमा फुर्लुङ भरिने गरे पनि अहिले दिनभर खोलामा हिँड्दा पनि एकछाक खान पुग्ने माछा पाउन मुस्किल हुने गरेको बताउनुभयो । स्थानीय सरकारले रिग्दीको असलालाई संरक्षण र यसैलाई ‘ब्रान्ड’ बनाएर समग्र इच्छाकामनालाई पर्यटकीय गन्तव्य बनाउन सकिनेमा उहाँले जोड दिनुभयो ।

गाउँपालिकाले भने खोलामा जथाभावी गर्नेलाई कारबाही गर्दै आएको जनाएको छ । पछिल्लो केही वर्षदेखि खोलामा विषादी नराख्न र करेन्ट नलगाउन पटकपटक सूचना जारी गर्दै आएको भन्दै पहिलेको तुलनामा केही कमी आएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले जानकारी दिनुभयो । “हामीले सूचना पनि जारी गर्दै आएका छौँ । स्थानीयवासीलाई पनि सचेत गराएका छौँ”, उहाँले भन्नुभयो, “सूचनालाई बेवास्ता गर्नेलाई कारबाही पनि गर्दै आएका छौँ । त्यसकारण पहिलेको तुलनामा असला संरक्षणमा टेवा पुगेको छ ।”

आउँदो वर्षदेखि बजेट नै छुट्याएर रिग्दीको असला संरक्षणको योजना ल्याउने तयारी गरिरहेको अध्यक्ष गुरूङले बताउनुभयो । इच्छाकामनाको वडा नं १ मा पर्ने सिराइचुलीको वरिपरिबाट बगेका साना दुई खोला तल्लो काउलेमा आएर मिसिएको छ । वडा नं १ पछि वडा नं २ र ७ सँगै त्रिशूलीसम्म आइपुग्दो वडा नं ६ र भरतपुर महानगरपालिकाको वडा नं २९ लाई सिमाना छुट्याएर बगेको छ । रिग्दीमा मात्र होइन पछिल्लो समयमा जिल्लाका अधिकांश खोलामा विष हाल्ने र करेन्ट लगाएर माछा मार्नेको सङ्ख्या बढेको संरक्षणकर्मीको भनाइ थियो  ।

असला माछाले वनस्पतिजन्य सुक्ष्म जीव लेउ, पानीमा बस्ने गँगटा, झिँगे माछा, शङ्खे किरा, जलीय झारपात र किराफट्याङ्ग्राको आहारा गर्ने मत्स्य विज्ञले बताए । असला माछा उच्च तथा पहाडी भेगका नदीनाला र तालतलैयामा पाइन्छ । दसदेखि १५ डिग्री तापक्रममा यो माछा बाँच्छ ।

यसको शरीर कत्लाले ढाकिएको हुन्छ । असलाले चिसो र बग्ने पानी मन पराउँछ । यो माछाको १७ प्रजातिमध्ये नेपालमा नौ प्रजाति रहेको बताइन्छ । असला माछाले कात्तिक/मङ्सिर र माघ/फागुनमा प्रजनन गर्छ । मनिसलाई चाहिने प्रोटिनको भरपर्दो र सर्वोत्तम स्रोतका रुपमा असला माछालाई लिइन्छ । नेपालमा छ सयदेखि ३५ सय मिटरको उचाइसम्म असला माछा पाइन्छ ।