अबुधाबीः जिम्बाबे र अफगानिस्तानबीचको निकै रोमाञ्चक दोस्रो टेस्ट क्रिकेटमा अफगानिस्तानले छ विकेटले खेल जितेको छ ।
कुनै समय अफगानिस्तानले सहजै खेल जित्ने अनुमान गरिए पनि खेल पाँचौं दिन पुगेको थियो ।
पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४ विकेटको क्षतिमा ५४५ रनको विशाल योगफल तयार पारेको थियो ।
जवाफमा निकै दबाब महशुस गरेको अफगानिस्तानले जिम्बाबेको टिमलाई पहिलो इनिङमा २८७ रनमै सीमित गरेको थियो । त्यसपछि फलोअनमा परेको जिम्बाबेले दोस्रो इनिङमा ३६५ रन बनाएको थियो ।
निकै संघर्षपूर्ण खेल प्रदर्शन गरेको जिम्बाबेका लागि सिन विलियम्सले १५१ रनको पालि खेलेका थिए । त्यस्तै डोनाल्ड तिरिपानोले पनि ९५ रन बनाएर विलियम्सलाई राम्रो साथ दिएका थिए ।
यी दुई खेलाडीको साझेदारीकै कारण जिम्बाबेले अन्तिम दिन अफगानिस्तान सामु जितका लागि १०८ रनको चुनौती दिएको थियो ।
तर अफगानिस्तानले ४ विकेट गुमाएर २६.१ ओभरमा लक्ष्य पुरा गरेको थियो ।
यस खेलमा व्यक्तिगत केही रेकर्ड बनेको थिए । अफगानिस्तानका हस्मतुल्लाह शाहिदीले व्यक्तिगत २०० रन बनाएका थिए भने अस्घर अफगानले पनि १६४ रन बनाएका थिए ।
अझ, बलिङतर्फ विश्वकै चर्चित स्पिनर अफगानिस्तानका रसिद खानले दुबै इनिङमा गरी ९९.२ ओभर बलिङ गरेर ११ विकेट लिएका थिए ।
यो जितसँगै अफगानिस्तानले दुई म्याचको शृंखला १–१ को बराबरी गर्न सफल रह्यो । पहिलो टेस्ट जिम्बाबेले जितेको थियो ।
पहिलो टेस्टमा अफगानिस्तानसँग १० विकेटले पराजित भएको थियो ।











