काठमाडौं । गत सातादेखि निरन्तर घटेको नेप्से परिसूचक मंगलबार भने २.५६ अंक बढेर बन्द भएको छ । यो दिन शेयर बजार ०.११ प्रतिशत बढेर २ हजार ३ सय ९१ दशमलव ७४ विन्दुमा पुगेर बन्द भएको हो ।
सोमबर ०.७५ प्रतिशत अर्थात् १८.०७ अंक घटेर २ हजार ३ सय ८९.१९ विन्दुमा बन्द भएको नेप्से परिसूचक मंगलबार २ हजार ४०० .०५ विन्दुदेखि खुला भएको थियो । यो दिन सेन्सेटिभ इन्डेक्स पनि ०.१० प्रतिशत बढेर ४३०.४९ विन्दुमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार रकम भने कम भएको छ । यो दिन २१६ कम्पनीको ४६ हजार ५४० पटकको व्यापारमा रू. ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार बराबरको ९० लाख १२ हजार ८५३ कित्ता शेयर किनबेच भएको छ । लामो समय निरन्तर बजार घटेपछि मंगलबार भने अन्तिम समयमा सस्तोमा शेयर खरीद गर्ने सक्रिय हुँदा बजार केहि अंक माथि पुगेको देखिन्छ ।
यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशत बढेको छ भने व्यापारिक समूहको सर्वाधिक १.९२ प्रतिशत घटेको छ । यो दिन बैंकिङको ०.२१ प्रतिशत, वित्तको ०.११ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.४४ प्रतिशत, लघुवित्तको ०.६७ प्रतिशत, जीवन बीमाको १.४६ प्रतिशत र लगानी समुहको ०.२२ प्रतिशत परिसूचक बढेको हो ।
यस दिन चन्द्रागिरी हिल्स लिमिटेडसहित पाँच वटा कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । उक्त कम्पनीको ९.९८ प्रतिशत बढेर अन्तिम मूल्य रू. १ हजार ६९ र जोशी हाइड्रोपावरको ९.९२ प्रतिशत बढेर अन्तिम मूल्य रू. १३३ पुगेको छ ।
व्यापारिक समूहको सर्वाधिक परिसूचक घटेको बजारमा विकास बैंकको ०.०९ प्रतिशत, जलविद्युतको १.५१ प्रतिशत, निर्जीवन बीमाको ०.५३ प्रतिशत, अन्यको १.०७ प्रतिशत र म्युचुअल फण्डको ०.०६ प्रतिशत परिसूचक घटेको छ ।
त्यस्तै घलेम्दी हाइड्रोको ९.८३ प्रतिशत बढेर रू. १९०, ग्रीन लाइफ हाइड्रोको ९.७० प्रतिशत बढेर रू. ३२८ र खानीखोला हाइड्रोपावरको ९.४० प्रतिशत बढेर अन्तिम मूल्य रू. १२८ कायम भएको छ । ग्रीन लाइफ हाइड्रोको पहिलो कारोबार दिनमै शेयरमूल्य उच्च दरमा बढेको हो ।
कारोबार रकममा सर्वाधिक हिस्सा नेपाल लाईफ इन्स्योरेन्सले ओगटेको छ । नेपाल लाईफको यो दिन रू. १९ करोड ३८ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य यस दिन प्रतिकित्ता रू. ३५ ले बढेर अन्तिम मूल्य रू. १ हजार ९९७ कायम भएको छ ।
यो दिन राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरको मूल्य सर्वाधिक ८.८१ प्रतिशतले घटेको छ । कम्पनीको संस्थापक शेयरको मूल्य प्रतिकित्ता रू. १ हजार ३६३ ले घटेर अन्तिम मूल्य रू. १४ हजार १०० कायम भएको हो ।