२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीले मलाई न्याय गरेको अनुभूति भएको छ: सहिद पत्नी शर्मा



अ+ अ-

गण्डकी । विसं २०६४ को संविधानसभा चुनावमा नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीसँग झिनो मतले पराजित पर्वतकी मनरुपा शर्मा त्यसयताका हरेक चुनावमा समानुपातिकतर्फ बन्दसूचीमा परे पनि ‘सांसद’ बन्ने अवसर मिलेन । नेकपा (माओवादी केन्द्र)ले विसं २०७० को दोस्रो संविधानसभा चुनाव, विसं २०७४ र विसं २०७९ को प्रदेशसभा चुनावमा उहाँलाई समानुपातिकतर्फ बन्दसूचीमा राखेको थियो । कुश्मा नगरपालिका–१० की शर्माको जनप्रतिनिधिका रुपमा संसद् छिर्ने सपना १६ वर्ष बित्दासमेत पूरा हुन सकेन ।

गत वर्षको चुनावमा शर्मा समानुपातिकबाट गण्डकी प्रदेशसभा सदस्य बन्ने चर्चा चले पनि पार्टीले अर्को जिल्लाबाट महिला उम्मेदवारलाई छनोट गरेको थियो । पटक–पटकको प्रयासका बाबजुत संसदीय यात्रा तय गर्न नसके पनि उहाँ निराश भने हुनुभएन । पार्टीले दिएको जिम्मेवारीमा सधँै सक्रिय रहँदै आउनुभयो ।

विसं २०६० देखि पार्टी र सङ्गठनका विभिन्न जिम्मेवारी सम्हाल्दै हाल माओवादी केन्द्र पर्वतको जिल्ला संयोजक रहनुभएकी शर्मा यसपटक भने पार्टीले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ । सहिद परिवारकी उहाँ आसन्न राष्ट्रियसभा सदस्य चुनावमा गण्डकी प्रदेशबाट माओवादी केन्द्रको उम्मेदवार बन्नुभएको हो ।

“ पार्टीले मलाई वास्तवमै न्याय गरेको अनुभूति भएको छ, आज म धेरै नै खुसी छ, म उम्मेदवार छनोट भएपछि जिल्ला तहका नेता, कार्यकर्ता पनि उत्साहित हुनुहुन्छ”, उहाँले भन्नुभयो, “निर्वाचित भएर राष्ट्रियसभामा गए भने देश र जनताको हितमा काम गर्छु ।”

कुनै राजकीय पदमा निर्वाचित नहुँदा पनि सधँै जनताको बीचमा बसेर सामाजिक सेवा र राजनीतिमा खटिएको उहाँले उल्लेख गर्नुभयो । उहाँले एक त महिला अर्कातिर सहिद परिवारको सदस्यका हिसाबले राष्ट्रियसभामा उम्मेदवार बन्न पाउनु आफ्ना लागि गौरवको विषय भएको बताउनुभयो ।

“अहिलेको सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकाले चुनावको परिणाम आफ्नो पक्षमा आउनेमा विश्वस्त छु”, उहाँले भन्नुभयो, “हिजो जनयुद्धका कठिन र सङ्घर्षपूर्ण दिनमा जसरी समाज रुपान्तरणको अभियानमा लागियो, अब त्यस्तै ऊर्जाका साथ नयाँ भूमिकामा आफूलाई उभ्याउने प्रण गरेकी छु ।”

शर्माका पती विजय सुवेदी ‘विकास’को तत्कालीन जनयुद्धका क्रममा विसं २०६१ मङ्सिर १७ गते हत्या भएको थियो । सुवेदी तत्कालीन माओवादीको सांस्कृतिक फाँटमा क्रियाशील हुनुहुन्थ्यो ।

४३ वर्षीया शर्मा यसअघि अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको जिल्ला अध्यक्ष हुँदै पार्टीको जिल्ला तहको नेतृत्वमा आउनुभएको हो । उहाँ २०७४ अघि माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक कमिटिको सदस्यसमेत हुनुभएको थियो ।

गण्डकी प्रदेशबाट निर्वाचित हुने तीन राष्ट्रियसभा सदस्यमध्ये सत्ता गठबन्धनबीच भएको सहमति अनुसार माओवादी केन्द्रले महिला ‘कलस्टर’बाट शर्मालाई उम्मेदवार बनाएको सो पार्टीका गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

राजनीतिक सङ्घर्ष र सङ्गठन निर्माणमा पु¥याएको योगदानलाई हेरेर शर्मालाई उम्मेदवार बनाइएको उहाँले बताउनुभयो । सत्ता गठबन्धनमा आबद्ध दलको मतभारलाई हेर्दा शर्माको जित सुनिश्चितजस्तै रहेको इञ्चार्ज पौडेलले उल्लेख गर्नुभयो ।

राष्ट्रियसभामा गण्डकीबाट प्रतिनिधित्व गर्ने तीन सदस्यको कार्यकाल आउँदो फागुन २० गते सकिने भएपछि सो पदमा चुनाव हुन लागेको हो । तीसमध्ये महिलातर्फ सत्ता गठबन्धनबाट माओवादी केन्द्रले शर्मालाई उम्मेदवार बनाएको हो । रासस