६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीको मालिका हत्या घटना : मृतकको सङ्ख्या दुई पुग्यो



अ+ अ-

म्याग्दी: म्याग्दीको मालिका गाउँपालिका–७ बिममा आज दिउँसो भएको घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । धारिलो ढुङ्गा (छपनी) प्रहार हुँदा गम्भीर घाइते भएकी मालिका–७ बिमकी सात वर्षीया प्रियङ्का गर्बुजाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा अपराह्न मृत्यु भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताउनुभयो ।

“प्रियङ्काकी हजुरआमा ७० वर्षीया मनिषा गर्बुजाको मालिका–७ को लुरवाङस्थित घटनास्थलमै ज्यान गएको थियो”, उहाँले भन्नुभयो, “हेलिकोप्टरबाट पोखरा लगिएकी प्रियङ्कालाई पनि चिकित्सकले मृत घोषणा गरेका छन् ।” चिर्पट प्रहार हुँदा घाइते भएकी ६६ वर्षीया अमृता जुग्जालीको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकले जुग्जाली खतरामुक्त भएको बताएका प्रनाउ कुँवरले जानकारी दिनुभयो ।

हजुरआमालाई दरवाङ–मराङ सडकमा रगताम्मे देखेपछि बचाउन गएकी प्रियङ्काको टाउकोमा छपनी प्रहार भएको थियो । प्रियङ्काका भाइ प्रिन्स भने घरको खाटमुनि लुकेर ज्यान बचाएका थिए । मनिषाका छोरा र बुहारी खेतमा काम गर्न गएका समयमा घटना भएको थियो ।

लुरवाङको माथि जङ्गलमा घाँस काट्दै गरेका अमृता र अर्का एक जना महिलामाथि पनि चिर्पट प्रहार भएको थियो । प्रतिकार गर्ने क्रममा अमृता घाइते हुनुभएको हो । बिम तल्लो गाउँ नजिकै एक ट्याक्सी पनि तोडफोड भएको स्थानीयले बताएका छन् ।

हत्या र आक्रमणमा संलग्न भएको आरोपमा मालिका–७ बिमवाङबाट स्थानीयले एक जना मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । “एक जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ”, प्रनाउ कुँवरले भन्नुभयो, “विस्तृत अध्ययन र अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको छ । आइतबार तथ्यसहित सबै विवरण र ती व्यक्तिलाई सार्वजनिक गर्छौँ ।” मृतकको शव परीक्षणका लागि बेनी अस्पतालमा ल्याइएको छ ।

फोटो- हरिकृष्ण गौतमको फेसबुकबाट