६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०२३ मा ऊर्जाः परम्परागत विकल्प छाडेर जलविद्युत् र ग्रिन हाइड्रोजनमा केन्द्रीत



अ+ अ-

काठमाडौँ । एक अध्ययन भन्छ– पाँच वर्ष पहिले जीवाश्म इन्धनका लागि जो कोहीले पनि एक अमेरिकी डलर बराबर लगानी गर्दथे । स्वच्छ ऊर्जाका लागि पनि मानिसहरूको समान लगानी हुन्थ्यो । तर अहिले आएर त्यसमा ठूलो बदलाव आएको छ । सन् २०२३ मा आइपुग्दा भने एक अमेरिकी डलर जीवाश्म इन्धनमा लगानी भए एक दशमलव आठ अमेरिकी डलर स्वच्छ ऊर्जाका लागि उपलब्ध हुने गरेको छ ।

विश्वव्यापी रूपमा नै अधिकांश देशले ऊर्जा सङ्कटको चरम मार भोगिरहेका छन् । साधन र स्रोत भएका देशले पनि लगानीको अभावमा प्राकृतिक स्रोतको उपयोग गर्न सकेका छैनन् । सोही कारण ऊर्जा सुरक्षाको विषय सबैभन्दा सङ्गीन प्रश्न बनेर खडा भएको छ ।

रुस र युक्रेन युद्धपछि विश्व बजारमा एकाएक बढेको इन्धनको मूल्यका कारण अर्थतन्त्र चरम चापमा पर्न गयो । बढ्दो वन विनाश, जीवाश्म इन्धनको अत्यधिक प्रयोगका कारण विश्वव्यापी जलवायु सङ्कट गहिरिँदै गएको छ । यो अवस्थालाई ख्याल गरेर संसारभर नै स्वच्छ ऊर्जाको प्रयोग, विकास र विस्तारमा विशेष ध्यान दिन थालिएको छ ।

यद्यपि हालसम्मको परिणामअनुसार ठूला नदी भएका देशले जलविद्युत् उत्पादनलाई विशेष प्राथमिकतामा राखेका छन् । यस्तै ग्रिन हाइड्रोेजन उत्पादन पनि उत्तिकै महत्त्वको विषय बनेर खडा भएको छ ।

सन् २०२३ मा मात्रै ग्रिन हाइड्रोजन उत्पादनका हिसाबले पनि अमेरिका नै शीर्ष स्थानमा रहेको छ । अमेरिकाले ४७ दशमलव तीन टन बराबरको क्षमता विकास गरेको छ । जर्मनीले २७ टन र क्यानाडाले १४ दशमलव सात टन बराबरको क्षमता बनाएका छन् ।

सन् २०३० सम्म अस्ट्रेलियाले दुई हजार ५१ टन, अमेरिकाले दुई हजार १४ टन, स्पेनले एक हजार नौ सय ८१ टन र क्यानाडाले एक हजार पाँच सय ५५ टन बराबरको ग्रिन हाइड्रोेजन विकास गर्ने लक्ष्य सार्वजनिक गरेका छन् ।

छिमेकी देश चीनले यस क्षेत्रमा उल्लेख्य प्रगति गरिसकेको छ । हालै सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप २८)ले पनि शून्य उत्सर्जनलाई विशेष महत्त्व दिएपछि दिगो ऊर्जा प्रणालीको खोजी झनै व्यापक बनेर जाने अनुमान गरिएको छ । केही वर्ष पहिलेसम्म एकाध देशको मात्र चासोको क्षेत्र बनेको हाइड्रोेजनमा हाल दुई दर्जन बढी देशले ‘ल्याण्डमार्क’ नै बनाएका छन् ।

यस क्षेत्रमा काम गर्नेहरूले दिगो र दीर्घकालीन रणनीति पनि सार्वजनिक गरेका छन् । धेरै कम्पनीले हाइड्रोेजन व्यापारका लागि अवसरको खोजी गरिरहेका छन् । सन् २०५० सम्म कूल ऊर्जा खपतको १० प्रतिशतभन्दा बढी माग पूरा गर्नका लागि काम भइरहेको छ । सन् २०२० मा हाइड्रोेजनको माग विश्वव्यापी रूपमा ९० टन बराबर मात्रै थियो । हाल यो बढेर एक सय ५० टन बराबर पुगेको छ । दिन दुई गुणा रात चार गुणाका दरले मागमा बढोत्तरी भएको छ ।

विश्व बजारमा युरोपले इलेक्ट्रोलाइजरको क्षमता विकासमा एक प्रकारको नेतृत्व नै गरेको छ । विश्वव्यापी रूपमा स्थापित क्षमताको ४० प्रतिशत त युरोपसँगै छ ।

विश्वव्यापी रूपमा कूल ऊर्जा आपूर्तिमध्ये १७ प्रतिशत बराबरको हिस्सा जलविद्युत् क्षेत्रले ओगटेको छ । कोइला र प्राकृतिक ग्यासपछि तेस्रो स्थानमा रहेको जलविद्युत् क्षेत्रको विकासमा आगामी दिनहरू अझै भरपर्दो र विश्वासिलो बन्दै जाने देखिएको छ । पछिल्लो २० वर्षमा विश्वव्यापी रूपमा जलविद्युत् क्षेत्रको क्षमतामा ७० प्रतिशतले वृद्धि भएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले सन् २०३० सम्म जलाशय, नदी प्रवाही र पम्प स्टोरेज प्रकृतिका जलविद्युत् आयोजनाको विकासमा थप बढोत्तरी हुने प्रक्षेपण गरेको छ । न्यून लागतमा जलविद्युत् आयोजनाको विकासमा ध्यान दिन सके विश्वव्यापी रूपमा बढ्दै गएको ऊर्जा सङ्कटको समाधान हुनसक्ने आम बुझाइ छ ।

बिजुलीको सहज आपूर्ति, अन्तरदेशीय विद्युत् प्रसारण प्रणालीको विकास, जलाशयहरूको बहुप्रयोग पनि उत्तिकै महत्त्वपूर्ण विषय बनेको छ । यस्तै, थप ऊर्जा उत्पादनका लागि पम्प स्टोरेज जलविद्युत् आयोजनाको विकास पनि उत्तिकै चासोको विषय बनेर गएको छ । जलविद्युत् उत्पादन क्षमताका हिसाबले शीर्ष स्थानमा रहेको चीनले सन् २०२३ मा पनि आफूलाई थप सक्षम देखाएको छ ।

चीन र भारतमा ऊर्जाको मागमा सन् २०२३ मा गिरावटको बीचमा पनि नवीकरणीय ऊर्जाको विकासमा महत्त्वपूर्ण प्रगति भएको छ । जलविद्युत् उत्पादनका साथसाथै अस्थिर बिजुलीको माग र अनियमित मौसमसँग लडिरहेका पावर नियामकलाई जीवाश्म इन्धनमा बढी निर्भर हुन बाध्य पारिदिएको छ ।

प्रमुख एसियाली अर्थतन्त्रले हालैका वर्षहरूमा अत्यधिक गर्मीको सामना गर्नुपरेको थियो । चीन र भियतनामका साथै भारतको पूर्व र उत्तरको ठूलो भूभागमा कम वर्षालगायत चरम मौसमी अवस्थाका कारण विद्युत् अभावको सामना गरेका छन् ।
कोइला जस्ता प्रदूषक इन्धनको उच्च प्रयोगले बिजुलीको माग बढाउने र आपूर्तिको कमीलाई घटाउन उत्सर्जन घटाउने चुनौतीलाई जोड दिएकोछ । एसियाको जलविद्युत् उत्पादनमा झण्डै १८ प्रतिशतले गिरावट आएको थियो । परिमाणतः जीवाश्म इन्धनको मागमा चार दशमलव ५५ प्रतिशतले वृद्धि हुन पुग्यो ।

एसियामा सौर्य र वायु ऊर्जा उत्पादनमा उल्लेख्य वृद्धि भएता पनि, जलविद्युत् उत्पादनमा ठूलो गिरावटको परिणामस्वरूप यस वर्ष जीवाश्म इन्धन थर्मल पावर प्लान्टमा आपूर्ति पनि बढेको छ । चीनको जलविद्युत् उत्पादन कम्तीमा १९८९ यताकै सबैभन्दा कम अर्थात् १५ दशमलव नौ प्रतिशतले घटेको त्यहाँको राष्ट्रिय तथ्याङ्क विभागको विवरणले देखाएको छ ।

भारतमा, जलविद्युत् उत्पादन छ दशमलव दुई प्रतिशतले घटेको छ र सन् २०१६ यताकै सबैभन्दा कम भएको छ । चीनले जलविद्युत्को कमी र उच्च उर्जाको मागलाई जीवाश्म इन्धनबाट विद्युत् उत्पादन वृद्धि गरेर पूरा गरेको थियो । जबकि भारतले जीवाश्म इन्धनबाट चल्ने प्लान्टहरूबाट विद्युत् उत्पादन क्षमता १२ दशमलव ४५ बढाएको तथ्याङ्कले देखाएको छ ।

सन् २०२३ मा भारत, भियतनाम, फिलिपिन्स र मलेसियालगायत अन्य प्रमुख एसियाली अर्थतन्त्र भएका देशमा पनि जलविद्युत् उत्पादन घटेको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको तथ्याङ्कले देखाएको छ । खासगरी सुक्खा मौसममा भएको वृद्धिका कारण पनि यस्तो अवस्थाको सिर्जना हुन पुगेको दावी गरिएको छ ।

भियतनाममा पनि जलविद्युत् उत्पादनको अंश घटेको थियो । कतिपय अवस्थामा, जलविद्युत् उत्पादन घट्नु पानीको संरक्षण र आपूर्तिको ढाँचामा आएको परिवर्तन पनि खास कारणका रूपमा देखिएको थियो ।

हावा र सौर्य जस्ता अन्य स्रोतको उत्पादनका विपरीत, अचानक मागमा आउने उतार चढावलाई सम्बोधन गर्न जलविद्युत् आयोजनालाई छोटो समयमा तल माथि गर्न सकिन्छ । ऊर्जा उत्पादकहरूले यसलाई अधिकतम उत्पादनको सट्टा ग्रिड सन्तुलन गर्न प्रयोग गरेका थिए ।

वर्ष २०२३ विश्वव्यापी ऊर्जा परिदृश्यमा एक गतिशील र परिवर्तनकारी अवधिको साक्षीका रूपमा विदा भएको छ । ऊर्जा उत्पादन र खपतका आधारमा भविष्यलाई आकार दिन पनि थप स्रोतहरूको खोजी गर्नुपर्ने आवश्यकता बढेर गएको छ ।

यो वर्ष विस्तारित वायु ऊर्जाका परियोजनाहरू, विशेषगरी युरोप र एसियामा थप हुन पुगे । वायु ऊर्जाको विशाल सम्भावनाको प्रयोग गरी स्वच्छ ऊर्जा सङ्क्रमणको आधारशिलाका रूपमा आफ्नो भूमिकालाई जोड दिनुपर्ने टड्कारो आवश्यकता बनेको छ । ठूला बाँधको उद्घघाटन र स्तरोन्नति, वातावरणीय न्यूनीकरण उपायमा भएको प्रगतिले पारिस्थितिक सरोकारलाई सम्बोधन गर्दै पानीको शक्तिको दोहन गर्ने नयाँ प्रतिबद्धताको खाँचो महसुस गरिएको छ ।

विश्वभर नै आफ्ना ऊर्जा नीतिहरू र जलवायु प्रतिबद्धता लागू गर्न पनि स्वच्छ ऊर्जाको विकासमा ध्यान दिनैपर्ने आवश्यकता बढेर गएको छ । प्रमुख तेल निर्यातक देशका रूपमा परिचित साउदी अरबसमेत स्वछ ऊर्जाको अभियन्ता बनेर खडा भएको छ । यो आफैँमा परस्पर विरोधी हुन पुगेको छ । धेरै राष्ट्रले नेट शून्य उत्सर्जन हासिल गर्न महत्त्वाकांक्षी लक्ष्य घोषणा गरेका छन् । निश्चित समयसीमा तय गर्दै ऊर्जाका थप विकल्पको खोजी भएको छ । नीतिगत रूपमा भएको यो परिवर्तनले स्वच्छ ऊर्जा स्रोततर्फ सङ्क्रमण गरेर जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने अत्यावश्यकताको सामूहिक मान्यतालाई जोड दिएको छ ।

सन् २०२३ मा ऊर्जा क्षेत्रले निर्णायक नीतिगत हस्तक्षेप सामना गर्नुपरेको छ । त्यसमा नवीन स्वच्छ ऊर्जा प्रविधिहरूका लागि अनुसन्धान र विकासमा बढ्दै गएको लगानी, नवीकरणीय ऊर्जा प्रयोगलाई प्रोत्साहन र जीवाश्म इन्धनमा दिइँदै गरेको अनुदानलाई चरणबद्ध रूपमा हटाउन लागिएको छ । यस्तै, कार्बन मूल्य निर्धारण संयन्त्रले विभिन्न क्षेत्रहरूमा आकर्षण गरेको छ ।

सन २०२४ लाग्दै गर्दा ऊर्जा क्षेत्र महत्त्वपूर्ण मोडमा उभिएको छ । वर्षभरि देखिएका घटना र प्रवृतिले परिवर्तनकारी दशकका लागि थप आधार तय गरेको छ । प्राविधिको विकास, नीतिगत सुधार र जलवायु परिवर्तनको असरलाई न्यून गर्न पनि सामाजिक चेतनाको थप विस्तारका साथै थप दिगो, लचिलो र समावेशी ऊर्जाको खोजी गर्न सामूहिक प्रयत्नको खाँचो महसुस गरिएको छ ।

जलविद्युत् त्यसमा पनि खासगरी नवीकरणीय ऊर्जाको क्षेत्रमा एक अब्बल, दिगो ऊर्जा उत्पादनमा निर्णायक युगका रूपमा २०२३ ले छाप छाडेको छ । यसले जलविद्युत् क्षेत्रमा थप लचिलोपनको उदाहरण मात्र पेश गरेको छैन स्वच्छ ऊर्जाको परिदृश्यलाई पुनः आकार दिने काम गरेको छ ।

सन् २०२३ जलविद्युत् विस्तारका लागि परिभाषित वर्षका रूपमा देखा परेको छ । जलविद्युत् विकासमा विश्वव्यापी रूपमा अग्रपङ्क्तिमा रहेको चीनमा यो वृद्धिको उत्कृष्ट कोसेढङ्ंगाहरू मध्ये एक हो । चीनको जिन्सु नदीमा रहेको बैहेतान बाँधको उद्घाटनले देशको स्वच्छ ऊर्जाप्रतिको अटल प्रतिबद्धताको प्रतीकका रूपमा उभ्याइदिएको छ ।

सो परियोजना विश्वव्यापी रूपमा सबैभन्दा ठूलो जलविद्युत् स्टेशनका रूपमा स्थापित छ । यसको सञ्चालनसँगै पर्याप्त नवीकरणीय ऊर्जा क्षमता मात्र थपेको छैन, विशाल जलविद्युत् आयोजना कार्यान्वयन गर्ने चीनको विशेषज्ञतालाई पनि उत्तिकै महत्त्व दिएको छ ।

दक्षिण अमेरिका उपलब्धताका हिसाबले आफैँमा प्रचुर सम्भावना भएको क्षेत्र हो । जलविद्युत् आयोजनाको विकास र विस्तारमा पनि उल्लेखनीय प्रगति भएको छ । ब्राजिलले नयाँ परियोजना सुरु गरेर दिगो ऊर्जाका लागि आफ्नो प्रतिबद्धतालाई थप बलियो बनाएको छ । मडेइरा नदीमा अवस्थित जिराउ बाँधले वातावरणीय प्रभावलाई न्यूनीकरण गर्दै दक्षता अभिवृद्धि गर्न नवीन प्रविधि प्रयोग गर्दै आफ्नो क्षमता विस्तार गरेको छ । त्यस्तो प्रगतिले विश्वव्यापी जलविद्युत् उत्पादन क्षमतामा महत्त्वपूर्ण योगदान गरेको छ ।

स्वच्छ ऊर्जाका लागि जलस्रोत प्रयोग गर्ने प्रवृत्तिलाई निरन्तरता दिँदै अफ्रिकाले २०२३ मा महत्त्वपूर्ण प्रगति गरेको छ । इथियोपियाको ग्रान्ड इथियोपियन रेनेसान्स बाँध अन्तिम चरणमा पुगेको छ । त्यसले अफ्रिकाको सबैभन्दा ठूलो जलविद्युत् परियोजनाको नाम स्थापित गरेको छ । नाइल नदीमा अवस्थित त्यस मेगाप्रोजेक्टले इथियोपियाको ऊर्जा सुरक्षाका लागि मात्र नभई क्षेत्रीय ऊर्जा स्थिरताका लागि अपार सम्भावना उजागर गरिदिएको छ । त्यसले दिगो ऊर्जा पूर्वाधारमा उक्त महादेशको बढ्दो महत्त्वाकांक्षालाई बढावा दिएको छ ।

जलविद्युत् उपयोगको समृद्ध इतिहासका साथ युरोपले आफनो दक्षता र दिगोपनका लागि विद्यमान सुविधाको नवीनता र स्तरवृद्धिको काम जारी राखेको छ । सो महाद्वीपमा रहेका पुराना बाँध र पावर स्टेशनलाई आधुनिकीकरण गर्ने उद्देश्यका साथ केही नयाँ परियोजना अगाडि बढाउन र ऊर्जा उत्पादन अनुकूलन गर्न अत्याधुनिक प्रविधि एकीकृत गरिएको छ ।

परम्परागत जलविद्युत्को दायराभन्दा बाहिर, धेरै आयोजनामा नवीनतम परियोजना सतहमा आएका छन् । त्यसबाट जैविक विविधता संरक्षणमा देखिएको नवीनतम प्रयासलाई पनि सार्थक बनाइदिएको छ । आयोजनामा स्मार्ट निगरानी प्रणाली र भविष्यवाणी विश्लेषण, अनुकूलित परिचालन दक्षता, सुरक्षित र दिगो जलविद्युत् उत्पादन सुनिश्चितता पनि हुँदै गएको छ ।

यद्यपि, वातावरणीय सरोकार, सामाजिक प्रभाव र समावेशी निर्णय प्रक्रियाको आवश्यकता देखिएका चुनौतीलाई सम्बोधन गर्नु जरुरी छ । ऊर्जाको आवश्यकता र वातावरणीय दिगोपनाबीच सन्तुलन कायम राख्दै जलविद्युत् क्षेत्रको विकासमा केन्द्रीत गरिनु पनि उत्तिकै महत्त्वपूर्ण छ ।

सन् २०२३ मा जलविद्युत् क्षमतामा भएको वृद्धिले थप आशा र प्रगतिको ज्योतिका रूपमा काम गरेको छ । हामीलाई सफा, हरियाली र थप दिगो संसारतर्फ डोर्याउनका लागि पानीको शक्ति प्रयोग गर्ने निर्विवाद सम्भावनालाई जोड दिएको छ । यो वृद्धिले ऊर्जा उत्पादनमा कोसेढुङ्गा मात्र नभई विश्वव्यापी ऊर्जा पोर्टफोलियोको आधारशिलाका रूपमा नवीकरणीय ऊर्जालाई अँगाल्ने सामूहिक सङ्कल्पका रूपमा पनि सङ्केत गरेको छ ।

सन् २०२२ देखिको सुक्खा मौसमले २०२३ मा युरोपेली जलविद्युत् उत्पादनलाई औसतभन्दा कम राखेको छ । जबकि अमेरिकी क्षेत्रमा उत्पादन गत वर्षको समान स्तरमा रहेको छ । जलविद्युत् उत्पादनमा यसअघि भएको प्रक्षेपणमा भएको परिमार्जनले चीनलगायत धेरै देशमा सन २०२३ का अघिल्ला महिना निराशाजनक देखिएका थिए । त्यसअघि ब्राजिल, संयुक्त राज्य अमेरिका, क्यानाडा, टर्की र भियतनामका सबै प्रमुख जलविद्युत् उत्पादनमा वृद्धि हुने भविष्यवाणी गरिएको थियो ।

जलविद्युत् स्वच्छ ऊर्जाको सबैभन्दा ठूलो विश्वव्यापी स्रोत हो, त्यसैले खडेरी र उच्च तापमानका कारण केही देशमा ऊर्जा सुरक्षाका जोखिम बढाइदियो । जीवाश्म इन्धनमा आधारित ऊर्जा उत्पादनको खाडललाई भर्न पनि उत्तिकै आवश्यक छ । चरम मौसमी घटनाको बढ्दो आवृत्ति र तीव्रताले जलविद्युत् उत्पादन प्रक्षेपणमा ठूलो नकारात्मक जोखिम देखिएको छ ।

सामान्यरूपमा चीनको आधाभन्दा बढी जलविद्युत् उत्पादन गर्ने दक्षिणपश्चिमी भाग सबैभन्दा बढी प्रभावित भएको थियो । विश्वव्यापी जलविद्युत् उत्पादनमा चीनले करिब एक तिहाइ हिस्सा ओगटेको छ । त्यसैले यो गिरावट विश्वका अन्य भागमा हुने कुनै पनि लाभलाई कमजोर बनाउन पर्याप्त हुनेछ ।

एसियामा सुक्खा अवस्थाको सबैभन्दा खराब अवस्था भियतनाममा महसुस भएको छ । जलविद्युत् उत्पादनका सघन क्षेत्रमा जारी खडेरीले भियतनामको जलविद्युत् उत्पादनलाई २०२३ मा उल्लेख्य मात्रामा घटाइदियो । अमेरिका र क्यानाडाका धेरैजसो क्षेत्रमा तातो र सुक्खा मौसमका कारण जलविद्युत् उत्पादनको क्षमतालाई घटाइदिएको छ ।

क्यानाडामा ऊर्जाको प्रमुख स्रोत मध्ये जलविद्युत्को हिस्सा ६० प्रतिशतको हाराहारीमा छ । जीवाश्म इन्धनको आपूर्ति शृङ्खलामा देखिएको अवरोधका कारण विश्व बजारमा परेको नकारात्मक असर न्यूनीकरण गर्न युरोपले पनि वैकल्पिक उपायको खोजी गरिरहेको छ । यद्यपि त्यो प्रभावकारी हुन सकेको छैन ।

रसियाले युरोपलाई दिँदै आएको इन्धनको कोटा कटौती गरेपछि युरोपेली बजारमा एक प्रकारको सङ्कट नै देखा पर्यो । त्यसो त गरिबी र अभावमा रहेको दक्षिण एसियाले पनि स्वच्छ ऊर्जाका तमाम स्रोतको खोजी कार्यलाई निरन्तरता दिएको छ । स्रोत र साधनको उपलब्धताका हिसाबले क्षेत्रीय बजारलाई नेतृत्व गर्न सक्ने क्षमता भएका देशमा लगानीको विस्तार हुन सकेको छैन । सोही कारण ऊर्जाका स्रोतको खोजीका लागि राष्ट्रिय ढुकुटी नै रित्याउनुपर्ने अवस्थाको सिर्जना भएको छ । (विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा) रमेश लम्साल/रासस