३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनतालाई भ्रमित पार्न गणतन्त्र विरोधीले षडयन्त्र गरिरहेका छन्: प्रधानमन्त्री



अ+ अ-

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरु अहिले जनतालाई भ्रमित पार्न षड्यन्त्र गरिरहेको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) विशेष रुपान्तरण अभियानअन्तर्गत गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ मा पार्टीको वडा समितिको बैठकलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले जनतालाई निराश बनाउन गणतन्त्रविरुद्ध भ्रम फैलाउने षड्यन्त्र गणतन्त्र विरोधीबाट भइरहेको बताउनुभयो । “जनतालाई निराश हुनबाट तपाई हामी सबैले बचाउनुपर्छ”, उहाँले भन्नुभयो, ‘‘एकथरी व्यक्ति सरकारबाट भएका राम्रा काम पनि देख्न नसक्ने, जनतालाई नदेखाउने र सकारात्मक कुनै पनि कुरा नगर्ने, खाली नकारात्मक मात्र कुरा गर्ने तथा जनतालाई निराश पार्ने षड्यन्त्र गरिरहेका छन् ।”

प्रधानमन्त्री दाहालले गणतन्त्र विराधी गतिविधि रोक्न जनतालाई सम्झाउनु बुझाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विशेष रुपान्तरण अभियान चलाउनुको मुख्य उद्देश्य पार्टीलाई गतिशील र चलायमान बनाउन मात्र नभइ जनतासँगको सम्बन्ध सुदृढ गर्नुका साथै ठूलो बलिदानीपछि भएको परिवर्तनको रक्षा गर्नु पनि रहेको बताउनुभयो । माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका उहाँले अभियानको उद्देश्य अनुसार देशैभर सफल भएकोसमेत दाबी गर्नुभयो ।

प्रधानमन्त्री दाहालले जनताले परिवर्तनको अनुभूति गर्नेगरी आगामी आर्थिक वर्षमा नयाँ ढङ्गले सरकारले बजेट ल्याउने गरी अहिलेदेखि नै तयारी थालिसकेको जानकारी दिनुभयो । “परम्परागत रुपमा फागुनदेखि बजेटका विषयमा छलफल गर्ने र जेठमा टुङ्ग्याउने परिपाटीको अव अन्त्य हुन्छ”, उहाँले भन्नुभयो, ‘‘यस वर्ष सरकारले फागुनसम्ममा जनताले परिवर्तनको महसुस गर्ने गरी नयाँ ढङ्गले बजेटको टुङ्गो लगाइसक्छ ।”

फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले वर्तमान सरकार र गठबन्धन अहिले झनै बलियो भएको बताउनुभयो । ‘‘अहिलेको गठबन्धन पाँचै वर्षसम्म जान्छ, तपाईहरु ढुक्क हुनुस्”, उहाँले भन्नुभयो, “कसैले कमजोर पार्ने प्रयास गरेपनि त्यो सफल हुदैँन, पाँचै वर्षसम्म सरकारमा हाम्रो बलियो उपस्थिति हुन्छ ।”

वर्तमान सरकारले मिटरब्याजीको शोषणलाई अन्त्य गरेर पीडितलाई अत्याचारबाट मुक्त गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले माओवादी नेतृत्वको सरकारले मात्र भ्रष्टाचारी, भूमाफिया र तस्करलाई ठेगान लगाउन सक्ने बताउनुभयो । उहाँले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण टुङ्गो लागेको र उक्त आयोजना निर्माण हुँदैन कि भन्ने चिन्ता नगर्न समेत पार्टी कार्यकर्ता तथा सर्वसाधारणलाई अपिल गर्नुभयो । रासस