पुनेः भारतले तेस्रो एक दिवसीय क्रिकेट खेलमा इङ्ल्यान्डलाई ७ रनले पराजित गरेको छ । आइतबारको दिवारात्रि खेलमा भारतले प्रस्तुत गरेको ३३० रनको विशाल लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३२२ रन मात्र बनाउन सक्यो ।
अन्तिम ओभरसम्म खेल कस्ले जित्ला भन्ने अनुमान गर्न कठिन भएको यस खेलमा रोमाञ्चकता इङ्ल्यान्डका युवा खेलाडी साम कुरानले ल्याएका थिए । उनी व्यक्तिगत ९५ रन बनाएर अविजित रहे ।
धेरै वटा क्याच छाडेर निराश देखिएको भारतलाई साम कुरानले हतोत्साही बनाएका थिए । अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएको अवस्थामा भारतीय युवा बलर नटराजनले उत्कृष्ट बलिङ गरेर इङ्ल्यान्डलाई ७ रन मात्र दिएपछि भारत विजयी भयो ।
यो जितसँगै भारतले तीन खेलको एक दिवसीय शृंखला २–१ ले जितेको छ । पहिलो खेल भारतले जितेको थियो भने दोस्रो खेल इङ्ल्यान्डले जितेको थियो ।
भारतमा यी दुई टिमबीच भएका तीनै फर्म्याट अर्थात एक दिवसीय, टेस्ट र टी२० मा भारतले शृंखला जितेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले ४८.२ ओभरमा सबै विकेट गुमाएर ३२९ रन बनाएको थियो । भारतका लागि रिषभ पन्तले सर्वाधिक ७८, शिखर धवनले ६७, हार्दिक पान्ड्याले ६४ रन बनाएका थिए । कप्तान विराट कोहली भने ७ रनमै आउट भएका थिए ।
जवाफमा ब्याटिङ गरेको इङल्यान्डका लागि साम कुरानको ९५ रनको अलावा डेविड मलानले ५०, लियाम लिभिङ्स्टनले ३६, बेन स्टोक्सले ३५ रनको योगदान गरेका थिए । नियमित अन्तरालमा इङ्ल्यान्डका ब्याट्सम्यानहरु आउट भएपछि खेल भारतले सहजै जित्ने अनुमान गरिएको थियो । AFP
#England_India_Cricket











