१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेमिफाइनलमा भारतलाई न्यूजिल्याण्ड नै ‘तघारो’, तिनैपटक खेल गुमाएको भारतले यसपटक के गर्ला ?



अ+ अ-

एजेन्सी । श्रीलंकालाई हराउँदै न्यूजिल्याण्डले एकदिवसीय विश्वकपको सेमिफाइनलमा आफ्नो स्थान लगभग पक्का गरेको छ । टोलीले बिहीबार श्रीलंकालाई २३.२ ओभरमा ५ विकेटले पराजित गर्दै आफ्नो रन रेट पाकिस्तान र अफगानिस्तानको भन्दा धेरै उच्च बनाएको थियो ।

न्यूजिल्याण्डको जितसँगै भारतले पहिलो सेमिफाइनलमा उसँग भिड्ने कुरा पनि लगभग पक्का छ । खेल १५ नोभेम्बरमा मुम्बईको वानखेडे स्टेडियममा दिउँसो सवा २ बजेदेखि हुनेछ ।

न्यूजिल्याण्डको सेमिफाइनल स्थान कसरी पक्का ?
न्यूजिल्याण्डले श्रीलंकालाई हराएर आफ्नो रन रेट  ०.७४३ मा पुर्याएको छ । नकआउटको दौडमा रहेको पाकिस्तानको रन रेट ०.०३६ र अफगानिस्तानको रन रेट ०.३३८ छ । यस्तो अवस्थामा पाकिस्तानले २८७ रनले जित्यो वा अफगानिस्तान ४३८ रनले विजयी भयो भने मात्र सेमिफाइनल पुग्न सक्नेछ ।

पाकिस्तानको खेल इंग्ल्याण्डसँग हुनेछ भने अफगानिस्तानको खेल दक्षिण अफ्रिकासँग हुनेछ । दुवै टोली इतिहासमा यति ठूलो अन्तरले कहिल्यै हारेका छैनन्, त्यसैले सेमिफाइनलमा न्यूजिल्याण्डको सेमिफाइनल यात्रा ९९ प्रतिशत पुष्टि भएको छ ।

भारत र न्यूजिल्याण्ड लगातार दोस्रो पटक एकदिवसीय विश्वकपको सेमिफाइनलमा भिड्दैछन् । यसअघि २०१९ मा पनि यी दुई टोलीबीच प्रतियोगिताको पहिलो सेमिफाइनल भएको थियो । त्यतिबेला भारत अंक तालिकाको शीर्षस्थानमा थियो र न्युजिल्यान्ड नम्बर ४ मा थियो, यसपटक पनि अवस्था उस्तै हुनेछ । सन् २०१९ मा म्यानचेस्टरको मैदानमा भएको सेमिफाइनल खेलमा न्युजिल्याण्ड १८ रनले विजयी भएको थियो ।

न्युजिल्यान्ड चौंथो स्तथानमा रहने पनि पक्का छ किनभने दोस्रो र तेस्रो स्थानमा रहेको दक्षिण अफ्रिका र अष्ट्रेलियाको १२–१२ अंक छ । न्युजिल्याण्डको १० अंक छ र उसका सबै खेल सकिएकाले अब उ १२ अंक जोडेर शीर्ष ३ मा आउन सक्दैन । अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको दोस्रो सेमिफाइनल नोभेम्बर १६ मा कोलकातामा हुनेछ ।

आईसीसी प्रतियोगिताको नकआउटमा चौथो पटक भारत र न्युजिल्याण्ड भिड्दैछन् । यसअघि दुवै टोली विभिन्न प्रतियोगिताको नकआउटमा तीन पटक आमनेसामने भएका थिए भने प्रत्येक पटक न्युजिल्यान्डले जित हासिल गरेको थियो । २०१९ को विश्वकप बाहेक सन् २००० को च्याम्पियन्स ट्रफी र २०२१ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि यी दुई आमनेसामने भएका थिए ।

भारत र न्यूजिल्याण्डको सेमिफाइनल मुम्बईमा नै किन हुँदैछ ?
इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)ले प्रतियोगिता सुरु हुनुअघि नै आयोजक भारत सेमिफाइनलमा पुगेमा उसको खेल मुम्बईमा हुने स्पष्ट पारेको थियो । भारत सबैभन्दा पहिले नकआउटमा पुगेको छ । त्यसैले न्युजिल्यान्ड र भारतबीचको खेल वानखेडे स्टेडियममा मात्र हुनेछ ।

वर्षा वा अन्य कुनै कारणले नोभेम्बर १५ मा सेमिफाइनल हुन नसकेमा खेल नोभेम्बर १६ मा रिजर्भ डेमा हुनेछ । यस दिन पनि नतिजा आउन सकेन भने अंक तालिकाको शीर्ष स्थानमा रहेको भारतलाई विजेता मानिनेछ ।

क्रिकेटका तीनवटै फर्म्याटमा भारत र न्यूजिल्याण्डबीच कडा प्रतिस्पर्धा भइरहेको छ । यी दुई टोलीबीच एकदिवसीय क्रिकेटमा हालसम्म १०९ खेल भएका छन् । न्युजिल्यान्डले ५० र भारतले ५९ जित हात पारेको छ । ७ खेल अनिर्णित र एक खेल बराबरी भएको थियो ।

एकदिवसीय विश्वकपमा न्युजिल्याण्डले सधैं भारतलाई पछि पार्दै आएको छ । टोलीले सन् २००३ पछि सन् २०१९ सम्म भारतलाई विश्वकपमा एउटै पनि खेल जित्न दिएन, तर यसपटकको विश्वकपमा भने भारतले न्युजिल्यान्डलाई धर्मशालाको मैदानमा पराजित गर्‍यो । टोलीले २० वर्षपछि विश्वकप क्रिकेटमा न्यूजिल्याण्डलाई हराएको हो । यस खेलमा मोहम्मद शामीले ५ विकेट लिएका थिए भने विराट कोहलीले ९५ रन बनाएका थिए ।