७ आश्विन २०८१, सोमबार
,
Latest
मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभावकारी तयारी गरे विश्वकप राम्रो बन्नसक्छ–पूर्वखेलाडी बस्न्यात



अ+ अ-

काठमाडौँ । आगामी आइसिसी ट्वान्टी–२० विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोली केही समय आरामपछि मैदानमा फर्किनेछ ।

आगामी ट्वान्टी–२० विश्वकप वेस्ट इण्डिज र अमेरिकामा सन् २०२४ को जुन ४ देखि शुरु हुने तय छ । यो आयोजना आउन करिव सात महिनाको समय बाँकी छ । यस अविधिमा नेपाल दोस्रोपटक यो फरम्याटको विश्वकपमा छनोटलाई विशेष बनाउने लक्ष्यका साथ तयारीमा जुट्नेछ । विश्व क्रिकेटका स्तरीय टोलीसँग प्रतिष्पर्धा गर्न नेपालका लागि सहज हुनेछैन । त्यसैले यसबीच नेपालले राम्रो टोलीसँग चरणवद्ध श्रृंखला खेल्दै आफूलाई पनि स्तरीय प्रतियोगिताका लागि परिपक्व बनाउनु पर्नेछ ।

आगामी ट्वान्टी–२० विश्वकपमा कुल २० राष्ट्रले प्रतिष्पर्धा गर्दैछन् । एउटा समूहमा पाँच राष्ट्र हुनेछन् । चार समूहबाट शीर्ष दुई स्थानमा रहने टोलीले सुपर आठमा स्थान बनाउनेछ । नेपाल जस्तो एसोसिएट राष्ट्रले सुपर आठमा स्थान बनाउनसके पनि विश्व क्रिकेट माझ आफ्नो छाप छोड्नेमा दुई मत छैन । सन् २०१४ मा बंगलादेशमा सम्पन्न ट्वान्टी–२० विश्वकप खेलेको नेपाल दोस्रो पटक यो फरम्याटको विश्वकप खेल्न लागेको हो ।

दुई पटक विश्वकप खेलिसकेकाले पनि नेपालले सहभागितामा मात्र विश्वकपलाई सीमित पार्नुहुँदैन । त्यसका लागि राष्ट्रिय टोलीका लागि राम्रो ब्याकअपका साथै विश्वस्तरका खेलाडीले पाउने सेवासुविधा पनि उनीहरूलाई प्रदान गर्नुपर्नेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले पनि ओमानसँग फाइनलमा हारसँगै विश्वकपको तयारीलाई राम्रो बनाउन राम्रा टोलीसँग श्रृंखलाका साथै अन्य पक्षमा पनि काम गर्नुपर्ने उल्लेख गर्नुभएको थियो ।

घरेलु मैदानमा सम्पन्न आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको फाइनलमा पराजित हुँदा नेपाली टोलीमा अझै पनि धेरै पक्षमा सुधारको आवश्यक देखिएको थियो । प्रतियोगिताभर ब्याटिङमा राम्रो गरेको नेपालले बलिङमा कमजोर प्रदर्शन गर्यो । ट्वान्टी–२० क्रिकेटकै राम्रा बलर मानिएका अविनाश बोहोराको प्रदर्शन निकै निरासाजनक रह्यो । एक दशक अगाडि ट्वान्टी–२० विश्वकप खेलिसकेका सोमपाल कामी र अर्का अनुभवी बलर करण केसीको बलिङ प्रदर्शन पनि सन्तोषजनक रहेन ।

नेपाली क्रिकेट टोलीका पूर्वसदस्य तथा प्रशिक्षक राजु बस्न्यातले फाइनलमा नेपालका बलर केही चुकेको सहमति जनाउनु भयो । यद्यपि, फाइनलबाहेक भने नेपाली बलरले राम्रो गर्न सकेको उहाँको बुझाइ छ । ब्याटिङमा भने नेपाल इतिहासकै उत्कृष्ट टोलीका रूपमा देखिएको बस्न्यातले बताउनु भयो ।

विश्वकपमा भने नेपाली बलरलाई कुनैपनि खेलमा गल्ती गर्ने छुट हुनेछैन । किनकी विश्व स्तरका खेलाडीले त्यसको फाइदा लिनेछन् । जुन नेपालको सहभागितामा खल्लो बन्नसक्छ । त्यसैले विश्वस्तरका टोलीसँग खेल्दै नेपालले आफ्ना बलरको प्रदर्शनमा सुधार गर्नुुपर्ने हुन्छ । पूर्वप्रशिक्षक बस्न्यातले पछिल्ला समय नेपाली क्रिकेट टोलीले लगातार पाएको म्याच एक्सपोजरका कारण पनि यो सफलता प्राप्त भएको उल्लेख गर्नुभयो । त्यसैले पनि टोलीलाई उच्चस्तरको म्याच एक्सपोजरको आवश्यकता रहेको उनले औंल्याउनु भयो ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको प्रशिक्षण पनि सम्हालेका बस्न्यातले तयारी राम्रो गरिने हो भने विश्वकपमा पनि नेपालको प्रदर्शन सुखद् हुने विश्वास व्यक्त गर्नुभयो । यो सफलता जोगाइराख्न घरेलु क्रिकेटको संचरना र राष्ट्रिय टोलीको ब्याकअपका लागि ‘ए’ र ‘बी’ स्तरको टोली पनि बनाउनुपर्ने पूर्वक्रिकेटर बस्न्यातले भन्नुभयो ।

सन् २०१४ को विश्वकप खेलेका सोमपाल कामीले यस पटक विश्वकप छनोट भएसँगै लामो प्रतिक्षापछि यो सफलता प्राप्त गरेकाले खेल्न मात्र होइन जित्न जान्छौं भन्ने प्रतिक्रिया दिनुभएको थियो । विश्वकपमा छनोटपश्चात उत्साहित खेलाडीलाई सोहीअनुरूपमा तयारी गराउने जिम्मेवारी नेपाल क्रिकेट संघ(क्यान) को हो । क्यानले समयमा तयारी प्रभावकारी बनाउने हो भने पक्कै पनि नेपाल खेल्न मात्र होइन जित्न योग्य टोली बन्नेछ ।