४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

एनआरएनए सम्मेलन– अब कुरा भन्दा काम थालौँ: अध्यक्ष ढकाल

एनआरएनए सम्मेलन– अब कुरा भन्दा काम थालौँ: अध्यक्ष ढकाल
अ+ अ-

गैर आवासीय नेपालीहरुको संस्था एनआरएनएले नेपालीका लागि नेपाली नाम दिएर अभियान सुरु गरेको पनि २० वर्ष भएछ । म पनि सुरुदेखि नै यो संस्थासँग जोडिन पाएकोमा खुसी लागेको छ ।

स्वदेशमा होस् या विदेशमा रहँदा, यस संस्थाका कार्यक्रम या मञ्चहरुमा मलाई पनि आमन्त्रित गर्ने गर्नुभएको छु र यहाँ आएर मैले पनि आफ्ना धारणाहरु राख्ने गरेको छु ।
आज मलाई पनि यो सम्मेलनमा आमन्त्रण गर्नुभयो र मुलुकको निजी क्षेत्रको नेतृत्वका रुपमा आज मलाई यहाँ मेरा धारणा राख्ने अवसर दिनुभयो ।

एनआरएनएको नेतृत्व र यो परिवार एवं संसारमा रहेका सबैलाई नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई धेरै धन्यवाद दिन चाहन्छु । नेपालको निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ तथा मेरो व्यक्तिगत तर्फबाट पनि यस सम्मेलनको पूर्ण रुपमा सफलताको कामना गर्दछु ।

यस संस्थामा आबद्ध रहनुभएका सबै नेपालीहरुको मागप्रति नेपाल सरकार सकारात्मक बन्दै गएकोमा मलाई पनि खुसी लागेको छ । जस्तो कि सरकारले गरेको गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने निर्णयको म स्वागत गर्न चाहन्छु र निजी क्षेत्रका तर्फबाट म यहाँहरुलाई धेरै बधाई पनि दिन चाहन्छु । एकपटकको नेपाली सधैँको नेपाली भन्ने धारणा अब आएर साकार भएको छ । यसलाई मैले सकारात्मक रुपमा लिएको छु ।

मलाई लाग्छ हामी नेपाली दाजुभाइ जहाँ, जेसुकै कामले र जसरी रहेको भए पनि नेपाली हौँ र सधैँ नेपाली भएरै रहन पाउनुपर्छ । तब पो हामीहरु सबैलाई नेपाली माया र माटोले तानिरहन्छ ।

आदरणीय मित्रहरु म आज यहाँ कुनै सैद्धान्तिक भाषण गर्न गइरहेको छैन । किनभने हामीले विगतदेखि धेरै कुरा गरिसकेका छौँ र मलाई लाग्छ अब काम गर्ने बेला आएको छ । हामीले हामीले विगतदेखि गर्दै आएको भाषणको प्रतिफल मैले खासै पाएको छैन ।

अब भने हामीले यो दुई दशकको अवधिमा के गर्यौँ भनेर पनि सोच्नुपर्दछ । अब एनआरएनएले नेपाली मातृभूमिमा देखाउन मिल्ने उत्कृष्ट मोडलको काम या प्रोजेक्ट कुन हो भनेर देखाउनुपर्ने दिन पनि आएको छ । अब त्यसमा जाउँ भन्ने आजका दिनमा म यहाँहरु सबैमा आग्रह गर्दछु ।

अहिलेको पुस्ता पनि कुरा होइन काम गर्न मन पराउँछ । हाम्रा सन्ततिहरुलाई पनि अब कुरा मन पर्न छोडिसक्यो । उनीहरु यो वा त्यो भयो भन्नेमा बहानामा या ‘कन्टेक्स्ट’ मा विश्वास गर्दैनन, ‘कन्टेन्ट’ चाहन्छन् । हामीले भोलिको पुस्ताका लागि पनि केही गर्नुछ, उनीहरुलाई बाटो देखाउनु छ त्यसैले अब काम नै थालौँ भन्ने मेरो आग्रह हो ।

म आज यसै मञ्चमार्फत् झण्डै दुई दशकको संस्थाको अभियानको अवसर पारेर के आग्रह गर्न चाहन्छु भने यहाँहरुले पनि यसै सम्मेलनमार्फत् एउटा कमिट गर्नुहोस्, कुनै प्रोजेक्ट नै अघि सार्नुहोस् ताकि त्यो प्रतिबद्धता अर्काे सम्मेलनसम्म आइपुग्दा सम्पन्न होस् । त्यो प्रतिबद्धता यहाँहरुले पनि यसै अवसरमा गर्नुहोस् अनि दशैँपछि काम नै थालौँ । त्यसका लागि मैले के गर्नुपर्छ, मलाई पनि काम दिनुहोस्, म पनि लागिहाल्छु ।

म त ‘एक्सन ओरिएन्टेड’ मानिस हुँ । काम थालिहाल्नुपर्छ र गर्नुपर्छ भन्ने नै मेरो ध्येय रहन्छ । विश्वका एनआरएनएले नेपालमा सुरु गर्ने विकासका काममा हामी पनि जोडिन चाहन्छौँ, हामी पनि ‘जोइन्ट भेन्चर’ गर्न चाहन्छौँ ।

यहाँहरुसँग सहकार्य गर्न हामी पनि आतुर छौँ । जस्तो कि कतिपय यस्तो काम हामीले जोइन्ट भेन्चरमा गरेका पनि छौँ । तर त्यो पर्याप्त छैन । त्यसैले यसलाई सुरुआत नै मानौँ र अब ठूलै स्केलको केही गरौँ । यहाँहरु विश्वको जुनसकै भूगोलमा रहेको भए पनि त्यहाँ आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपालमै ल्याउनुहोस र यहीँ काम गरौँ ।

देशमा लगानीको वातावरण नभएको होइन, छ । जस्तो कि यहाँहरुलाई पक्कै पनि सूचना छ नवलपुरमा मौलाकालिका र बुटवलमा लुम्बिनी केबलकार प्रोजेक्ट हामीले वर्ष दिनभित्र सकेर अप्रेसनमै ल्यायौँ । लगानी गर्दा यहाँ काम गर्न सकिन्छ भन्ने यो र अरु पनि उदाहरणहरु हामीसँग छन् ।

होलान्, लगानीका लागि कतिपय बाधा व्यवधान पनि होलान् । तर ती पनि सबै हाम्रै माटोका उपज हुन् । त्यसका लागि सबै सँगै लडौँला, जस्तो सुकै समस्या पनि समाधान गर्न सकिन्छ भनेर लागौँला । महासंघमा पनि हामीले वैदेशिक लगानी समन्वय शाखा स्थापना गरेका छौँ र अरु हिसाबले पनि हामी के सक्छौँ सहयोग गर्न सक्छौँ ।

आउनुहोस, यहाँहरुले विदेशमा सिकेको सीप तथा आर्जन गरेको ज्ञान र पुँजीलाई हाम्रै मातृभूमिमा लगाऔँ । हाम्रै माटोमा फल्छ सुन । म त विश्वस्त छु कि संसारको सबैभन्दा उर्वर छ हाम्रो माटो । यहाँहरुको लगानी यहीँ लगाइदिनुहोस, अनि खाडीमा पोख्ने पसिना नेपाली युवाले पनि हाम्रै माटोमा पोख्ने छन् । त्यसो भयो भने हामी नेपालीका लागि पनि समृद्धि धेरै टाढा हुने छैन ।

लगानीका सम्भावनाहरुका बारेमा भने मैले यहाँहरुलाई अहिले नै केही भन्नुपर्छ भन्ने मलाई लाग्दैन । हाम्रै माटो र बाटो, जल र जंगल, पाखा र पहरा हुन्, जससँग यहाँहरु आफै नै परिचित हुनुहुन्छ । त्यसैले देशको कर्णालीमा के रोप्ने र तराईमा के फल्छ भन्ने कुराको जानकारी मलाई जत्तिकै यहाँहरुलाई पनि छ । म यत्ति भन्छु, हामीसँग लगानीका असंख्या सम्भावनाहरु छन् ।

होइन भने अब यहाँहरु माथि पनि प्रश्न उठ्न सक्छ । दुईदुई वर्षमा नेपाल आउने सम्मेलन गर्ने दशैँ मनाउने अनि आफ्ना कर्मक्षेत्र तिर फर्किने मात्र काम भयो भन्ने अवस्था नहोस् । अब विचार गरौँ २० वर्ष भनेको त परिपक्व उमेर हो । काम गरेरै देखाउने उमेर हो ।

हेर्नुस, आफू जन्मेको माटो सबैलाई प्यारो लाग्छ, सदैव शीतल लाग्छ । त्यसैले त यहाँहरु पनि यो सम्मेलन नेपालमै गर्ने गर्नुहुन्छ । कोरोना महामारीको समयमा हेरौँ न । संसारमा रहेका हामी नेपाली कसरी आफ्नो घर सम्झिएर फर्कियौँ ? हामी अहिले जहाँ भए पनि हामीले भन्ने गरेको मर्दा पर्दा चाहिने आफ्नै घर हो, आफ्नै जन्मभूमि हो । त्यसैले आफूले आर्जन गरेको पुँजीबाट पहिला आफ्नो घर बनाऔँ, आफ्नो जन्मस्थल बनाऔँ ।

(नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एनआरएनएको ११ औँ सम्मेलनमा व्यक्त गर्नुभएको विचारमा आधारित)