२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेरामक्स तथा स्मार्ट टेलिकमको अनुमतिपत्र बिक्री सम्बन्धमा तत्काल निर्णय नगर्न निर्देशन



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) प्रविधि जडानको कार्य तत्कालका लागि यथास्थितिमा राख्न निर्देशन दिएको छ ।

समितिको आजको बैठकले स्मार्ट टेलिकमको दूरसञ्चार अनुमतिपत्र बिक्री तथा ग्रामीण दूरसञ्चार कोषको कार्यान्वयनका सम्बन्धमा थप छलफल गर्नुपर्ने देखिएकाले तत्काल कुनै निर्णय नगर्न सूचना तथा सञ्चार मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।

प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीको ट्राफिक तथा नेटवर्कको निगरानी एवं ठगी रोक्नका लागि टेरामक्स प्रणाली जडानको तयारी गरेको छ । टेरामक्सबाट ‘फ्रड’ कल नियन्त्रण तथा दूरसञ्चार सेवाको गुणस्तर नियमन गर्न सहयोग पुग्ने प्राधिकरणको दाबी छ ।

उक्त प्रणाली जडान भएपछि दूरसञ्चार सेवाबापत उपभोक्तामाथि हुने ठगी एवं राजस्वमा चुहावट नियन्त्रण हुने प्राधिकरणले जनाएको छ । बैठकमा सहभागी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले दूरसञ्चार सेवा प्रदायकले उपलब्ध गराएको सेवाको गुणस्तरका सम्बन्धमा नियामक निकाय गम्भीर हुनुपर्ने बताउनुभयो ।

“दूरसञ्चार सेवा प्रयोग गरेबापत सेवा प्रदायकले शुल्क लिएको छ, त्यो शुल्क वास्तविक हो कि होइन भनेर दूरसञ्चार प्राधिकरणले ‘मोनिटरिङ’ गर्नुपर्छ”, उहाँले भन्नुभयो, “सञ्चार अत्यावश्यक सेवा भइसक्यो, ग्रामीण दूरसञ्चार नारामै सीमित भएको छ, यसलाई प्रभावकारी बनाउनुपर्छ ।”

एमाले सांसद गोकुल बाँस्कोटाले उपभोक्ताले सेवा प्रदायकबाट गुणस्तरीय सेवा पाएको छ कि छैन भनेर प्राविधिक लेखापरीक्षण गर्नुपर्ने बताउनुभयो । “प्राधिकरण नियामक निकाय हो, यसले दूरसञ्चार सेवाका बारेमा अनुगमन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले दुर्गम जिल्लामा विश्वसनीय र गुणस्तरीय दूरसञ्चार सेवा दिनुपर्ने तथा मोबाइल र इन्टरनेट सेवाका सम्बन्धमा नियामक निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।

राप्रपाका सांसद राजेन्द्र लिङ्देनले मोबाइल तथा इन्टरनेट सेवा लिने उपभोक्ताको सङ्ख्या लगातार वृद्धि भइरहेको अवस्थामा दूरसञ्चार सेवा प्रदायकको आम्दानी घट्नुको कारण के हो? भनी जिज्ञाशा राख्नुभयो ।