२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानसिक रोग अन्य सामाजिक रोग जस्तै हो भेदभाव नगरौँ: प्रधानमन्त्री दाहाल



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न आवश्यक भएको बताउनुभएको छ । उहाँले समावेशी एवं समतामूलक समाज निर्माणका लागि मानसिक बिरामीमाथि लाञ्छना र भेदभाव गर्न नहुने बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले आज विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा भिडियो सन्देश दिँदै मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता अन्धविश्वास र लाञ्छनालाई न्यूनीकरण गर्न थप प्रभावकारी पहलहरु अगाडि बढाउन जरुरी रहेको उल्लेख गर्नुभयोे ।

“मानसिक बिरामी पनि अन्य सामाजिक रोगी जस्तै हुन् । त्यसैले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई भेदभाव नगरौँ, हुन नदिऔँ उनीहरुलाई सम्मानजनक व्यवहार गरौँ”, उहाँले भन्नुभयो ।

मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि वातावरण बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “वैदेशिक रोजगारीमा रहेका नागरिकलाई समेत कार्यस्थलमा आधारभूत अधिकार सुनिश्चित गर्न अन्य देशहरुसँग समन्वय गर्न आवश्यक छ ।” उहाँले नेपालमा दसमध्ये एक जना मानसिक समस्यासँग बाँचिरहेको र दैनिक १९ जनाले ज्यान गुमाउने गरेको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “समाजमा व्याप्त गरिबी, बेरोजगारी, जातीय तथा लैङ्गिक भेदभाव, अपेक्षाअनुरुपको जीवनशैली बाँच्न नसक्नु, सांस्कृतिकरुपमा अराजकता बढ्दै जानुजस्ता समस्याले मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको छ । यस्ता प्रचलनहरु अन्यायपूर्ण र संविधानप्रदत्त मौलिक अधिकारविरुद्ध छन् । ”

उहाँले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सन्तुलित आहार प्रयोग, पर्याप्त निन्द्रा, दैनिक व्यायाम र दु:खमा साथी, सहकर्मी र आफन्तको सहयोग लिने र दिने बानीको विकास गर्नसमेत आग्रह गर्नुभयो । रासस