४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले भूकम्प प्रभावित क्षेत्र बझाङको अवलोकन गर्ने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पका कारण बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिनुभएको हो । उहाँले थप राहत र पुन:स्थापनाका लागि समन्वयात्मक रुपले अझ जोड दिएर काम गर्न पनि निर्देशन दिनुभयो ।

उहाँले तत्काल पुग्नुपर्ने श्रोत र हुनुपर्ने व्यवस्थापनमा तीन तहकै सरकारले आवश्यक भुमिका निभाउन निर्देशन दिनुभयो । उहाँले सम्भावित विपद्जन्य घटनाको लागि पूर्व तयारी गर्नु र रहनुपर्ने आवश्यकता रहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले नेपाल उच्च भूकम्प जोखिम क्षेत्रमा पर्ने भन्दै कुनैपनि बेला कहीँ विपद्जन्य घटना हुनसक्ने भएकाले आवश्यक पूर्वतयारी गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले भर्खरै ठूलो क्षति नदेखिए पनि यसले गरेको संकेत गम्भीर छ । त्यसकारण अहिले भएको क्षतिको पनि हामीले गम्भीरतापूर्वक लिनुपर्ने र आउने दिनका लागि तयारी विषयलाई पनि त्यत्तिकै गम्भीरतापूर्वक लिनुपर्ने भएको हुनाले यो परिषद्को बैठकले पनि विषयलाई त्यसरी नै लिन म विशेष अनुरोध गर्दछु । अहिले बझाङ र आसपासमा भएको मानवीय क्षति र भौतिक क्षतिको व्यवस्थापनको लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न हामी निर्देशन गर्दछौँ । हालसम्म जे जति प्रयास भएको छ, उद्धार, राहतको लागि र व्यवस्थापनमा खटिएको सबैलाई धन्यवाद छ । थप राहत र पुन:स्थापना निर्माणका लागि समन्वयात्मक रुपले अझ जोड दिएर काम गर्न पनि निर्देशन गर्न चाहन्छु । यसको प्रभाव यकिन गरी तत्काल आवश्यक पुग्नुपर्ने श्रोत, व्यवस्थापन गर्नुपर्नेछ । र त्यो व्यवस्थापन गर्ने निर्णय पनि हामी लिनेछौँ । तीन तहकै सरकारको बीचमा समन्वयात्मक कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्न तीन तहकै सरकारको एकीकृत रुपमा कार्यक्रम गर्न व्यवस्थापन गर्ने ।

प्राधिकरणलाई पुन: स्थापना र पुन:लाभको कामलाई आवश्यक पर्ने नीतिगत सहजीकरण गर्नेकुरा पनि यहाँ आएको छ । नियमावली सायद संशोधनको विषय कहाँ छ, त्यो कानून समितिमा वा कतै छ । आउने क्याबिनेटको बैठकमा यो कुरा ल्याउनेछौँ । क्याबिनेटमा ल्याएर भएपनि त्यसमा सहजीकरण गर्न आवश्यक छ । सम्भावित विपद्जन्य घटनाको लागि पूर्व तयारी गर्नु र रहनुपर्ने हुन्छ । अहिले हामीले भूगर्भको हाम्रो स्थितिबारे केही जानकारी त यहाँ अहिले पनि छ, तर आम रुपमा नेपाल उच्च भूकम्प जोखिम क्षेत्रमा पर्छ । कुनैपनि बेला कहीँ पनि यस्तो स्थिति आउनसक्छ । त्यसैले हुनसक्ने तयारी गर्नुपर्छ । परिषद्को अध्यक्षको नाताले पनि र प्रधानमन्त्रीको नाताले पनि एकपटक बझाङमै गएर प्रत्यक्ष अवलोकन गर्ने र त्यो रिपोर्ट आइसकेपछि स्टेप चाल्नेछौँ ।’

प्रधानमन्त्री दाहाल शुक्रवार भूकम्पको केन्द्रबिन्दु क्षेत्र बझाङ गएर प्रत्यक्ष अवलोकन गर्ने र त्यसबाट आएको रिपोर्टपछि थप कार्यक्रम अघि बढाउने बताइएको छ ।