२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास र सुशासनका लागि लागिरहन्छुः राष्ट्रपति पौडेल



अ+ अ-

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास र समृद्धिका लागि आफू निरन्तर लागिपर्ने बताउनुभएको छ । दलीय राजनीतिमा नलाग्ने भन्दै उहाँले विकास र सुशासनका लागि सदैव सक्रिय रहने बताउनुभयो ।

तनहुँको व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण गरिएको दमौली सभागृहको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले विकासका कारण मुलुक पछाडि परेकाले विकासबाट हात नझिक्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “देशलाई विकास चाहिएको छ, देश पछाडि परेको छ । विकासका लागि म जहाँ पनि बोल्छु, सबैलाई सचेत गराउँछु ।” सुशासन र विकासका लागि सचेत गराउनु आफ्नो जिम्मेवारी रहेको बताउँदै राष्ट्रपति पौडेलले मुलुकका लागि विकास नै पहिलो सर्त रहेको उल्लेख गर्नुभयो ।

संविधानको रक्षा गर्नु सबैको दायित्व रहेको बताउँदै राष्ट्रपति पौडेलले स्थायित्व र सुशासनबाट विकास सम्भव रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “परिवर्तनको रक्षा गर्ने मेरो जिम्मेवारी हो । संविधानको रक्षक भएका नाताले मेरो कदम त्यसतर्फ हुनेछ ।” सबै धर्म र जातजातिको सम्मान गर्नुपर्ने बताउँदै राष्ट्रपति पौडेलले देशलाई बलियो बनाउनेतर्फ लाग्न सबैलाई आग्रह गर्नुभयो ।

व्यवस्था बदलिए पनि अवस्था नबदलिएको भन्दै राष्ट्रपति पौडेलले पदमा पुग्नेहरुले देशको हितमा काम गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले निमुखा जनताले न्याय पाउनुपर्ने र विपन्नलाई आय चाहिएको भनाइ राख्नुभयो । सबै राजनीतिक दल मिलेर एकाआपसमा सहकार्य गरी काम गर्नुपर्ने बताउँदै राष्ट्रपति पौडेलले दलहरु मिले मात्रै मुलुक बलियो बन्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “दुई ठूला देशका बीचमा रहेको नेपाललाई एकताको बाटोमा हिँडाउनुपर्छ । सबै दल मिले मात्रै देश बलियो हुन्छ ।”

सो अवसरमा शहरी विकास मन्त्री सीता गुरुङले सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले सबै दलको एकताबाट मात्रै विकास सम्भव रहेको उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सीमित स्रोत र साधनबाट पूर्वाधार विकासमा जोड दिइएको बताउनुभयो । यो देशमा केही हुन सक्दैन भन्ने भाष्य स्थापित गर्न खोजिएको बताउँदै उहाँले नैराश्यताको फाइदा उठाएर गलत काम गर्नेहरुलाई परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।

तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा। स्वर्णिम वाग्लेले कुशासनले विकास रोकिएको बताउनुभयो । तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य शङ्कर भण्डारीले असमझदारीले मुलुक पछाडि परेकाले सबै दलबीच एकता आवश्यक रहेको धारणा राख्नुभयो ।

काठमाडौ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले समयमा काम नहुने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने र प्रकाश पन्थले समृद्ध तनहुँका लागि सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको भनाइ राख्नुभयो ।

शहरी विकास मन्त्रालयको रु २३ करोड ६२ लाखको लागतमा दमौली सभागृह निर्माण भएको मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

विसं २०७४ माघ २८ गतेदेखि निर्माण शुरु भएको भवन कोरोना महामारीका कारण ढिलो गरी निर्माण सम्पन्न भएको हो । भवन निर्माणका लागि विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौस्थित डाँफे÷एमए÷प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो ।

सभाहल निर्माण सम्पन्न भएको मितिदेखि एक वर्षसम्म मर्मत सम्भारको अवधि राखिएको छ । सभागृहमा पाँच सय ९३ जन अट्ने क्षमताको सभाहल छ । सभागृहको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ । भवनमा मुख्य सभाहल बाहेक एक सय ५० जना क्षमताको सेमिनार हल निर्माण भएको छ । सभाहल बाहिर फाउण्टेनसहितको भिआइपी पार्किङ स्थल समेत रहेको छ । रासस