४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’मार्फत उपचार

कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’मार्फत उपचार
अ+ अ-

काठमाडौँ । वीर अस्पतालले कान नसुन्ने बिरामीका लागि ‘कोक्लियर इम्प्लान्ट’मार्फत सुन्न सक्ने बनाउने सेवा सुरु गरेको छ । अस्पतालले पटक्कै कान नसुन्ने वा केही समस्याका कारण सुन्न छोडेका बिरामीका लागि कोक्लियर इम्प्लान्ट ९यो सानो इलेक्ट्रोनिक उपकरण हो जसले गम्भीर श्रवण हानि भएका मानिसको श्रवण सुधार गर्न मद्दत गर्छ० मार्फत सुन्न सक्ने बनाउने सेवा सुरु गरेको हो ।

“कतिपय बहिरोपन (श्रवण शक्ति न्यून) रहेका बिरामीले कानमा डिभाइस (यन्त्र) लगाएर सुन्न सक्नुहुन्छ । कानको सुन्ने क्षमता अत्यन्त कम भएका, शल्यक्रिया गरेर पनि सुन्न नसक्ने बिरामीलाई कोक्लियर इम्प्लान्टलाई शल्यक्रियामार्फत प्रत्यारोषण गरेर सुन्न सकिने बनाउने सेवा हो”, अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा डा दीपेन्द्र श्रेष्ठले भन्नुभयो ।

कुनै कान नसुन्ने वा बहिरोपनलाई शल्यक्रिया वा कुनै मेसिन लगाएर सुन्न सकिने बनाउन सकिने जनाउँदै उहाँले कान सुन्दै नसुन्ने बिरामीलाई शल्यक्रिया वा यन्त्र प्रयोग गर्दा पनि प्रभावकारी नभएमा कोक्लियर प्रत्यारोषण गरेर सुन्न सक्ने बनाउने बताउनुभयो ।

वीरमा हालसम्म दुई जनाको कोक्लियर इम्प्लान्टमार्फत उपचार गरी कान सुन्न सक्ने बनाइएको डा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै जनाको प्रत्यारोपणका लागि कोक्लियर निर्माण कम्पनीले रू १० लाख बराबरको यन्त्र सहयोग गरेको हो ।

“एक जना १८ वर्षीया युवतीमा १४ वर्षदेखि राम्रोसँग कान नसुन्ने समस्या थियो । उहाँको मिर्गौला फेल भएपछि दुवै कान सुन्न छाडिन्”, डा श्रेष्ठले भन्नुभयो, “अर्का ६० वर्षीय वृद्धाले कोरोना सङ्क्रमण भएपछि दुवै कान सुन्न छाडेका थिए । उहाँहरुलाई कोक्लियर इम्प्लान्टलाई शल्यक्रियामार्फत प्रत्यारोषण गरेर सुन्न सक्ने बनाएका छौँ ।”

अहिले परीक्षणको रूपमा दुई जनाको सफल उपचार गरिएको बताउँदै उहाँले केही प्राविधिक समस्या रहेकाले उक्त समस्या समाधान गरेपछि कोक्लियर प्रत्यारोपणलाई निरन्तरता दिने जानकारी दिनुभयो । यसअघि त्रिवि शिक्षण अस्पतालमा पनि कोक्लियर इम्प्लान्टलाई शल्यक्रियामार्फत प्रत्यारोषण गरेर कान सुन्ने बनाउने गरिएको थियो ।

शिक्षण अस्पतालमा उक्त सेवाका लागि सरकारले बिरामीलाई रू छ लाख आर्थिक सहयोग गर्ने गरेको छ । बाँकी बिरामीले व्यहोर्नुपर्ने हुन्छ । डा श्रेष्ठले वीर अस्पतालमा पनि चाँडै सरकारसँगको समन्वयमा कोक्लियर प्रत्यारोपण सुरु गरिने बताउनुभयो । उहाँका अनुसार ‘भेरिया टेक्निक’ अपनाएर गरिने प्रत्यारोषणमा एक घण्टामा बिरामीको शल्यक्रिया गरेर कोक्लियर इन्प्लान्ट राखिन्छ ।

के हो कोक्लियर प्रत्यारोपण ?
“हाम्रो कानमा बाहिर, मध्य र भित्री भाग गरेर तीन भाग हुन्छन् । कानको भित्री भाग ककलिया हुन्छ । ककलियाले बाहिरबाट आएको ध्वनि मोकानिकल इनर्जीलाई इलेक्ट्रिक इनर्जीमा परिवर्तन गरेर ब्रेन ९दिमाग०मा पुर्‍याउने गर्दछ । अनि हामीले केही कुरा सुन्छौँ । हामीले सुन्ने कानले नभई दिमागले हो । ककलिया भित्र खराबी, नशामा खराबी आयो भने साउण्ड इनर्जी दिमागसम्म जान बन्द हुन्छ र मानिसले कान सुन्न छाड्छ”, अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ प्रा डा श्रेष्ठले भन्नुभयो ।

कान नसुन्ने अलिअलि समस्या भएका बिरामीलाई यन्त्र (मेसिन)इयरफोन लगाएर सुन्न सक्ने बनाइने उहाँले बताउनुभयो । कान धेरै नै नसुन्ने वा यन्त्रले काम नगर्ने समस्या भएका बिरामीका लागि कोक्लियर प्रत्यारोषण प्रभावकारी हुने उहाँको भनाइ थियो ।

जन्मिनेबित्तिकै कतिपय मानिस नसुन्ने समस्या लिएर जन्मिने जनाउँदै डा श्रेष्ठले बच्चा छ वर्षको हुँदासम्म कान सुनिसक्नुपर्ने जानकारी दिनुभयो । यदि छ वर्षसम्म पनि बच्चाले सुन्न र बोल्न सकेन भने सधैँभरि नसुन्ने र नबोल्ने समस्या हुने उहाँले बताउनुभयो ।

“छ वर्षको उमेरपछि जुनसुकै प्रविधि प्रयोग गरेर उपचार गरे पनि त्यो मानिसले आवाज बुझ्दैनन् र आवाज नबुझेपछि बोल्न सक्दैनन्”, नाक, कान र घाँटी रोग विशेषज्ञ डा श्रेष्ठले भन्नुभयो, “जसले सानैदेखि वा छ वर्षको उमेरसम्म पनि सुन्न सक्दैन त्यस्ता बच्चालाई छ वर्ष अगाडि नै कोक्लियर इम्प्लान्टको प्रत्यारोषण गर्नुपर्दछ । यसले सामान्य बच्चाजस्तै सुन्ने सक्ने बनाउँछ ।”

कोक्लियर इम्प्लान्ट इलेक्ट्रोनिक उपकरण भएको डा श्रेष्ठले बताउनुभयो । “यो उपकरण प्रत्यारोपण गर्दा कानको पछाडिको बाहिरी भागमा शल्यक्रिया गरी छालामुन्तिरको हड्डीमा यन्त्र राख्दछौँ र त्यो यन्त्रले मोकानिकल इनर्जीलाई इलेक्टिकल इनर्जीमा रुपान्तरण गर्दछ”, उहाँले भन्नुभयो ।

के कारणले कान सुनिदैन
‘मेनेजाइटिक्स’, कोभिड–१९, मिर्गौला र अन्य विभिन्न कारणले कान नसुन्ने समस्या आउने गरेको अस्पतालका नाक, कान र घाँटी रोग विशेषज्ञ डा श्रेष्ठले बताउनुभयो । उहाँले कोक्लियर इम्प्लान्ट प्रविधि महँगो भएको जनाउँदै यसको प्रत्यारोषणका लागि रू १० लाखभन्दा बढी खर्च लाग्ने जानकारी दिनुभयो ।

डा श्रेष्ठका अनुसार नेपालमा १७ प्रतिशतमा बहिरोपनको समस्या छ भने पटक्कै कान सुन्न नसक्नेको तथ्याङ्क सरकारसँग छैन । “अस्पतालमा पटक्कै कान नसुन्ने बिरामी धेरै नै आउने गरेका छन्”, उहाँले भन्नुभयो, “हामीले उपचार सेवा अहिलेसम्म दिन सकिरहेका थिएनौँ । अब यस प्रविधिबाट सेवा लिन चाहनेलाई सहज हुनेछ ।”

वीर अस्पतालभन्दा अगाडि त्रिवि शिक्षण अस्पताल यसको प्रत्यारोपण सुरु गरेको भन्दै त्रिविमा बिरामीको चाप निकै बढेको डा श्रेष्ठले बताउनुभयो । “पैसा भएर पनि मानिसले उपचार पाएका छैनन् । पैसा हुने मानिस भारतलगायत विदेशमा गएर कोक्लियर प्रत्यारोपण गरिरहेका छन्”, उहाँले भन्नुभयो ।

अस्पतालका निर्देशक डा सन्तोष पौडेलले बहिरङ्ग विभागमा धेरै बिरामी कान तथा श्रवणसम्बन्धी समस्या लिएर आउने गरेका बताउनुभयो । उहाँका अनुसार शिक्षण अस्पतालमा सरकारले कोक्लियर इम्प्लान्ट राख्नका लागि बिरामीलाई रू छ लाख बराबर आर्थिक सहयोग गर्दै आइरहेको छ ।

अस्पतालका निर्देशक डा पौडेलले वीर अस्पतालले बिरामीको अवस्था हेरेर सुविधा थप गर्ने बताउनुभयो । उहाँले सेवा÷सुविधा थप्ने गर्ने क्रममा कान नसुन्ने बिरामीलाई कोक्लियर इम्प्लान्ट सेवा सुरु गरेको बताउँदै अस्पतालमा उपचार गर्न आउने बिरामीलाई सहुलियतरूपमा उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने बताउनुभयो । रासस