४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

स्याउखेतीमा भविष्य खोज्दै बागलुङका किसान

स्याउखेतीमा भविष्य खोज्दै बागलुङका किसान
अ+ अ-

ढोरपाटन । एक दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिकरुपमा स्याउखेती गरिन्थ्यो । परम्परागतरुपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रविधिबाट नयाँनयाँ प्रजातिका स्याउ लगाउन थालेका छन् । अहिले ढोरपाटन क्षेत्रमा मात्रै होइन, तल्लो क्षेत्रमा पनि स्याउ खेतीप्रति कृषकको आकर्षण बढेको छ । खासगरी निसेल ढोरको कुँडे, काँग, ढोरपाटनको मस, नवी, भूजीलगायतका ठाउँमा स्याउ उत्पादन गरिँदै आएकामा अहिले निसीखोला, ताराखोला र बडिगाडको माथिल्लो क्षेत्रमा स्याउ खेती गर्न थालिएको छ ।

पछिल्लो पाँच वर्षयता जिल्लाको तल्लो भेगमा स्याउ लगाउने कृषकको संख्या पनि बढ्दै गएको छ । करिब २२ सय मिटरको उचाईदेखि स्याउ उत्पादन हुने हुँदा कृषकको आकर्षण बढेको पाइन्छ । जिल्लामा सबैभन्दा राम्रो स्याउ उत्पादन हुने क्षेत्रका रुपमा निसेलढोर र ढोरपाटन उपत्यका क्षेत्रलाई लिन्छ । यी क्षत्रेमा दुई दशकभन्दा अगाडिदेखि व्यावसायिक स्याउ उत्पादन हुँदै आएको पाइन्छ । पछिल्लो समय ताराखोला गाउँपालिका र निसीखोला गाउँपालिकाको उच्च क्षेत्रमा स्याउ खेती विस्तार गरिएको छ । ताराखोला गाउँपालिका–५ ठूलो हिलेमा १ सय ८० वटा स्याउको बिरुवा लगाइएको छ । बिरुवा लगाएको दुई वर्षमै फल्ने हुँदा कृषक यस खेतीतर्फ आकर्षित भएका हुन् ।

गाउँपालिकाको ५ नम्बर वडामा उन्नत प्रजातिको गोल्डेन, गाला, रोटा र फुजी प्रजातिको स्याउ लगाइएको गाउँपालिकाका सायक पशु चिकित्सक प्रमुख चिन्तामणि शर्माले जानकारी दिनुभयो । यस वर्ष पनि गाउँपालिकाले आठ सय स्याउका बिरुवा खरिद गरी किसानलाई वितरण गरेको बताउनुभयो । अघिल्लो वर्ष ताराखोला गाउँपालिकाले कृषि विकास निर्देशनालय गण्डकी प्रदेशबाट उन्नत जातका स्याउका बिरुवा लिएर कृषकलाई दिएको भन्दै ती बिरुवा सप्रिदै गएको उहाँको भनाइ छ ।

उन्न्त जातका स्याउका बिरुवालाई सरसफाई गर्न, बगैंचामा विषादी व्यावस्थापन र कलमी गर्न सजिलो हुने भएकाले किसानले खेती गर्न चासो देखाएको शर्मा बताउनुहुन्छ । अघिल्ला वर्षहरुमा १४ रोपनी क्षेत्रमा स्याउ खेती भएको भन्दै यस वर्षदेखि एक रोपनीमै चारदेखि पाँच हजार बिरुवा लगाउन मिल्ने खालको स्याउका बिरुवा विस्तार गर्ने योजना रहेको उहाँ बताउनुहुन्छ ।

निसीखोला गाउँपालिका–५ मा पनि गाउँपालिकाले स्याउ खेती विस्तार गरेको छ । सिप, भल्कोट लगायका क्षेत्रमा स्थानीयले वर्षौं अगाडि स्याउ लगाए पनि उत्पादन गर्न सकेका थिएनन् । प्राविधिक ज्ञान बिना लगाइएका स्याउका बोटले फल नदिएपछि चिन्तित बनेका यहाँका कृषक गाउँपालिकाले माटो परीक्षण गरी नयाँ जातको स्याउका बिरुवा दिएपछि उत्साहित भएका छन् । भौगोलिक वनावट, हावापानी र स्थानीयवासीको मागअनुसार निसीखोलाको माथिल्लो क्षेत्रमा स्याउ खेती विस्तार गर्न थालेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताउनुभयो ।

यस वर्ष वडा नम्बर ५ र ६ मा ४५० स्याउका बिरुवा लगाएको अध्यक्ष घर्ती मगर बताउनुहुन्छ । गाउँपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको सात लाख रुपैयाँबाट स्याउ खेती विस्तार गर्न थालेको उहाँको भनाइ छ । निसेलढोर बाहेक जाउलेपानी, मापुक, चोरबास र कोस्काँ क्षेत्रमा स्याउ लगाइएको छ । “बागलुङ जिल्लामा स्याउ फल्ने ठाउँका रुपमा निसेलढोर र उत्तरगङ्गा ढोरपाटनलाई चिनिदै आएको छ, हामीले अहिले तल्लो क्षेत्रमा पनि स्याउ उत्पादन गर्ने गरि किसानलाई बिरुवा दिएका छौँ, यहाँका किसानले स्याउ लगाएको स्थान उच्च पहाडी क्षेत्र पर्छ,” कृषि प्राविधिकहरुको टोलीले माटो परीक्षण गरेर उन्नतजातका स्याउका बिरुवा लिएर लगाइएको छ, यी बिरुवाले एक/दुई वर्षमै उत्पादन दिन्छन् भन्ने छ, यसले कृषिकलाई उत्पादन गर्नेतर्फ आकर्षित गर्ने र आयआर्जनसँग जोड्ने छ ।”

निसीखोला गाउँपालिकामा दर्ता भएका कृषि फर्म तथा समूहलाई स्याउका बिरुवा प्रदान गरेको उहाँले बताउनुभयो । वडा नं ५ र ६ का ४५ समूहलाई चार सय ५० स्याउका बिरुवा दिएको उहाँ बताउनुहुन्छ । पाल्पामा उत्पादन गरिँदै आएको स्याउको बिरुवा खरिद गरी यहाँका कृषकलाई वितरण गरेको हो । निसीखोलामा दुई हजारदेखि चार हजार उचाईसम्म स्याउका बिरुवा लगाइने उहाँको भनाइ छ । निसेलढोर चार हजार मिटरभन्दा बढीको उचाइमा छ भने, सिप, चोरबास, कोस्काँ लगायतका क्षेत्र भने २८ सय आसपासको उचाइमा पर्छन् ।

निसीखोला गाउँपालिका–२ अर्नाकोटमा पनि अघिल्लो वर्षदेखि व्यावसायिक स्याउ खेती सुरु भएको छ । स्थानीय दुर्गाबहादुर ओलीले अघिल्लो वर्ष पोखराबाट इटिलियन गाला फुजी जातको २२ वटा स्याउका बिरुवा लिएर लगाएको बिरुवाले अहिले फल दिएको छ । परीक्षणका रुपमा लगाएको स्याउले एकै वर्षमा फल दिन थालेपछि उहाँ उत्साहित हुनु भएको छ । ओलीले यस वर्ष थप २७ वटा बिरुवा लगाउनु भएको छ । सुरुमाल लगाएका बाइस बिरुवामध्ये दुई वटा मरेको भन्दै अहिले २० वटा बोटमा स्याउ फलेको उहाँ बताउनुहुन्छ । स्याउले सानै बोटमा फल दिन थालेपछि गाउँका अन्य कृषक पनि हर्षित भएका छन् ।

ओलीले स्याउका बिरुवा लगाएपछि अर्नाकोटका अन्य १२ जना कृषकले पनि बिरुवा लिएर लगाएको बताउनुभयो । वर्षौँदेखि गाईभैँसी र खेती किसानी गर्दै आएका किसान अहिले स्याउ खेती गर्नेतर्फ ध्यान दिएको उहाँको भनाइ छ । हाल उहाँको बगानमा २७ नयाँ बिरुवा र पोहोर साल लगाएका २० गरी ४७ स्याउका बोट रहेको उहाँले बताउनुभयो । दुई हजारदेखि तीन हजार मिटरसम्मको उचाइमा गाला फुजी जातको स्याउ राम्रो उत्पादन जानकारी पाएपछि ओलीले परीक्षणका लागि स्याउ लगाएको बताउनुहुन्छ । परीक्षणका लागि लगाएको स्याउले एकै वर्षमा फल दिएपछि थप उत्साहित भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “अर्नाकोट क्षेत्रमा स्याउ लगाउने चाहना पहिलेदेखि नै थियो तर विभिन्न कारणले गर्दा लगाउन पाएको थिएन, पोहोर साल ल्याएर लगाएको अहिले फलेको छ, यहाँ यति राम्रो स्याउ होला भन्ने मैले सोचेको थिएन । यस ठाउँमा पानीको समस्या भएकाले सिँचाइको कारण बिरुवा बचाउन सकिन्न कि भन्ने उहाँलाई निकै डर थियो तर यसमा धेरै सिँचाइ गर्नुपर्ने नपर्ने हुँदा उहाँमा चिन्ता रहेन । अब उहाँलाई व्यावसायिकरुपमा धेरै स्याउ उत्पादन गर्ने उत्साह बढेको छ ।

स्थानीय चेतबहादुर कुँवरले पनि दुई वर्ष अगाडि २७ वटा बिरुवा लगाउनु भएको थियो । अहिले सबैले बिरुवामा स्याउ फलेका छन् । कुँवरले लगाएकै सालमा फूल फूल्ने र अर्को सालदेखि फल दिने भनिए पनि सुरुकै वर्षमा फल दिन थालेको बताउनुभयो । स्याउ खेती व्यवस्थित गर्नका लागि गाउँलेलाई नै यसतर्फ आकर्षित गर्न थालेको उहाँको भनाइ छ । आफूले स्याउ लगाएको क्षेत्र अलि बढी सुख्खा भएको हुँदा स्याउका पोथीभन्दा भाले जातका बिरुवा जोगाउन समस्या भएको भन्दै अहिले समाधान हुँदै गएको उहाँ बताउनुहुन्छ ।

गाउँमा पछिल्लो समय सयौँ रोपनी जग्गा खाली हुँदै गएको र यी जग्गालाई सदुपयो गरी स्याउ खती गर्ने योजना रहेको उहाँको भनाइ छ । एउटा व्यक्तिले मात्रै बाँझो जमिन सदुपयोग गर्न नसक्ने हुँदा यसका लागि गाउँले नै सक्रिय हुनु पर्ने कुँवर बताउनुहुन्छ । गाउँमा अघिल्लो वर्षसम्म कसैले पनि स्याउ लगाउने सोच नबनाएको सुनाउँदै अहिले धेरैले बिरुवा खोज्न थालेको उहाँले बताउनुभयो । यस वर्ष गाउँमा स्याउका बिरुवा लगाउनेको संख्या बढेको उहाँ बताउनुहुन्छ । “हामी सानो–सानो हुँदा ढोरपाटन पुगेर स्याउ खाने गरिन्थ्यो, पहिले त अहिलेको जस्तो बजारमा विदेशी स्याउ पनि आउँदैनथे, अहिले त जता पनि छ्याप्छ्याप्ती पाइन्छन्, हामीले पनि गाउँमा स्याउ लगायौँ, हाम्रो गाउँ स्याउ फल्ला भन्ने कल्पना पनि थिएन, अहिले चकित पार्ने गरी सानै बोटमा फल्यो, स्याउ फलेपछि गाउँका धेरैलाई आश्चर्य बनाएको छ,” उहाँले भन्नुभयो, “यो ठाउँ खानेपानीको अभाव भएको ठाउँ हो, वर्षौँदेखि खानेपानी अभावमा गुज्रिएका हामीहरुलाई स्याउ उत्पादन हुने लक्षण देखिएपछि नयाँ आश पलाएको छ, यहाँको मुख्य समस्या पानी हो, उत्पादनका हिसाबले यहाँ स्याउलगायत धेरै फलफूल तथा तरकारी फलाउन सकिन्छ ।”

कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनमगरले जिल्लामा स्याउ खेती विस्तारका लागि ज्ञान केन्द्रबाट कृषकलाई प्रोत्साहन गरेको र उन्नत जातका स्याउका बिरुवासमेत वितरण गर्दै आएको बताउनुभयो । स्याउ खेतीप्रति किसानले चासो देखाएपछि ज्ञान केन्द्रले यस वर्ष २५ सय बढी बिरुवा वितरण गरेको छ । उहाँका अनुसार हाल बागलुङमा ८० हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदै आएको छ । यसमध्ये ५५ हेक्टरमा लगाइएका स्याउका बोटले उत्पादन दिएको उहाँ बताउनुहुन्छ । जिल्लाको माथिल्लो क्षेत्रमा स्याउ खेतीका लागि हावापानी उपयुक्त भएकाले हरेक वर्ष जिल्लामा खेती गर्ने किसानको सङ्ख्या पनि बढ्दो छ । यस वर्ष अघिल्लो वर्षको तुलनामा स्याउ उत्पादन बढ्ने किसानहरुले आशा गरेका छन् । रासस