४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहितसहित सबै खेलाडी यो–यो टेस्टमा पासः कोहली शीर्षस्थानमा



अ+ अ-

एजेन्सी । एसिया कपका लागि भारतीय टोलीको क्याम्प बिहीबार बेंगलुरुमा सुरु भएको छ । शिविरको पहिलो दिन खेलाडीहरुको यो–यो टेस्ट गरिएको थियो ।

भारतीय कप्तान रोहित शर्मा, उपकप्तान हार्दिक पाण्ड्या र विराट कोहली लगायत सबै खेलाडीले यो–यो टेस्ट पास गरेका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार, विराट कोहली, जसलाई टीम इन्डियाका सबैभन्दा फिट खेलाडी भनिन्छ, सबैभन्दा धेरै अंक बनाएर सूचीको शीर्ष स्थानमा छन् । उनले १७.२ अंक जोडे । यद्यपि यो–यो टेस्टको बारेमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले कुनै आधिकारिक बयान जारी गरेको छैन ।

एजेन्सीले एक स्रोतलाई उद्धृत गर्दै भनेको छ कि पहिलो दिन शिविरमा सहभागी खेलाडीहरूको यो–यो टेस्ट गरिएको थियो। बीसीसीआईले फिटनेस मापदण्डलाई १६.५ मा सीमित गरेको छ । विराटले सर्वाधिक १७.२ अंक बनाए । सबै खेलाडीको यो–यो रिपोर्ट छिट्टै बीसीसीआईलाई बुझाइनेछ ।

विराटले बिहीबार इन्स्टाग्राममा यो–यो टेस्टको स्टोरी पोस्ट गर्दै उनले १७.२ अंक ल्याएको लेखेका छन् ।

के हो यो–यो टेस्ट ?
यो यो टेस्ट खेलाडीको फिटनेस र स्ट्यामिना जाँच गर्न गरिन्छ । यो परीक्षण पूर्णतया प्रविधिको सहयोगमा लिइन्छ । भारतमा, यो परीक्षण राष्ट्रिय क्रिकेट एकेडेमी, बैंगलोरमा गरिन्छ किनभने यो सफ्टवेयर त्यहाँ स्थापित छ ।

यो यो टेस्ट एक सफ्टवेयर आधारित परीक्षण हो । यसमा २० मिटरमा कोन राखिएको हुन्छ जसमा खेलाडीले दौडनुपर्छ । यो यो परीक्षण बीप परीक्षणको भिन्नता हो र यसलाई डेनिस फुटबल फिजियोलोजिस्ट जेन्स ब्याङ्स्बोले विकास गरेका हुन् ।

यो यो परीक्षामा २३ लेवलहरू हुन्छन् । खेलाडीको परीक्षण पाँचौं तहबाट सुरु हुन्छ । पाँचौं र नवौं स्तरमा एउटा शटल हुन्छ भने ११औँ गति स्तरमा दुईवटा शटल छन् । खेलाडीले प्रत्येक शटलको बीचमा ४० मिटरको दुरी पार गर्नुपर्नेछ । जुन विभिन्न स्तरहरूमा विभिन्न गतिमा हुन्छ । स्तर बढ्दै जाँदा समय घट्दै जान्छ । खेलाडीले दुई शटलहरू बीचको दूरी कभर गर्न १० सेकेन्ड पाउँछ ।

१२ औं र १३ औं गति स्तरमा पुग्दा, शटलहरूको संख्या ३ मा बढ्छ । यो–यो परीक्षाको अन्तिम स्तर २३ औं हो । अहिलेसम्म कुनै पनि खेलाडी यसको नजिक पुग्न सकेका छैनन् ।

सेप्टेम्बर ३० देखि पाकिस्तान र श्रीलंकामा सुरु हुने एसिया कपको लागि बिहीबारदेखि बैंगलोरको कर्नाटक क्रिकेट संघको क्रिकेट एकेडेमीमा खेलाडीहरूको क्याम्प सुरु भएको छ । भारतले सेप्टेम्बर २ बाट श्रीलंकामा पाकिस्तानविरुद्धको खेल खेल्दै एसिया कपमा आफ्नो अभियान सुरु गर्नेछ ।

६ दिने यस शिविरमा एसिया कपमा सहभागी १८ खेलाडीमध्ये पहिलो दिन मात्र १४ खेलाडी शिविरमा सहभागी भएका थिए । सोही क्रममा आयरल्याण्ड टुरबाट तीन खेलाडी बेङ्लुरु राति नै पुगेका थिए ।

एजेन्सीका अनुसार आयरल्याण्ड भ्रमणमा रहेको टी–२० सिरिजका लागि टिम इन्डियाका कप्तान जसप्रीत बुमराह, प्रसिद्ध कृष्णा, सञ्जु सामसन र तिलक वर्मालाई यो–यो टेस्टबाट छुट गरिएको छ । यद्यपी यी चारै खेलाडीले क्याम्पको अभ्यास सत्रमा भाग लिनेछन् ।

बुमराह र प्रसिद्ध कृष्ण आयरल्याण्ड भ्रमणबाट टोलीमा फर्किएका छन् । बुमराह ढाडको समस्याका कारण करिब ९ महिना टिम बाहिर थिए । उनी गत वर्षको एसिया कप र टी–२० विश्वकपमा पनि टोलीमा थिएनन् ।

यस वर्षको मार्चमा उनको ढाडको शल्यक्रिया गरिएको थियो र राष्ट्रिय क्रिकेट एकेडेमीमा डाक्टरहरूको निरीक्षणमा रिह्याव गर्दै थिए । जबकि प्रसिद्ध कृष्णले आफ्नो अन्तिम ओडीआई गत वर्ष अगस्टमा जिम्बावेविरुद्ध खेलेका थिए । त्यसपछि उनको स्ट्रेस फ्र्याक्चरको शल्यक्रिया गरिएको थियो ।

केएल राहुलको फिटनेसलाई शिविरभरि नजिकबाट निगरानी गरिनेछ । राहुल एसिया कपको टोलीमा छनोट भएका छन् तर सानो चोटले उनलाई एसिया कपको कम्तिमा पनि पहिलो दुई खेल खेल्न नसक्ने अवस्थामा पुर्याएको छ । मुख्य चयनकर्ता अजित आगरकरले सोमबार टोली घोषणा गर्न पत्रकार सम्मेलनमा यो कुरा पुष्टि गरेका हुन् ।

यद्यपि, राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) को मेडिकल टीम राहुलको ब्याटिङबाट खुसी छ तर उनको विकेटकिपिङलाई सावधानीपूर्वक निगरानी गरिरहेको छ । उनले गत साता एनसीएमा अभ्यास खेलपछि पिडाको गुनासो गरेका थिए ।

जबकि श्रेयस अय्यर पूर्ण रूपमा फिट र कमब्याक गर्न तयार छन् । श्रेयस मार्चपछि पहिलो पटक टीम इन्डियाको क्याम्पको हिस्सा हुनेछन् । मार्चमा अस्ट्रेलियाविरुद्धको सिरिजमा घाइते भएका उनी त्यसपछि घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा छन् ।