२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजसंस्थाको एजेन्डामा फर्किए कमल थापा(कार्यपत्रसहित)



अ+ अ-

काठमाडौँ । करिब डेढ वर्षपछि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल पुन: राजसंस्था पुन:स्थापनाको एजेन्डामा फर्किएको छ ।

पार्टीको केन्द्रीय समिति बैठकले आज यस विषयमा औपचारिक निर्णय लिने भएको छ । पार्टी अध्यक्ष कमल थापाले बैठकमा कार्यपत्र प्रस्तुत गर्दै ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र’ राप्रपा नेपालको मुलभूत विचार हुने उल्लेख गर्नुभएको छ ।

राजसंस्थाको पुन:स्थापना राप्रपा नेपालको मुख्य कार्यनीतिक एजेन्डामध्ये एक हुने उहाँले बताउनुभएको छ ।

उहाँका अनुसार गणतन्त्र र धर्मनिरपेक्षता खारेजीका लागि राप्रपा नेपाल बलियो राष्ट्रिय मोर्चा बनाएर सडक आन्दोलनमा जाने छ । थापाले यसलाई ‘तेस्रो जनआन्दोलन’ को संज्ञा दिनुभएको छ ।

उहाँले भन्नुभएको छ, “नेपाली संस्करणको मौलिक प्रजातन्त्र स्थापनाको निम्ति नेपाली जनताद्वारा, नेपाली जनताको निम्ति नेपाली जनताको आन्दोलन नै तेस्रो जनआन्दोलन हो ।”

अध्यक्ष थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्टतन्त्र अन्त्य गर्न सहमत हुने राजनीतिक समूह र दलहरूसँग सहकार्य र एकताको निम्तिसमेत अपील गर्नुभएको छ । थापाको उक्त कार्यपत्र आजको बैठकले पारित गर्नेछ । बैठकपछि दिउँसो २ बजे घोषणासभा राखिएको पार्टी प्रवक्ता राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

यसअघि राप्रपा नेपालले राजसंस्थासम्बन्धी पार्टीको नीतिमाथि पुनर्विचारका लागि एक समिति गठन गरेको थियो । उक्त समितिले राजसंस्था पुन:स्थापनालाई नै पार्टीको प्रमुख एजेन्डा बनाउन सुझाव दिएको छ । हिजो सुरू भएको केन्द्रीय समिति बैठकमा कार्यदलले सो सुझावसहितको प्रतिवेदन पेश गरेको हो ।

समितिले देशको भूराजनीतिक अवस्थाको वस्तुगत समीक्षासहित पार्टीले राजसंस्थाको एजेन्डालाई नै आत्मसात गरेर जानुपर्ने सुझाव दिएको छ । प्रतिवेदनमा देशमा वैदेशिक हस्तक्षेप बढेको भन्दै एउटा अभिभावक संस्था अत्यावश्यक भएको उल्लेख छ । प्रतिवेदनमा राजसंस्थाको पुन:स्थापनाको एजेन्डा त्याग्दा पार्टीले गति समात्न नसकेको विश्लेषणसमेत गरिएको छ । यही प्रतिवेदनलाई समेट्दै अध्यक्ष थापाले कार्यपत्र प्रस्तुत गर्नुभएको हो ।

यसअघि पार्टी गठन हुँदा राप्रपा नेपालले धर्मनिरपेक्षता खारेज गरी हिन्दू राज्यको पुन:स्थापना गर्नुपर्ने विषयलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै आएको थियो । राजसंस्था पुन:स्थापनको एजेन्डालाई भने परित्याग गरेर गणतन्त्रलाई स्वीकार गर्ने निर्णय पार्टीले लिएको थियो । यद्यपि पार्टीभित्र राजसंस्थाको एजेन्डा त्याग्दा गएको चुनावमा निराशाजनक परिणाम प्राप्त भएको विश्लेषण गरिएको छ ।

राप्रपा-नेपाल-केन्द्रिय-कार्यसमितिको-बैठकमा-प्रस्तुत-राजनीतिक-कार्यपत्र-२०८०-भाद्र-७