४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सिन्धुलीका युवा व्यावसायिक ड्रागन खेतीतर्फ आकर्षित

सिन्धुलीका युवा व्यावसायिक ड्रागन खेतीतर्फ आकर्षित
अ+ अ-

कमलामाई । बाटो पहिल्याउन सके गाउँकै माटोमा पसिनाअनुसारको पैसा भेटिन्छ । टिप्न मिहेनत र परिश्रम गर्नुपर्छ, काम खोज्दै देश–विदेश भौँतारिरहनु पर्दैन, सिन्धुलीको दुधौली नगरपालिका–६ हर्षाही, बताहीका भरत काफ्लेलाई यसैको ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ ।

उहाँले आफ्नै ठाउँमा बसेर गुणस्तरीय ड्रागन फलको फल र बिरुवा उत्पादन गर्नुहुन्छ । यसले पाँच जनाको काफ्ले परिवारलाई स्वरोजगार बनाएको छ । व्यावसायिक कृषि कर्मले एउटा परिवारलाई स्वरोजगार मात्रै होइन, देश नै समृद्ध बन्ने बुझाइ भएका काफ्ले परिवारले आकर्षक आम्दानी पनि गरिरहेका छन् ।

“यस वर्ष थोक मूल्यमा प्रतिकिलो पाँच सयका दरले छ चरणमा २० क्विन्टल फल बेच्दा रु १० लाख र बिरुवा बेचेर रु तीन लाख आम्दानी भइसकेको छ । चार हजार बिरुवा ग्राहक पर्खिएर नर्सरीमा बसिरहेका छन्,” युवा किसान काफ्ले भन्नुभयो । बितेको दुई वर्षमा आठ कट्ठाबाट उत्पादन भएको फल बेचेर रु १३ लाख आम्दानी भएको उहाँले बताउनुभयो । काफ्ले परिवारको १८ कट्ठामा ड्रागन फ्रुटको खेती छ । नौ सय ३० ओटा पोलमा तीन हजार पाँच सय बिरुवा रोपिएको छन् । अहिले नौ सय बोटले फल दिइरहेका छन् । बिरुवा रोपेको पछिल्लो वर्षदेखि प्रतिबोटले वार्षिक १७ पटकसम्म उत्पादन दिने गरेको छ । उहाँले भन्नुभयो, “जेठदेखि कात्तिकसम्म महिनाको तीन पटकसम्म टिप्न सकिन्छ । रोपेको पहिलो वर्ष प्रतिबोट आठ किलोसम्म उत्पादन भएकोबाट बिरुवा रोपेको तेस्रो वर्षबाट प्रतिबोट ४५ किलोसम्म उत्पादन भइराखेकोे छ ।”

युवा किसान काफ्लेले प्रतिबिरुवा रु चार सय ५० मा किनेर रोपेको भए पनि उहाँले अहिले प्रतिबिरुवा रु दुई सयमा बिक्री गर्दै आउनुभएको छ । तीन वर्षअघि आफ्नो ठाउँको वातावरणमा सुहाउँदो जातको तीन सयवटा बिरुवा रोप्नु भएको थियो । बिरुवा रोपेको पछिल्लो वर्षदेखि ड्रागन फल फल्न थाल्यो । दुई वर्षमा रु १३ लाख आम्दानी भएपछि काठमाडौँमा खाद्यान्न पसल गरिरहेका काफ्लेलाई गाउँमै फर्किएर खेती विस्तार गर्न प्रेरित गर्‍यो ।

पसल सुरु गरेको दुई महिना बित्न नपाउँदै कोरोना कहरले कारोबार ठप्प भएपछि छोडेर गाउँ फर्किनुभएका काफ्लेलाई फेरि काठमाडौँ फर्किन मन लागेन । दुई वर्षदेखि उहाँ व्यावसायिक ड्रागन फल खेतीमा रमाइरहनु भएको छ । सुरुमा खेती लगाउन अलि खर्चिलो भए पनि बर्सेनि आम्दानी बढ्दै जाने भएकाले यो व्यवसायमा निराश हुनु नपर्ने उहाँको भनाइ छ ।

कृषि ज्ञान केन्द्र सिन्धुलीबाट रु दुई लाखको अनुदान लिएर दुई सय पोल थप्नुभएको उहाँले यसै वर्ष डेढ बिगाहमा खेती विस्तार गर्न लागेको बताउनुभयो । उहाँका अनुसार एक पटक रोपेको बिरुवाको आयु २५ वर्षभन्दा धेरै हुन्छ । ड्रागन फलको एक सय ५३ प्रजातिको हुन्छन् । उहाँले रेड सायन जातको ड्रागन खेती विस्तार गरिरहनु भएको छ ।

व्यावसायिक ड्रागन फल खेती विस्तारदेखि बजारमा पुर्‍याउनेसम्मका धेरैजसो काम पाँच जनाको परिवारले धानेको छ । ड्रागन फलको बिरुवा उत्पादन, माटो तयार, रोप्ने तरिकादेखि उत्पादित फल र बिरुवाको बजारीकरणका सम्बन्धमा बुझ्न तथा अवलोकनका लागि कतिपय ठाउँबाट उहाँको मेहनती बहुउद्देश्यीय कृषि फर्म पुग्ने गर्दछन् । युट्युब र गुगलमा अध्ययन गरेकै भरमा पहिलोपटक दुधौलीमा ड्रागनको खेती सुरु गर्नुभएका युवा किसान काफ्ले यस खेतीका सम्बन्धमा तालिम नै दिन सक्ने हुनुभएको छ ।

ड्रागन खेती सुरु गर्दाको पहिलो सङ्घर्ष सुनाउँदै उहाँले भन्नुभयो, “आफूहरुले गोरु नपालेको र ट्र्याक्टरले जोतेर खेती गर्न बाटो नभएकाले छ कट्ठा खेत बाँझै बस्थ्यो । जोत्न नपर्ने र एक पटक रोपेपछि २५ वर्षभन्दा बढी ढुक्क हुने ड्रागन खेतीका बारेमा युट्युब र गुगलमा सर्च गरेर अध्ययन गरी काभ्रेको पात्ले खेतमा भेषमान श्रेष्ठले लगाएको खेती हेरेँँ र आफूले पनि सुरु गरेँँ ।” त्यसपछि अनलाइन फारम भरेर हैदरवादसम्म पुगेर दुईमहिने तालिम लिएपछि व्यावसायिक रुपमा खेती सुरु गरेको उहाँको भनाइ छ ।

वातावरणमा अनुकूलताका आधारमा ड्रागनको जात पहिचान नगरी खेती गर्नाले कतिपय किसानको व्यवसाय घाटामा गएकाले गुणस्तरीय जातको बिरुवा ठाउँको हावापानी र माटोअनुसार मिल्दो पहिचान गर्न उहाँको सुझाव छ । उहाँका अनुसार आफूले बेच्ने गरेको ड्रागनले बिरुवा रोपेको १३ महिनामा फल दिन सुरु गर्छ । उहाँले वार्षिक रु छ लाखको बिरुवा बिक्री गर्दै आउनुभएको छ ।

उहाँको फर्ममा उत्पादन भएका फल र बिरुवा जिल्लाको स्थानीय तथा बाहिरी जिल्ला काभ्रे, भक्तपुर, ललितपुर र काठमाडौँका बजारहरुमा बिक्री हुँदै आएको छ । समयको मागअनुसार आधुनिक प्रविधिलाई पछ्याउँदै व्यावसायिक कृषि गरेर बजारको अभाव पूर्ति गर्न सके आफ्नो ठाउँको माटोमै मनग्य आम्दानी र कैयौँ अवसरहरु रहेका किसान युवा काफ्लेको बुझाइ छ ।

सरकारी, गैरसरकारी निकाय तथा सामाजिक रुपमा पनि किसान र कृषि पेसालाई हेपाइको दृष्टिले हेरिने भएकाले युवा पुस्तामा खेती, किसानी कर्ममा आकर्षण नभएको उहाँले बताउनुभयो । व्यावसायिक कृषिले मात्र समृद्ध नेपाल बन्ने भएकाले सरकारले देशका बेरोजगार युवालाई कृषिमा आकर्षित गर्ने तथा दिगो रुपमा व्यावसायिक खेती गर्न सहयोग गर्ने खालका कार्यक्रममा जोड दिनुपर्ने उहाँको सुझाव छ ।

पछिल्लो समय ड्रागन फल उत्पादनमा विशेषगरी जिल्लाका पढेलेखेका युवाहरु पनि आकर्षित भएका छन् । कृषि ज्ञान केन्द्र सिन्धुलीका सूचना अधिकृत श्रीकृष्ण अधिकारीले स्वादिष्टसँगै स्वास्थ्यवद्र्धक र बहुपयोगी फल ड्रागन जिल्लाका सबै स्थानीय तहहरुमा बिस्तारै फस्टाउँदै गएको र आवश्यक प्राविधि सहयोग प्रदान गरिँदै आएको बताउनुभयो । रासस