२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन निकुञ्जभित्र राप्तीमा नयाँ पुल बन्ने



अ+ अ-

भरतपुर । चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने भएको छ । भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत भरतपुर महानगरपालिका–२३ स्थित ध्रुवघाटबाट निकुञ्ज जोड्ने पुल निर्माण गर्न लागिएको हो । विसं २०१४ देखिको पुरानो बाटो सञ्चालन गर्नका लागि पुल निर्माण गर्न लागिएको चितवन क्षेत्र नं ३ का सांसद विक्रम पाण्डेले जानकारी दिनुभयो । पुल निर्माणका लागि अहिले बजेटसमेत विनियोजन भएको उहाँले बताउनुभयो ।

“अहिले सर्भेलगायतका कामका लागि बजेट विनियोजन भएको छ”, उहाँले भन्नुभयो, “अब बहुवर्षीय योजनाअन्तर्गत पुल निर्माणका लागि बजेट विनियोजन हुनेछ ।” सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले सर्भेको काम सम्पन्न गरेर डिजाइनको काम गरिरहेको सांसद पाण्डेले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जको कसराबाट रिउसम्म ११ किलोमिटर कच्ची सडक रहेको छ । पुल निर्माण भएसँगै भरतपुर र माडी जोड्ने सडकको दूरी निकुञ्जमा मात्रै तीन दशमलव नौ किलोमिटर छोटो हुने उहाँले बताउनुभयो । नयाँ पुल निर्माण भएपछि चितवन राष्ट्रिय निकुञ्जको सुरक्षासँगै वन्यजन्तुलाई असर नपर्ने उहाँको भनाइ छ । पुल निर्माणसँगै निकुञ्जभित्र कालोपत्रसमेत गरिने छ ।

“अहिले कच्ची सडक हुँदा त्यस वरपरका बोटबिरुवा र वन्यजन्तुलाई समेत असर परेको छ”, उहाँले भन्नुभयो, “त्यसका लागि पनि यहाँ कालोपत्र गर्न जरुरी छ ।”

माडी जानका लागि कसरामा पुल निर्माण नहुँदासम्म धु्रबघाटको बाटो प्रयोग हुने गरेको थियो । भरतपुर २३ का वडाध्यक्ष दीपक दबाडीले ठोरीबाट रसुवासम्म नुन बोकेर जाने बाटो यही भएको जानकारी दिनुभयो । पुल निर्माण भएसँगै भरतपुर माडी यात्राका लागि सहज हुने उहाँले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले धु्रवघाटमा पुल निर्माणका लागि वन मन्त्रालयले स्वीकृति दिइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुल निर्माणका लागि २०७९ असोजमा मन्त्रालयले स्वीकृति दिएको हो, चाँडै पुल निर्माणको काम अघि बढ्छ ।”

निकुञ्जले वन्यजन्तुमैत्री पूर्वाधार बनाउनका लागि सुझावसमेत पेस गरेको भन्दै पुल निर्माण भए निकुञ्जलाई पनि फाइदा पुग्ने उहाँले बताउनुभयो । “अहिले कसरमा रहेको पुल जीर्ण अवस्थामा छ, पुल साँघुरो भएका कारण दोहोरो सवारीसाधन सञ्चालन गर्न मिल्दैन”, उहाँले भन्नुभयो । हुलाकी सडकअन्तर्गत राप्तीमा एउटा पुल आवश्यक रहेको र त्यसमा पनि ध्रुबघाट उपयुक्त देखिएको सूचना अधिकारी तिवारीले बताउनुभयो । रासस