४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘लम्पी स्किन’ रोगविरुद्धको खोप अभाव

‘लम्पी स्किन’ रोगविरुद्धको खोप अभाव
अ+ अ-

बेदकोट । कञ्चनपुरको ग्रामीण क्षेत्रका पशुचौपायामा लम्पी स्किन रोगको समस्या फैलिरहँदा खोपको अभाव देखिएको छ । नौवटै स्थानीय तहका पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण दिनहुँ बढिरहेको भए पनि त्यसविरुद्ध लगाइने खोपको अभाव छ ।

केही महिनायता पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण बढ्दै गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका निमित्त प्रमुख महेन्द्रराज पाण्डेयले जानकारी दिनुभयो । “हामीलाई खोपको अभाव छ, त्यसैले खोप लगाउन सकेका छैनौँ, कार्यालयमा आउने किसानलाई पशुमा देखिएको लक्षणका आधारमा औषधि दिइरहेका छौँ”, उहाँले भन्नुभयो, “सङ्क्रमित पशुको उपचार भइरहेको छ ।”

खोपको उपलब्धताका लागि पहल भइरहेको उहाँको भनाइ छ । सङ्क्रमणले पशुचौपाया मर्न थालेपछि स्थानीय किसान चिन्तित बनेका छन् । “ज्वरो आउने, र्याल बगाउने, शरीरमा गिर्खा आउने, खुर पाक्नेलगायत लक्षण देखिन्छन्, अन्तिममा पशुको मृत्यु हुन्छ”, भीमदत्त नगरपालिका–१३ का प्रमानन्द भट्टले भन्नुभयो, “यस्तै लक्षण देखिएपछि केही महिनाअघि रु ५० हजारमा किनेको भैँसी मर्यो, अहिले गोठ रित्तो छ ।”

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको तथ्याङ्कअनुसार यहाँका करिब तीन हजारभन्दा बढी पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण देखिएको छ । दैनिक २०–२५ पशुचौपायामा सङ्क्रमण देखिने गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका निमित्त प्रमुख पाण्डेयले बताउनुभयो ।

उहाँका अनुसार अहिलेसम्म जिल्लामा लम्पी स्किनको सङ्क्रमणका कारण दुई सय पशुचौपाया मरेका छन् । सबैभन्दा बढी भीमदत्त, बेदकोट र पुनर्वास नगरपालिकामा सङ्क्रमण देखिएको निमित्त प्रमुख पाण्डेयले बताउनुभयो । गाईगोरुमा लम्पी स्किनको सङ्क्रमण देखिएसँगै मर्न थालेपछि किसान चिन्तित बनेका छन् । किसान बजारबाट खोप खरिद गरेर चौपायालाई लगाइरहेका छन् ।

“लम्पी स्किनको सङ्क्रमण गाउँमा फैलिएको छ, यो सङ्क्रमणले चौपायाको मृत्यु भइरहेको सुनेपछि सुरक्षित राख्न पशुचौपायालाई खोप लगाएँ”, बेदकोट नगरपालिकाका मनोज जोशीले भन्नुभयो, “बजारमा खोप पाइँदैन, पाइहाले पनि निकै महँगो छ ।” सङ्क्रमणविरुद्धको खोप महँगो हुनाले विपन्न किसानलाई लम्पी स्किनबाट पशुचौपाया जोगाउनै धौधौ परेको छ ।

लक्षण देखिएका पशुचौपायालाई छुट्टै ठाउँमा राखेर सरसफाइका साथै औषधोपचारमा विशेष ध्यान दिनुपर्नेमा पुनर्वास नगरपालिकाको पशु सेवा शाखा अधिकृत अनिता केसीले जोड दिनुभयो । “औषधोपचारबाट पनि धेरै सङ्क्रमित चौपाया निको भएका छन्, तर केही समय लाग्ने गरेको छ, औषधोपचारमा विशेष ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “अहिले हामीले सङ्क्रमण देखिएको चौपायाको उपचार गर्ने कार्य गरिरहेका छौँ ।” रासस