४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

जानकी आँखा अस्पताल : पैसाको अभावमा उपचारबिना फर्किनुपर्दैन

जानकी आँखा अस्पताल : पैसाको अभावमा उपचारबिना फर्किनुपर्दैन
अ+ अ-

जनकपुरधाम । जानकी आँखा अस्पतालले मधेस प्रदेशमा मात्र नभई सीमावर्ती भारतीय नागरिकलाई समेत आफ्नो सेवा पुर्‍याएको छ ।

यसरी धेरैले सम्झिनलायक आँखा अस्पताल बनाउनमा वरिष्ठ समाजसेवी नरेशप्रसाद सिंहको योगदान अथक रहेको छ । उहाँ विगत ४१ वर्षदेखि अस्पताल भौतिक पूर्वाधारलगायत अन्य क्षेत्रको श्रीवृद्धिमा अनवरत मिहिनतका साथ लागिरहनुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी धनुषा र जानकी आँखा अस्पताल विकास समितिका अध्यक्षसमेत रहनुभएका समाजसेवी सिंहले भन्नुभयो, “सन् १९८२ मा भिन्न परिवेशमा यो अस्पताल स्थापना भयो । अस्पतालले यो स्तरमा आफ्नो पहिचान बनाउने कुरा धेरैले कल्पना गरेका थिएनन् । तत्कालीन समयमा जनकपुर क्षेत्रमा अन्धोपन निवारण र आँखाका बिरामीका लागि केही सहयोग गर्ने उद्देश्यले आँखा शिविरलाई संस्थागत स्वरुप दिन उपचार केन्द्रका रुपमा सेवा सञ्चालन गरिएको थियो ।”

जानकारका अनुसार सन् १९५९ देखि वर्षको एकपटक आँखा शिविर सञ्चालन गरी समस्या समाधान गर्ने ध्येयले जनकपुरमा सुरु भएको अभियानले संस्थागत उपचार सेवा / केन्द्रको स्वरुप ग्रहण गर्न करिब २० वर्ष लागेको थियो ।

विसं २०३८ चैत १७ गते प्रतिष्ठित समाजसेवी मकेश्वरप्रसाद सिंह नेतृत्वमा गठित समितिको सोच, योजना र पहलकदमीबाट सुरुआत भएको यो अस्पतालले कालान्तरमा गुणस्तरीय सेवाप्रवाह र आँखा स्वास्थ्यबारे गाउँगाउँमा फैलाएको चेतनाका कारण जनविश्वास आर्जन गरेको उहाँहरुको बुझाइ छ ।

“तत्कालीन समयमा आँखा स्वास्थ्य समस्याअर्थात् अन्धोपन निवारणका लागि नेपालका अरु भूभागमा जस्तै जनकपुरमा पनि आँखा शिविरलाई बृहत्स्वरुप दिई त्यसैलाई संस्थागत गरिएको हो”, अध्यक्ष सिंहले भन्नुभयो, “स्थानीय समाजसेवीको पहलकदमीमा रेडक्रसले पनि सहयोग एवं साझेदारी गरेपछि जानकी आँखा उपचार केन्द्रको संस्थागत विकास भएको देखिन्छ ।”

अस्पतालका निर्देशक डा आशिष बोहराले पनि वर्षमा एउटा शिविर सञ्चालन गर्नसमेत दाताबाट चन्दा सङ्कलन गर्नुपर्ने बाध्यताबाट मुक्तिका लागि अस्पतालको स्थापना भएको र त्यसमा यहाँका थुप्रै अग्रज तथा सरोकारवालाको योगदान स्मरणीय रहेको बताउनुभयो । उहाँले केही रकम तिर्नसक्ने बिरामीबाट न्यूनतम शुल्क लिएर बाँकी बिरामीकै लागि खर्च गर्ने सिद्धान्तअनुसार आज पर्यन्त सेवा प्रवाह भइरहेको जानकारी दिनुभयो ।

तत्कालीन समयमा सामाजिक सेवामा समर्पित अगुवा मकेश्वरप्रसाद सिंह, बौएलाल साह, मेघप्रसाद उपाध्याय, जयवल्लभ दास, मदन गिरी, सर्वोच्च अदालतका पूर्वन्यायाधीश राम नगिना सिंह, वरिष्ठ अधिवक्ता रामजीप्रसाद मैनालीलगायतको विशेष योगदानका कारण यो पवित्र कार्यले मूर्तरुप लिएको निर्देशक डा बोहराको भनाइ छ ।

अस्पताल प्रशासन शाखा प्रमुख दीपेन्द्रकुमार सिंहले दिएको जानकारीअनुसार सुरुमा जनकपुरको पूरानो बसपार्क नजिक समाजसेवी लक्ष्मणप्रसाद साहले दिनुभएको दुई कट्ठा जमिन र तीन कोठे कच्ची घरबाट आँखा उपचार सेवा सुरु भएको थियो । पछि जनकपुरधाम–८, रामानन्द चोक (हाल अस्पताल रहेको स्थान) नजिकै गुठी संस्थानबाट प्राप्त एक बिघा, १३ कट्ठा, नौ धुर र केन्द्रले खरिद गरेको चार कट्ठा जमिनमा रहेको संरचनाबाट अस्पतालले सेवा विस्तार गर्‍यो । सन् १९९१ मा स्वीस् रेडक्रसको आर्थिक तथा प्राविधिक सहयोगपछि २५ शय्याको अस्पतालमा रुपान्तरित भएकोमा हाल एक सय शय्या क्षमतामा सेवा प्रवाह भइरहेको उहाँले बताउनुभयो ।

“आँखा शिविरबाट आँखा उपचार केन्द्रमा रुपान्तरण भई सेवा सुरु गरेको अस्पताल हाल एकसय शय्यामा सञ्चालित छ । अहिलेकै संरचना र शय्याले बिरामीको चाप धान्न मुस्किल भइरहेको छ”, उहाँले भन्नुभयो, “आर्थिकरुपमा कमजोर, विपन्न नागरिकले पैसाकै अभावमा उपचारबिना फर्केर जानुनपर्ने अवस्था सुनिश्चित गरिएको छ । यसमा सरकारको पनि केही सहयोग रहेमा सेवामा थप प्रभावकारिता ल्याई नागरिकको माग सम्बोधन र बिरामीको चापलाई धान्न सकिन्छ ।”

एक्काइस लाखभन्दा बढी लाभान्वित

अस्पताल स्थापना भएयता ४१ वर्षमा २१ लाख ६२ हजार चार सय २९ नागरिक बहिरङ्ग ९ओपिडी० सेवाबाट लाभान्वित भएको र दुई लाख दुई हजार २२ जनाले शल्यक्रिया सेवा लिएको अस्पतालको तथ्याङ्क छ ।

“शिविरबाट कति जना लाभान्वित भए भनेर यकिन तथ्याङ्क छैन तर अस्पतालको ओपिडी सेवा लिनेको सङ्ख्या हालसम्म २१ लाख ६२ हजारभन्दा बढी छ”, अस्पताल निर्देशक डा बोहरा भन्नुहुन्छ, “सीमित स्रोतसाधन, दक्ष जनशक्तिको अभाव र अन्य समस्याका बाबजुत अस्पतालले दृष्टिविहीनमा दृष्टि र आम नागरिकमा खुसी फर्काउन एकसाथ काम गरिरहेको छ ।”

समितिका अध्यक्ष सिंहले जनकपुरमा सरकारी अस्पतालमा आँखा विभाग र अरु सात अस्पताल सञ्चालनमा रहे पनि धेरै नागरिकले सर्वसुलभ र गुणस्तरीय सेवा दिएकै कारण अस्पतालप्रतिको आकर्षण निरन्तर बढिरहेको बताउनुभयो ।

आँखा उपचारबाहेक बर्सेनि यस क्षेत्रका एकसय विद्यालयमा आँखा स्वास्थ्यबारे सचेतना, एकसय स्वास्थ्य स्वयंसेविकालाई प्राथमिक आँखा उपचारबारे जानकारी दिनुका साथै विगत सात वर्षदेखि करिब चार सय धामीझाँक्रीलाई शिक्षा दिने काम पनि भएको विवरण छ ।

अस्पतालले तीन तरिकाबाट नागरिकलाई सेवा दिइरहेको छ । मुख्य अस्पताल जनकपुरबाट दैनिक शल्यक्रिया, अन्तरङ्ग, बहिरङ्ग, आकस्मिक सेवा, छ वटा शाखाका रुपमा रहेका मातहतका सामुदायिक आँखा उपचार केन्द्र ९महोत्तरीको गौशाला, धबौली, धनुषाको यदुकुवा, सबैला, सल्र्लाहीको लालबन्दी र सिन्धुलीको सिन्धुलीगढी० बाट समेत थप सेवा प्रवाह भइरहेको छ । तीमध्ये सिन्धुली, लालबन्दी, यदुकुवा र धबौलीलाई शल्यक्रिया केन्द्रको रुपमा समेत विकास गरिएको छ ।

त्यसैगरी सामान्यत: प्रतिवर्ष एकसय आँखा शिविर सञ्चालन गरी आँखा उपचार तथा शल्यक्रियाको काम भइरहेको अस्पतालका सूचना अधिकारी एवं बाह्य कार्यक्रम इञ्चार्ज रुदलप्रसाद साहले जानकारी दिनुभयो । यसरी सञ्चालन हुने शिविरबाट पहिचान भएका समस्याका आधारमा तत्काल र पछि जनकपुर अस्पताल ल्याएर शल्यक्रियालगायतका सेवा नि:शुल्क प्रदान गर्ने गरिएको सिंहले बताउनुभयो ।

“यो अस्पतालको सुरुआत नै शिविरबाट भएको हो । त्यसलाई निरन्तरता दिइरहेका छौँ । जसबाट जनकपुर र अन्य ठाउँमा गई उपचार गर्न नसक्ने ग्रामीण क्षेत्रका लाखौँ नागरिक लाभान्वित भएका छन्”, उहाँले भन्नुभयो ।

स्रोत अभावले विशिष्टकृत सेवा विस्तारमा समस्या

यस अस्पतालले विशेष गरी धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र छिमेकी जिल्लाका साथै सीमावर्ती भारतीय नागरिकलाई पनि सेवा दिइरहेको छ । करिब तीसदेखि चालिस प्रतिशत भारतीय नागरिक उपचारका लागि यहाँ आउने गरेको अस्पतालको तथ्याङ्क छ ।

अस्पतालबाट सामान्य अवस्थामा दैनिक करिब सात सय र असामान्य अवस्थामा करिब १२ सयजति बिरामीले बहिरङ्ग सेवा लिने गरेको तर त्यसलाई धान्न भौतिक पूर्वाधार र दक्ष जनशक्तिको अभाव रहेको विकास समितिका अध्यक्ष सिंहको भनाइ छ ।

“नेपालीहरु टाउको दुखे पनि दरभङ्गालगायत भारतीय अस्पतालमा जाने परिपाटी छ तर आँखा उपचारका लागि भने भारतबाट धेरै मान्छे उपचारका लागि यहाँ आउँछन्, यो हाम्रो लागि गौरवको विषय हो । यदि अस्पताललाई थप व्यवस्थित, सुविधासम्पन्न बनाउनसक्ने हो भने अझ धेरै काम गर्न सकिन्छ तर हाम्रो मात्रै स्रोतले धेरै काम गर्ने अवस्था छैन”, सिंहले रासससँग भन्नुभयो ।

उहाँका अनुसार स्वीस् रेडक्रसको सहयोगमा धेरै पहिले बनेका बहिरंग विभाग तथा प्रशासनिक भवनबाट सेवाप्रवाह भइरहेको छ । त्यसबाहेक बिरामी तथा कुरुवालाई राख्ने पर्याप्त संरचना छैन । डाक्टरलाई आवासीय भवन छैन ।

प्रशासन शाखाले दिएको विवरणमा अस्पतालमा हाल ५५ जना कर्मचारी कार्यरत छन् । डा बोहराले नेतृत्व गरिरहेको अस्पतालमा डा अमित यादव र डा रञ्जना ठाकुर गरी तीन जना मात्रै डाक्टर छन् ।

दक्ष जनशक्ति र अन्य उपकरणको अभावमा ४१ वर्ष इतिहास भएको अस्पतालमा मोतिविन्दुबाहेक अन्य रोगको शल्यक्रिया सेवा विस्तार गर्नसकिएको छैन ।

“सेवा उपलब्ध गराउन भौतिक पूर्वाधार, प्रविधि र दक्ष जनशक्तिको अभाव छ । सुरुमा वार्षिक २५ सयलाई सेवादिने यस अस्पतालले हाल एक लाख २५ हजारलाई सेवा दिन्छ । सुरुदेखि नै हामीले मोतिबिन्दुको मात्रै शल्यक्रिया गरिरहेका छौ । बाँकी बिरामीलाई विराटनगर र काठमाडौं रेफर गर्नुपर्ने बाध्यता छ । त्यसकारण छिट्टै नै थप सेवा विस्तार गर्नुपर्ने आवश्यकता छ”, डा बोहराले भन्नुभयो ।

ठूलो सङ्ख्यामा भारतीय नागरिक पनि उपचारका लागि आउने भएकाले भारतीय पक्षबाट पनि आवश्यक सहयोगका लागि सहजीकरण गर्नुका साथै सङ्घ, प्रदेश र स्थानीय तहले पनि सेवा विस्तारका लागि सहयोग गर्न जरुरी रहेको अस्पताल विकास समितिका अध्यक्ष सिंहको निष्कर्ष छ ।

प्रशासन प्रमुख सिंह पनि आँखाजस्तो संवेदनशील अङ्गको बारेमा अब तीनै तहका सरकार संवेदनशील हुनपर्ने अन्यथा दाताको भरमा चल्नुपर्ने संस्था जतिसुकै बेला समस्यामा पर्नसक्नेतर्फ सरोकारवालाको ध्यानाकर्षण गराउनुहुन्छ ।

आवश्यक सहयोग प्राप्त भएमा मोतिविन्दु र मासु पलाएको सामान्य शल्यक्रियामा सीमित रहेको अस्पतालबाट विशिष्टीकृत सेवा दिन टेवा पुग्ने र यसले यस क्षेत्रका बिरामीलाई अन्यत्र रेफर गरी महँगो उपचार गर्नुपर्ने बाध्यताबाट समेत मुक्ति दिन सघाउने निर्देशक डा बोहराको विश्वास छ । उहाँ भन्नुहुन्छ, “विभिन्न समस्याका बाबजुत आँखा उपचारको भरपर्दो माध्यमका रुपमा अस्पताल परिचित छ । दाताबाहेक यसको थप विकास र विस्तारका लागि तीनै तहका सरकारबाट आवश्यक सहयोग र साझेदारी भएमा विशिष्टकृत सेवासहित यस क्षेत्रकै ‘रेफरल’ आँखा उपचार केन्द्र बनाउन सकिन्छ ।” रासस