४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सूर्यमुखी फूलको खेतीमा रमाउँदै मिलन

सूर्यमुखी फूलको खेतीमा रमाउँदै मिलन
अ+ अ-

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका मिलन राईले विसं २०७७ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नुभएको छ ।

खार्मीस्थित कालिका माध्यमिक विद्यालयबाट सोह्र वर्षको उमेरमा ‘ए’ ग्रेड ल्याएर एसइई उत्तीर्ण गर्नुभएका उहाँले घरको कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययन गर्ने मनस्थिति बनाउनुभएन ।

गाउँका अधिकांश परिवार वैदेशिक रोजगारीमा रहेकाले मिलनको रोजाइ पनि विदेश जाने नै रह्यो । मलेसिया जानका लागि आवश्यक कागजात बोकेर काठमाडौँ पुग्नुभएका उहाँले मेनपावर कम्पनीमा राहदानीसमेत बुझाउनुभयो । वैदेशिक रोजगारसम्बन्धी काम गर्दै आएका खोटाङकै केपिसालगढी गाउँपालिकाका कृष्ण राईलाई राहदानी बुझाउनुभएका मिलनलाई मेनपावर कम्पनीले रु तीन लाख ५० हजार धरौटी रकम लाग्ने सुनायो ।

नेपाल सरकारसँगको सम्झौताअनुसार ज्यामी काममा मलेसिया जान का लागि फ्रि भिजा, फ्रि टिकेट भनिए पनि मेनपावर कम्पनीले त्यतिका पैसा लाग्ने सुनाएपछि मिलनको सोच एकाएक बदलियो । अहिले भर्खर १९ वर्ष लाग्नुभएका मिलनले मेनपावर कम्पनीको कुरा सुन्नासाथ गाउँ फर्किएर आफ्नै ठाउँमा केही गर्ने सपना बुन्न थाल्नुभयो ।

आफ्नै गाउँमा केही गर्न सकिन्छ कि भन्ने बारेमा युट्युब खोतल्न थाल्नुभयो ।

परम्परागत खेती प्रणाली अपनाएर जीवन निर्वाह गर्दै आइएको खार्मीमा उहाँले व्यावसायिकरुपमा सूर्यमुखी फूलको खेती गर्ने निधो गर्नुभयो । मकै, कोदो र आलु खेती हुँदै आएको चार रोपनी जग्गामा सोलुखुम्बुबाट खरिद गरेर ल्याएको छ केजी सूर्यमुखी फूलको दल राखेर व्यावसायिक खेती सुरु गर्नुभयो ।

अहिले मिलनले लगाउनुभएको व्यावसायिक सूर्यमुखी फूल ढकमक्क फुलेको छ । सँधियारले आसपासको जग्गामा लगाएको मकै र कोदो फलिरहँदा मिलनको जग्गामा पँहेपुर भएर ढकमक्क फुलेको सूर्यमुखी फूलको खेती देख्दा रमित लाग्दो छ ।

युट्युबमा हेरेर बिना परीक्षण व्यावसायिकरुपमा सुरु गरिएको सूर्यमुखी फूलको खेती राम्ररी सप्रिएकाले आगामी वर्ष थप वृद्धि गर्ने तयारी गरिएको मिलनले बताउनुभो । “विदेश जाने सोच बनाएको थिए । फ्रि भिजा, फ्रि टिकेट भनिएको ठाउँमा पनि दलालहरुले ठग्दा रहेछन्”, उहाँले भन्नुभयो, “त्यतिका पैसा खर्च गरेर अर्काको देशमा पसिना बगाउनुभन्दा आफ्नै ठाउँमा केही गरौँ भन्ने सोच आयो । परीक्षणकालमै राम्रो उत्पादन हुने देखिएको छ । आगामी दिनमा थप विस्तार गर्ने तयारीमा छु ।”

फल लाग्दै गरेको सूर्यमुखी फूल पाक्ने बित्तिकै सोही जग्गामा तोरी खेती गर्ने तयारी गरिएको मिलनले जानकारी दिनुभयो । “परम्परागत खेतीले जीवन निर्वाहबाहेक केही गर्न सकिँदैन । गाउँमा आम्दानीको अन्य स्रोत पनि छैन । आम्दानीको स्रोत वृद्धि गर्न गाउँमै तेलहनजन्य खेतीलाई व्यावसायिक बनाउने सोचमा छु”, उहाँले भन्नुभयो, “आफ्नो गाउँमा खपत हुने खानेतेल आफ्नै गाउँमा उत्पादन गर्ने गरी योजना बनाएको छु । उत्पादित कच्चा पदार्थलाई आफँै प्रशोधन गर्ने गरी मिलसमेत खरिद गर्ने तयारीमा छु ।”

नगरपालिकाको कृषि शाखामा आधिकारिकरुपमा सूर्यमुखी कृषि फार्म दर्ता गरेर सूर्यमुखी फूलको व्यावसायिक खेती सुरु गर्नुभएका मिलनलाई आमा र बुबाले समेत साथ दिँदै आउनुभएको छ । परम्परागत कृषि प्रणाली अपनाउँदै आएका छिमेकीसमेत मिलनको सूर्यमुखी फूलको व्यावसायिक खेती देखेर सिको गर्ने तयारीमा छन् ।

खार्मीका मिलनले लगाएको सूर्यमुखी फूलको उत्पादनलाई हेरेर आगामी दिनमा त्यहाँका कृषकलाई अनुदानको व्यवस्था गर्ने योजना बनाइएको नगर उपप्रमुख विशन राईले बताउनुभएको छ । “खार्मी, पाथेका र जालपालाई तेलहनजन्य कृषि उत्पादनको पकेट क्षेत्र बनाउने तयारी गरिएको छ । मिलन भाइले सूर्यमुखी फूलको खेती सुरु गर्नुभएको रहेछ”, उहाँले भन्नुभयो, “व्यावसायिकरुपमा कृषि पेसा अपनाउने व्यक्तिलाई प्रोत्साहन गर्न नगरपालिकाले अनुदानको व्यवस्था गरेको छ । उहाँ (मिलन राई)ले लगाउनुभएको सूर्यमुखी फूलको खेती सफल भएको खण्डमा उहाँलाई नगरपालिकाको तर्फबाट आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ ।”

किशोरावस्था ननाघेका मिलनले आफ्नै लगानीमा व्यावसायिकरुपमा सूर्यमुखी फूलको खेती सुरु गरेपछि नगर उपप्रमुख राई कृषि शाखा प्रमुख तेजप्रकाश जैसीसहितका टोली लिएर अवलोकनमा खार्मी पुग्नुभएको थियो । पन्ध्र वडा रहेको यस नगरपालिकाको नवौँ नगरसभाले खार्मी, पाथेका र जालपालाई तेलहनजन्य खेतीका लागि पकेट क्षेत्र बनाउने घोषणा गरेको अवस्थामा मिलनले सुरु गरेको सूर्यमुखी फूलको खेती सप्रिएको खबर पाएपछि उपप्रमुख राईको टोली अवलोकनमा खार्मी गएको हो । रासस