४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

टोकियोमा नेपथ्य: कोशीको पानी सम्झँदै सुरुभएको साँझ राष्ट्रिय झण्डा उठाएर अन्त्य

टोकियोमा नेपथ्य: कोशीको पानी सम्झँदै सुरुभएको साँझ राष्ट्रिय झण्डा उठाएर अन्त्य
अ+ अ-

टोकियो। मंगलबार बेलुकी तोयोसु पिट हलमा सबैभन्दा पहिलो आवाज मादलको थियो –
‘घिनिनिनि तिनिनिनि तिनिनिनि घिनिनिनि’
यो पूर्वी नेपालबाट संकलित हाक्पारेमा आधारित एउटा गीतको ताल थियो ।

त्यसको लगत्तै किबोर्ड, गितार र ड्रमसेटको उच्च आवाजकै बीच गायक अमृत गुरुङले गाउन सुरुगरे –
‘कोशीको पानी यो जिन्दगानी सललल जाइ जाने हौ हजुर
आमाको कोखमा बासमात्रै लिएँ नि कुन देशको मरन हौ हजुर’

यसरी स्वदेश सम्झाउने गीतको भाव र रक कन्सर्टको उच्च तरंगले जापानको राजधानीमा तीन हजारभन्दा बढी दर्शकमाझ प्रारम्भबाटै हलचल मच्चिएको थियो ।

त्यो क्रमलाई ‘भेँडाको ऊनजस्तो’ले झनै तीब्रता दियो । त्यसपछि आफ्नो सर्वकालीक हिट गीत ‘छेक्यो छेक्यो’ गाउन्जेल ब्याण्डले माहोलमा पूर्णतया कब्जा जमाइसकेको देखिन्थ्यो ।


त्यसपछि अमृतले एकैछिन दर्शकसँग संवाद गर्न चाहे ।

‘यो तीन दशकभन्दा लामो यात्रामा तपाइँहरुको नेपथ्य ब्याण्डले धेरै अनुभव पनि बोकेको छ,’ उनले विगत सम्झँदै भने, ‘यो टोकियो भूमिमै हाम्रो समूहका साथीहरुबीच साँगीतिकदेखि लिएर मिलन विछोडसम्मका अनेक यादहरु छन् ।’

यसरी ब्याण्डका पुराना सदस्यहरुलाई एकपटक सम्झेर भावुक भएपछि लगत्तै अमृतले नेपथ्यकै सबैभन्दा पहिलो गीत सुनाए –

‘आँगनैभरि हिउँ नै झरे, आरु फूल टिपि राखे है’

अमृतले यो गीत गाइरहँदा मञ्चको पृष्ठ भागमा नेपथ्यका स्थापनाकालीन दिनहरुको तस्बिर देखाइएको थियो ।

कार्यक्रममा अध्ययन, रोजगारी वा बसोबासका निम्ति गएका नेपालीहरुको उपस्थितीसँगै केहि जापानी अनुहार पनि देखिन्थे । तिनैमध्ये टोकियोमै रेष्टुरेन्ट व्यावसाय चलाउँदै आएका नारुओ पनि थिए ।
‘मैले एउटा बेग्लै र गजबको साँगीतिक साँझ अनुभूति गरेँ,’ नारुओ भन्दै थिए, ‘शब्द बुझ्न नसकेता पनि त्यसका भाव र संकेतहरु ठम्याउँदै रमाउन सकिने संगीत थियो ।’

उनले कन्सर्ट अवधिभर आफूलाई समुद्रका छालहरुसँगै बगिरहेको जस्तो महशुस भएको पनि सुनाए ।

नेपाल पुगेका एक साथीले दिएको सुझावका आधारमा यो कन्सर्ट हेर्न आएको बताउने नारुओले आजसम्म आफु भने त्यो मुलुक घुम्न नपाए पनि यो कन्सर्ट हेरेपछि आफुमा घुम्न जाने अठोट भरिएको बताए ।

कार्यक्रमको मध्यतिर ‘यो जिन्दगानी’ गीत सुनाउनु अघि अमृत फेरि बोल्न तम्सिए । त्यतिबेला उनले साँगीतिक मात्र नभइ सामाजिक भूमिकामा पनि आफूलाई प्रस्तुत गर्दैआएको नेपथ्यका बारे ब्याख्या गरे ।
‘समाजले बेहोर्नु परेका अनेक चूनौतिहरुकै क्षण हामीले आफ्नो भूमिका पनि फराकिलो पार्दैआएका छौं,’ उनले भने, ‘वालवालिका, शिक्षण संस्था, द्वन्द्वकालीन समाजका लागि समर्पित हुदै आएका हामीले पछिल्लो समय भने मानवताका पक्षमा आफूलाई उभ्याएका छौं।’ बितेको एक वर्षदेखि मानव सेवा आश्रमसँग मिलेर ‘मानवताको लागि संगीत’ अभियान सुरुभएकोमा अहिले जापानको यात्रा पनि त्यसैको निरन्तरता रहेको उनले स्पष्ट पारे ।
‘नेपालमा हिजोआज सडकमा आश्रित मानिसहरुको संख्यामा निकै कमी आएको छ,’ अमृतले भने, ‘जसका कोहि हुदैनन् उसैको पक्षमा उभिँदै हामी पनि तपाइहरुसम्म आइपुगेका छौं ।’

स्थानीय समयअनुसार बेलुकीको ठीक साढे छ बजे सुरुभएको कन्सर्ट सोह्रवटा गीत र दुइवटा म्यूजिक भिडियो देखाएर दुइघन्टाभन्दा बढी अवधि चलेको थियो । सँधैझैँ अन्तिम लहरतिर प्रस्तुत हुने क्रमश: ‘मै नाचे छमछमी’, ‘रेशम’, ‘तालको पानी’ हुदै अन्तिममा ‘रातो र चन्द्रसूर्जे’ सम्म आइपुग्दा हलभरि जताततै दर्शकहरु नृत्य गरिरहेका देखिन्थे ।

‘टोकियोमा सप्ताहान्त बाहेकका दिन दर्शक जुटाउनै मुश्किल होला भन्ने लागिरहेको बेला मंगलबार आयोजित कार्यक्रम पनि भब्य र सभ्य रुपमा सम्पन्न भयो,’ स्थानीय आयोजक टोलीका सुभाष लामिछानेको प्रतिक्रिया थियो, ‘यो उपस्थिती देखेर सबै अचम्म मानिरहेका छौं ।’

सुभाषका अनुसार कन्सर्ट हेर्नका लागि परको जापानी सहर होकाइडो मात्र नभइ दक्षिण कोरियादेखि आएका दर्शकहरु पनि देखिन्थे ।

सन् १९९८ मा नेपथ्य पहिलोपटक जापानमा प्रस्तुत भएको थियो । पछिल्लोपटक भने पाँच वर्षअघि त्यहाँको प्रसिद्ध टोकियो डोममा ब्याण्डले लोकरक सुनाएको थियो ।

मंगलबार बेलुकीको कार्यक्रममा अमृतलाई ध्रुव लामा (ड्रमसेट), सुरज थापा (किबोर्ड), सुबिन शाक्य (बेस गितार), निरज गुरुङ (गितार) र शान्ति रायमाझी (मादल) ले सघाएका थिए ।

यसअघि जापानको तीनवटा सहरमा श्रृंखलावद्ध कन्सर्ट प्रस्तुत गर्ने योजना अनुरुप दुइ दिनअघि यहाँ आइपुगेको १४ सदस्यीय नेपथ्य टोलीलाई नारिता विमानस्थलमा स्थानीय आयोजकहरुले स्वागत गरेका थिए ।
टोकियो कन्सर्ट सम्पन्न भएसँगै अब आगामी प्रस्तुती फुकुओका सहरमा हुनेछ । साउन २७ गते ९१२ अगस्त०का दिन त्यहाँस्थित ‘फुकुओका सिभिल हल’मा नेपथ्य गुञ्जनेछ ।