२० मंसिर २०८२, शनिबार
,
Latest
काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

विषादी प्रयोग गरिएका आँप छ्यापछ्याप्ती



अ+ अ-

टङ्कीसिनवारी । मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा बिक्री वितरण भइरहेका छन् ।

सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरिरहेका छन् । नाफा कमाउन समयभन्दा पहिला नै आँप बजारमा बेच्न थालिएको छ । यसका लागि अत्यधिक विषादी प्रयोग गर्ने गरेको पाइएको छ । व्यापारीले पाक्नुभन्दा अघिनै रूखबाट आँप टिप्ने र विषादी प्रयोग गर्ने क्रम चलिरहेको छ ।

विषादी प्रयोग गरिएका आँप खाँदा स्वास्थ्य असर पर्ने जोखिम छ । भारतसितको खुला सीमाका कारण व्यापारीले सस्तोमा काँचो आँप नेपाल भित्र्याउने गरेका छन् । काँचो आँप ल्याउने र कार्बाइडको प्रयोगबाट पाकेका आँप बजारमा बेच्ने प्रवृत्ति मौल्याएको हो । आँपमा विषादी प्रयोग गरिँदा छिटो पाके पनि यस्तो आँप खानु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सक बताउँछन् ।

विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले खाद्य पदार्थमा अनुमतिबिना विषादी प्रयोग गरी बिक्री वितरण गर्न नपाइने बताउनुहुन्छ । बजेट निर्माणको चटारो भएका कारण बजार क्षेत्रमा नियमित अनुगमन गर्न नसकिएको उहाँको भनाइ छ । “यसको फाइदा उठाएर केही व्यापारीले विषादी प्रयोग गरी आँप बिक्री गर्नेगरेको जानकारीमा आएको छ”, कार्कीले भन्नुभयो । उहाँले काँचो आँपमा विषादी हालेर बिक्री वितरण नगर्न सबैमा आग्रह गर्नुभयो ।

सुनसरीको झुम्कास्थित कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रका माटो विज्ञ डिगम्बर यादवले अत्याधिक मुनाफा आर्जनका लागि केही व्यापारीले विषादी प्रयोग गरी आँप बजारमा बिक्रीका लागि ल्याउने गरेको पाइएको बताउनुभयो । यस्तो आँपको स्वाद पनि राम्रो नहुने र स्वास्थ्यलाई फाइदा नपु¥याउने उहाँ बताउनुहुन्छ ।

विराटनगर–२ स्थित मुस्कान फलफुल सेन्टरका सञ्चालक मोहम्मद इसलाम ठूला व्यापारीले नभइ केही साना व्यापारीले बढी मुनाफा कमाउने लोभमा आँपमा विषादी प्रयोगल गर्ने गरेका बताउनुहुन्छ । यसबाट ठूला व्यापारीलाई समेत समस्या भएको उहाँको भनाइ छ । कोसी अस्पतालका इमरजेन्सी विभागका इन्चार्ज गजेन्द्र यादवले विषादी मिसाएको आँप खानाले झाडापखाला लाग्ने, जीउ चिलाउने, वान्ता हुने जस्ता समस्या देखिने बताउनुभयो । विषादीयुक्त आँप बजारमा बेच्न थालेसँगै झाडापखाला, वान्तालगायतका बिरामी उपचारका लागि दैनिक अस्पताल आउने गरेका बताउनुभयो ।