१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारमा पाँच वर्षे हदम्याद प्रभावशाली ठूला भ्रष्टाचारीहरूलाई उन्मुक्ति दिने जस्केलो– ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल



अ+ अ-

काठमाडौँ । ट्रान्सपेरन्सी इन्टरनेसनल नेपाल (टीआई)ले भ्रष्टाचारमा पाँच वर्षे हदम्याद राख्ने प्रावधान प्रभावशाली ठूला भ्रष्टाचारीहरूलाई उन्मुक्ति दिने जस्केलो बन्न पुग्ने बताएको छ ।

संसद्मा प्रस्तुत भई दफावार छलफलको क्रममा पुगेका भ्रष्टाचार निवारण र अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी संशोधन विधेयकहरूबारे टीआईले आज एक प्रेस विज्ञप्ति जारी गर्दै केही विषयमा संसद्को ध्यानाकर्षण गराएको छ ।

टीआईका अध्यक्ष पद्मिनी प्रधानाङ्गले जारी गर्नुभएको विज्ञप्तिमा व्यक्ति वा समूहविशेषको निहित स्वार्थ–पोषणप्रति अभिलक्षित कुनै पनि तह वा निकायको निर्णयलाई ‘नीतिगत निर्णय’ को परिभाषाभित्र नपर्ने स्पष्ट व्यवस्था हुनु पर्ने उल्लेख छ ।

भ्रष्टाचारको मुद्दा चलाउने हदम्याद ‘थाहा पाएको मितिले पाँच वर्ष हुने’ प्रावधानले राजनीतिक दबावका कारण तामेलीमा राखिँदै आएका ठूला भ्रष्टाचारका मुद्दाहरू मात्र नभई वर्षौंदेखि सार्वजनिक जानकारीमा आइसकेका तर कानूनी कार्वाही अघि नबढाइएका उच्च तहका भ्रष्टाचारका मुद्दाहरू समेत अनुसन्धानको दायराबाट मुक्त हुने अवस्था सृजना हुन जाने ध्यानाकर्षण गराइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “यस्तो प्रावधान प्रभावशाली ठूला भ्रष्टाचारीहरूलाई उन्मुक्ति दिने जस्केलो बन्न पुग्नेछ ।”

नेपाल भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको पक्ष राष्ट्र रहेको भन्दै टीआईले यसले निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई फौजदारी कसूर मानी घुस लिने र दिने दुवै पक्षलाई कानूनी दायरामा ल्याउनुपर्ने स्पष्ट उल्लेख गरेको परिप्रेक्ष्यमा तदनुरूप स्पष्ट कानूनी प्रावधान र नियमनकारी निकायहरूलाई चुस्तदुरुस्त बनाउनेतर्फ पनि ध्यान पु¥याउनु आवश्यक रहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचार नियन्त्रणका विभिन्न निकाय र विविध कानूनी प्रावधानका बावजूद नेपालमा ठूला भ्रष्टाचारीहरूले दण्डहीनताको निर्वाध उपभोग गर्दै आएको परिप्रेक्ष्यमा उक्त संशोधन विधेयकहरूले त्यस्ता भ्रष्टाचारीलाई उन्मुक्ति दिने थप गल्छेँडाहरूको सृजना नगरोस् भन्नेतर्फ टीआई नेपाल समग्र सांसदहरू तथा सार्वभौम संसद्को विशेष ध्यानाकर्षण गराउन चाहन्छ ।”