२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंगलोरमाथि कोलकाताको दोस्रो जित, २१ रनले विजयी



अ+ अ-

एजेन्सी । आईपीएल २०२३ को ३६ औं खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई २१ रनले पराजित गरेको छ ।

बुधबार बैंगलोरको चिन्नास्वामी रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा पाँच विकेट गुमाएर २०० रन बनाएको थियो । जेसन रोयले २९ बलमा चार चौका र पाँच छक्का प्रहार गर्दै ५६ रन बनाए ।

सोही क्रममा कप्तान नितिश राणाले २१ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै ४८ रनको इनिङ खेले । जवाफमा बैंग्लोरको टोलीले २० ओभरमा आठ विकेट गुमाएर १७९ रन मात्रै बनाउन सक्यो । कप्तान विराट कोहलीले ३७ बलमा ६ चौकाको मद्दतले ५४ रनको इनिङ खेले ।

कोलकाताले यस सिजन बैंगलोरविरुद्धका दुवै खेल जितेको छ । यसअघि केकेआरले इडेन गार्डेनमा आरसीबीलाई ८१ रनले पराजित गरेको थियो । त्यसपछि केकेआरले पहिले ब्याटिङ गर्दै २०४ रन बनाएको थियो र बैंगलोरलाई १२३ रनमा अलआउट गरेको थियो ।

कोलकाताको पारी
टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनाएको थियो । जेसन रोय र नारायण जगदीशनले पहिलो विकेटका लागि ८३ रनको साझेदारी गरे। जेसनले यो सिजन आफ्नो लगातार दोस्रो अर्धशतक २२ बलमा पूरा गरे । आईपीएलमा उनको यो चौथो अर्धशतक हो । विजयकुमार वैशाकले १० औं ओभरमा जगदीशन र जेसन दुवैलाई आउट गरे। वैशाकले पहिले जगदीशनलाई डेभिड विलीको हातमा कैच ल्याए । उनले २९ बलमा २७ रन बनाउन सके ।

त्यसपछि ओभरको अन्तिम बलमा जेसन रोय क्लिन बोल्ड भए । जेसनले २९ बलमा चार चौका र पाँच छक्का प्रहार गर्दै ५६ रन बनाए । यसपछि कप्तान नितिश राणा र वेंकटेश अय्यरले तेस्रो विकेटका लागि ८० रनको साझेदारी गरे । सिराज र हर्षलले नितिशको दुई क्याच छोडेर दुई जीवनदान दिए ।

जसका कारण कप्तानले २१ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै ४८ रनको इनिङ खेले । १८औं ओभरमा भानिन्दु हसरंगाले नितिश र भेङ्कटेश दुवैलाई पेभिलियन पठाए । पहिले उनले नितिशलाई वैशाकको हातमा क्याच आउट गराए । त्यसपछि वेंकटेशलाई म्याक्सवेलले क्याचमा आउट पारे । भेङ्कटेशले २६ बलमा तीन चौकाको मद्दतले ३१ रन बनाउन सके ।

आन्द्रे रसेल फेरि असफल भए र एक रन बनाए । उनलाई सिराजले क्लिन बोल्ड गरे । रिंकु सिंहले १० बलमा १८ रन बनाएर अविजित रहे भने डेभिड वेसले तीन बलमा १२ रन बनाए । बैंगलोरका लागि भानिन्दु हसरंगा र वैशाकले २–२ विकेट लिए । सोही क्रममा सिराजले एक विकेट लिए । अन्तिम पाँच ओभरमा कोलकाताले तीन विकेट गुमाउँदै ६९ रन बनाएको थियो । केकेआरले अन्तिम ओभरमा १५ रन जोड्यो ।

बैंगलोरको पारी
२०१ रनको लक्ष्य पछ्याएको बैंगलोरको टोलीले इम्प्याक्ट प्लेयर फाफ डुप्लेसिस र कप्तान विराट कोहलीले उत्कृष्ट सुरुवात गरेको थियो । दुवैले दुई ओभरमा ३० रन जोडेका थिए । त्यसपछि तेस्रो ओभरमा लेग स्पिनर सुयश शर्मा बलिङ गर्न आए र डुप्लेसिसको विकेट लिए । उनले सात बलमा एक चौका र दुई छक्का प्रहार गर्दै १७ रन बनाउन सके ।

त्यसपछि सुयशले शाहबाज अहमदलाई एलबीडब्ल्यू आउट गरे । वरुण चक्रवर्तीले ग्लेन म्याक्सवेललाई आफ्नो शिकार बनाए । उनले पाँच रन बनाउन सके । त्यसपछि कोहली र महिपाल लोमरले चौथो विकेटका लागि ५५ रनको साझेदारी गरे । लोमरोरको रन रेट बढाउने चक्करमा उनलाई वरुणको बलमा रसेलले क्याच गरेका थिए । उनले १८ बलमा एक चौका र तीन छक्का प्रहार गर्दै ३४ रन बनाउन सके ।

यसैबीच कोहलीले सिजनको पाँचौं अर्धशतक बनाए । उनले ३३ बलमा अर्धशतक पूरा गरे । कोहलीको आईपीएल करियरको यो ४९ औं अर्धशतक हो । कोहली पनि भेंकटेशको बलमा रसेलको हातमा क्याच आउट भए । उनले ३७ बलमा ६ चौकाको मद्दतले ५४ रन बनाउन सके ।

दिनेश कार्तिक १८ बलमा २२ रन बनाएर वरुणको शिकार बने । सुयश प्रभुदेसाई १० रन र भानिन्दु हसरंगा ५ रनमा आउट भए । डेभिड विलीले ११ रन बनाएर अविजित रहे भने विजयकुमार वैशाकले १३ रन बनाए । कोलकाताका वरुणले तीन विकेट लिए । यही प्रदर्शनका लागि उनलाई प्लेयर अफ द म्याचको अवार्ड दिइएको थियो । यस्तै सुयश शर्मा र आन्द्रे रसेलले समान २–२ विकेट लिए ।

बैंगलोर र कोलकाता टोली अहिलेसम्म ३२ पटक आमनेसामने भएका छन् । कोलकाताले सधैं यसमा आफ्नो दबदबा राखेको छ । केकेआरले १८ खेल जितेको छ भने बैंगलोरले १४ खेल जितेको छ । योसँगै दुवै टोली बेंगलुरुको चिन्नास्वामी स्टेडियममा १२ पटक आमनेसामने भएका छन् । जसमध्ये कोलकाताले आठ र बैंगलोरले चार जित हात पारेको छ । यी दुईबीचको पछिल्लो ६ खेलमा केकेआरले चार र बैंगलोरले दुईमा जित निकालेको छ ।

कोलकाताको टोलीले लगातार चार खेल हारेर पहिलो खेल जितेको थियो । यससँगै बैंगलोरको टोली लगातार दुई जितपछि पराजित भएको छ । केकेआरले आठ खेलमा तीन जित र पाँच हार बेहोरेको छ । ६ अंक जोडेको टोली अंक तालिकाको सातौं स्थानमा छ । यस्तै बैंगलोरको टोली आठ खेलमा चार जित र चार हारसहित अंक तालिकाको पाँचौं स्थानमा छ ।