एजेन्सी । कप्तान सञ्जु सामसन र शिमरोन हेटमायरको अर्धशतकको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आएपीएल)–१६ मा साविक विजेता गुजरात टाइटन्समाथि पहिलो जित दर्ता गरेको छ ।
चौंथो खेलमा राजस्थानले गुजरातलाई पहिलो पटक हराएको हो । यसअघिका राजस्थानसँगको तीनै खेल गुजरातले जितेको थियो । गत सिजन गुजरातले राजस्थानलाई नै स्तब्ध बनाएर आफ्नो पहिलो सिजनमै आईपीएलको ट्रफि उचालेको थियो ।
आइतबार राति सम्पन्न रोमाञ्चक खेल राजस्थानले ३ विकेटले जितेको हो । राजस्थानको यो सिजनको चौथो जित हो । पाँच खेलमा ४ जितका साथ ८ अंक जोड्दै टोली अंक तालिकाको शीर्ष स्थानमा छ ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १७७ रन बनाएको थियो । १७८ रनको लक्ष्य राजस्थानका ब्याट्सम्यानले १९.२ ओभरमा ७ विकेट गुमाएर पुरा गरे । हेटमायरले छक्का प्रहार गर्दै टोलीलाई जिताए । उनले कुल ५ छक्का प्रहार गरे । उनी खेलको प्लेयर अफ द म्याच भए ।
१७८ रनको जवाफमा राजस्थानले सुस्त सुरुवात गरेको थियो । टोलीले पावरप्लेमा २६ रन मात्र जोड्दा यशस्वी जैसवाल (१ रन) र जोस बटलर (० रन) को विकेट गुमाएको थियो । ११ ओभरपछि टोलीको स्कोरबोर्डमा ६२ रन मात्र बाँकी थियो र चार ब्याट्सम्यान पेभिलियन फर्किएका थिए । यस्तो अवस्थामा सञ्जु सामसन र शिमरोन हेटमायरले म्याच विनिङ इनिङ खेले ।
खेलको पहिलो ओभरमा राजस्थानका ३ खेलाडी क्याच समात्ने क्रममा आपसमा ठोक्किए । पहिलो ओभरमा ट्रेन्ट बोल्टले तेस्रो बलमा मिडल स्टम्पमा ऋद्धिमान साहालाई बल दिए । बल पिचमा नै हावामा धेरै माथि गयो । विकेटकिपर सञ्जु सामसन, ध्रुव जुरेल र शिमरोन हेटमायर बल समात्न आए । क्याच लिन खोज्दा तीनै खेलाडी ठोक्किए । बल उनीहरुसँग ठोक्किएर ट्रेन्ट बोल्टमा गयो, उनी स्वयंमले क्याच गरे र ऋद्धिमान साहा खाता नैनखोली पेभिलियन फर्किनु पर्यो ।
सञ्जुले ३२ बलमा ६० रन र हेटमायरले २६ बलमा ५६ रनको योगदान दिए । कप्तान सामसनले आईपीएल करियरको १९ औं अर्धशतक पुरा गरे । सामसनको राजस्थान रोयल्सका लागि पनि ३ हजार रन पूरा भएको छ ।
गुजरातका लागि मोहम्मद शामीले ३ र राशिद खानले २ विकेट लिए । हार्दिक पाण्ड्या र नुर अहमदले एक–एक विकेट लिए ।
यसअघि गुजरातका ओपनर शुभमन गिलले ३४ बलमा ४५ र डेभिड मिलरले ३० बलमा ४६ रनको उपयोगी इनिङ्स खेलेका थिए । कप्तान हार्दिक पाण्डेयले २८, अभिनव मनोहरले १३ बलमा २७ र साई सुदर्शनले १९ बलमा २० रन बनाए । राजस्थानका सन्दीप शर्माले दुई विकेट लिए । यस्तै, ट्रेन्ट बोल्ट, आडम जाम्पा र युजवेन्द्र चहलले एक–एक विकेट लिए ।
राजस्थानका ओपनर जोस बटलर शून्य रनमा आउट भए । उनलाई मोहम्मद शामीले बोल्ड गरेका थिए । बटलर ७ वर्षपछि शून्य रनमा आउट भएका हुन् । यसअघि उनी २०१७ को आरपीएसविरुद्ध डकको शिकार भएका थिए । यी दुई डकबीच बटलरले ८६ इनिङ खेले । दुई डकबीच सबैभन्दा धेरै इनिङ खेल्नेमा उनी स्टिभ स्मिथपछि दोस्रो स्थानमा छन् ।
गुजरात टाइटन्सका कप्तान हार्दिक पाण्ड्याले २८ रनको इनिङ खेले । उनले आईपीएलमा २०१२ रन बनाएका छन् । यति मात्र होइन पाण्ड्याले ५१ विकेट पनि लिएका छन् ।
आजको खेलः रोयल च्यालेन्जर्स बैंगलोर भर्सेस चेन्नई सुपर किंग्स, साँझ ७ः४५ बजे