४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सङ्घीयताले रोक्न सकेन बसाइँसराइ, गाउँका घर रित्तिँदै

सङ्घीयताले रोक्न सकेन बसाइँसराइ, गाउँका घर रित्तिँदै
फाईल फोटो
अ+ अ-

बेनी । मुलुक सङ्घीय संरचनामा गएर विकास निर्माणका योजना गाउँगाउँमा भित्रिँदासमेत बसाइँसराइ बढ्दो क्रममा देखिएको छ । स्थानीय तह कार्यान्वयनमा आएसँगै जिल्लाको ग्रामीण भेगमा भौतिक पूर्वाधारको विकासले गति लिन थालेका छन् ।

सडक, पदमार्ग, सिँचाइ, खानेपानी, विद्यालय भवन, स्वास्थ्य चौकीलगायतका पूर्वाधार निर्माण हुने क्रम बढ्दो छ । एक नगरपालिकासहित पाँच गाउँपालिका रहेको म्याग्दीमा पाँच गाउँपालिकाको केन्द्र नयाँ बजार विस्तारको चरणमा पुगिसकेका छन् ।

जिल्लामा भौतिकपूर्वाधारको विकास हुने क्रम बढिरहेको सन्दर्भमा जिल्लाबाट अन्यत्र बसाइँसराइ गर्ने क्रम बढ्दो छ । जिल्लाभित्रका पाँच गाउँपालिकाबाट सदरमुकामसमेत रहेको बेनी बजारमा थोरै मात्रामा बसाइँसराइ गर्ने गरेका छन् भने समग्र जिल्लाबाट पोखरा, काठमाडौँ, बुटवल, चितवनलगायत क्षेत्रमा बसाइँसराइ गर्ने गरेको पाइएको छ । जिल्ला सदरमुकाम बेनीबजारस्थित रहेको बेनी नगरपालिकामा आन्तरिकरूपमा जिल्लाका अन्य स्थानीय तहबाट बसाइँसराइ गरी आउनेभन्दा यहाँबाट जिल्ला बाहिर बसाइँसराइ गर्नेको सङख्या बढी देखिएको छ ।

आव २०७८/७९ मा बेनी नगरपालिकामा तीन सय ११ सदस्य बसाइँसराइ गरी आएका थिए भने यस नगरपालिकाबाट चार सय ४२ सदस्य यहाँबाट बसाइँसराइ गरी अन्यत्र गएको पाइएको छ । नगरपालिकाको पञ्जीकरण शाखाका अनुसार चालु आवको चैत तेस्रो सातासम्म बेनी नगरपालिकामा एक सय ३२ सदस्य बसाइँसराइ गरी आएका छन् भने यहाँबाट दुई सय ४२ सदस्य बाहिरिएका छन् । जिल्ला सदरमुकाम बेनी रहेको बेनी नगरपालिकामा जिल्लाका पाँचवटै गाउँपालिकामा बसाइसराइको दर उच्च छ । वैदेशिक रोजगारका कारण युवायुवती विदेश पलायन हुने क्रमसँगै गाउँका स्थानीय सुविधा खोज्दै बजारतर्फ बसाइँसराइ गर्ने प्रचलन छ ।

रघुगङ्गा गाउँपालिका–८ चौरखानीका स्थानीय शिक्षक चन्द्रमान छन्त्यालले बसाइँसराइले गाउँ रित्तिदै गएको बताउनुभयो । “पहिले यस ठाउँ दुर्गम थियो, गाउँ भरिभराउ थियो, अहिले विकासका पूर्वाधार र सुविधा गाउँघरमा थपिँदै गएका छन्, तर गाउँ रित्तिँदै गएको छ”, उहाँले भन्नुभयो । गाउँमा स्वास्थ्य र शिक्षाको गुणस्तर नहुँदा बजारतर्फ बसाइँसराइ गर्ने दर बढिरहेको छ । रघुगङ्गामा चालु आवको हालसम्म आठ परिवारका १२ सदस्य बसाइँसराइ गरी आएका छन् भने ३५ परिवारका एक सय १४ सदस्य यस पालिकाबाट अन्यत्र बसाइँसराइ गरेर गएका छन् ।

यस पालिकामा गत आर्थिक वर्षमा ३८ सदस्य बसाइँसराइ गरी आउँदा एक सय ८३ सदस्य पालिकाबाट अन्यत्र बसाइँसराइ गरी गएको गाउँपालिकाका पञ्जीकरण शाखाका वसुता पुनले जानकारी दिनुभयो । पालिकामा बसाइँसराइ गरी आएको सङ्ख्या आन्तरिक बसाइँसराइ रहेको जनाइएको छ ।

अन्नपूर्ण गाउँपालिकामा चालु आवको हालसम्म २४ सदस्यले आन्तरिक बसाइँसराइ गर्दा एक सय ४७ सदस्यले पालिकाबाट अन्यत्र बसाइँसराइ गरेको देखिएको छ । मङ्गला गाउँपालिकामा यस आवको हालसम्म १३ परिवारका ४३ सदस्यले बसाइँसराइ गरेर आउँदा ४५ परिवारका एक सय ६० सदस्य अन्यत्र गएको देखिएको छ । पञ्जीकरण शाखाका लेकनाथ सापकोटाका अनुसार गत वर्ष मङ्गलाबाट १९ परिवारका ८३ सदस्य पालिकाभित्र बसाइँसराइ गरेर आउँदा ८२ परिवारका तीन सय पाँच जना अन्यत्र गएका छन् ।

मालिका गाउँपालिकामा यस वर्षको हालसम्म १२ परिवारका ३१ सदस्य बसाइँसराइ गरेर आउँदा ३२ परिवारका एक सय २४ सदस्य अन्यत्र बसाइँसराइ गरेका छन् । जिल्लाको सबैभन्दा दुर्गम स्थानीय तहका रूपमा परिचित धवलागिरि गाउँपालिकामा आन्तरिकरूपमा न्यून सङ्ख्यामा बसाइँसराइ हुने भए पनि यहाँबाट बाहिर जानेको सङ्ख्या ठूलो छ । यस पालिकामा चालु आवको हालसम्म छ परिवारले पालिकाभित्र नै आन्तरिकरूपमा बसाइँसराइ गर्दा यहाँबाट अन्यत्र ६७ घर परिवारले बसाइँसराइ गरिसकेका छन् ।रासस