१६ माघ २०८१, बुधबार
,
Latest
भ्रष्टाचार नियन्त्रण हुनैपर्छः प्रधानमन्त्री ओली ‘स्टन्ट’बाजीबाट देश चल्दैन, सबैको इमानदार प्रयास आवश्यक छ : प्रधानमन्त्री सहिदहरूको बलिदानको कदर गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान महाकुम्भमा भागदौड मच्चिँदा १४ जनाको मृत्यु–तस्बिरहरु बल्खु तरकारी बजारमा खाद्यको विषादी परीक्षण, २० प्रतिशत विषादी महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु पूर्वराष्ट्रपतिद्वारा युवा वैज्ञानिकहरुसँग अन्तर्किया पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला : ‘घुमौँ मधेस : बुझौँ मधेस’ प्रति विशेष आकर्षण संसार हेर्ने अभिलाषा पूरा हुन लागेकामा महोत्तरीका ज्येष्ठ नागरिक मक्ख ट्रम्पलाई झट्का: सहयोग रोक्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः डु प्लेसिस र कोहलीको १४८ रनको साझेदारीमा बैंगलोरले मुम्बईलाई ८ विकेटले हरायो



अ+ अ-

एजेन्सी । आईपीएलको १६ औं संस्करण अन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर(आरसीबी)ले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा गएराति भएको खेलमा उसले ८ विकेटले जित हात पारेको हो । आरसीबीका कप्तान फाफ डुप्लेसिसले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो । जवाफमा आरसीबीले १६.२ ओभरमा दुई विकेट गुमाएर १७२ रन बनाएर खेल जित्यो ।

आईपीएल सिजनको पहिलो खेल मुम्बई इन्डियन्सका लागि विशेष छैन । यसपटक पनि त्यस्तै भयो । मुम्बईको टोली यस सिजनको आफ्नो पहिलो खेलमा लगातार ११ औं पटक पराजित भएको छ । उसले पछिल्लो पटक २०१२ मा जितेको थियो ।

अर्कोतर्फ आरसीबीले पछिल्लो ६ खेलमा मुम्बईलाई पाँचौं पटक पराजित गरेको छ । साथै, आरसीबीले घरेलु मैदानमा ११ खेलमा मुम्बईविरुद्ध तेस्रो पटक जित हासिल गरेको छ । यसअघि २०१३ मा दुई रनले र २०१८ मा १४ रनले जितेको थियो ।

कप्तान फाफ डुप्लेसिस र अनुभवी ब्याट्सम्यान विराट कोहलीले टोलीलाई जित दिलाएका हुन् । दुवै अनुभवी ब्याट्सम्यानले अर्धशतक बनाए । १७२ रनको लक्ष्य पछ्याएको आरसीबीलाई कोहली र डुप्लेसिसले उत्कृष्ट सुरुवात गरेका थिए । दुवैले पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । कोहली र डुप्लेसिसले १४.५ ओभरमा १४८ रन जोडे ।

डुप्लेसिस ४३ बलमा ७३ रन बनाएर आउट भए । उनले पाँच चौका र छ छक्का प्रहार गरे । उनको स्ट्राइक रेट १६९.७७ थियो। सोही क्रममा कोहलीले ४९ बलमा अविजित ८२ रन बनाए । उनले आफ्नो पारीमा ६ चौका र ५ छक्का प्रहार गरे । विराटको स्ट्राइक रेट १६७.३५ थियो । ग्लेन म्याक्सवेल तीन बलमा दुई छक्का प्रहार गर्दै १२ रनमा अविजित रहे । दिनेश कार्तिकले खाता खोल्न सकेनन् । मुम्बई इण्डियन्सका अरशद खान र क्यामरुन ग्रीनले एक एक विकेट लिए ।

बायाँ हाते ब्याट्सम्यान तिलक वर्माले ४६ बलमा अविजित ८४ रन बनाएर मुम्बई इन्डियन्सलाई ठूलो स्कोरमा पुर्याए । एक तर्फबाट मुम्बईको विकेट लगातार झरिरहेको थियो भने अर्को तर्फबाट तिलकले लगातार रन बनाइरहेका थिए । उनले इनिङ्सको अन्तिम बलमा हर्षल पटेललाई छक्का प्रहार गरे । उनको इनिङ्सका कारण मुम्बईले १७० रनको अंक पार गर्यो ।

तिलकले आफ्नो पारीमा नौ चौका र चार छक्का प्रहार गरे । ५.२ ओभरमा तीन विकेट खसेपछि उनी क्रिजमा आएका थिए । त्यतिबेला टोलीको स्कोर २० रन थियो । त्यहाँबाट उनले मुम्बईलाई १७० रनभन्दा माथि पुर्याए । तिलकले चौथो विकेटका लागि सूर्यकुमार यादवसँग २८ रनको साझेदारी गरे । त्यसपछि उनले निहाल बधेरासँग पाँचौं विकेटका लागि ३० बलमा ५० रन जोडे । त्यसपछि उनले अर्शद खानसँग सातौं विकेटका लागि १८ बलमा अविजित ४८ रनको साझेदारी गरे ।

मुम्बईका नौ ब्याट्सम्यानमध्ये चारले दोहोरो अंक छुन सकेनन् । क्यामरुन ग्रीन र ऋतिक शोकिन ५–५ रन बनाएर आउट भए । टिम डेभिडले चार र कप्तान रोहित शर्माले १० बलमा एक रन बनाए । रोहितले आईपीएलको लगातार १५ औं इनिङ्समा अर्धशतक बनाउन सकेनन् । निहाल बधेराले १३ बलमा २१ रन, सूर्यकुमार यादवले १६ बलमा १५, इशान किशनले १३ बलमा १० र अरशद खानले ९ बलमा अविजित १५ रन बनाए । आरसीबीका लागि कर्ण शर्माले दुई विकेट लिए । मोहम्मद सिराज, रिस टपली, आकाश दीप र माइकल ब्रेसवेलले एक एक विकेट लिए ।

यसैबीच आज चेन्नई सुपर किंग्स लखनउ सुपरजायन्ट्सले प्रतिस्पर्धा गर्दैछन् । उक्त खेल राति ७ः४५ बजे सुरु हुनेछ ।