२१ भाद्र २०८३, आईतवार
,
Latest
मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालय बन्द गरेर शिक्षक भ्रमणमा



अ+ अ-

लुम्बिनी । रूपन्देहीको कोटहीमाई गाउँँपालिकास्थित मर्चवार आदर्श माध्यमिक विद्यालयका शिक्षक कर्मचारीको टोली विद्यालय बन्द गरेर भारत भ्रमणमा निस्केको छ ।

वार्षिक परीक्षा २०७९ मुखैमा पुगेको बेला शिक्षकहरू विद्यालयमा पढाउनुभन्दा आन्तरिक समझदारीमा भारतको उत्तराखण्ड भ्रमण तिर लागेका हुन् । कक्षा १ देखि १२ सम्मका पठनपाठन पूर्णरूपले ठप्प पारेर शुक्रबार १२ गतेदेखि १७ गतेसम्मका लागि भ्रमणमा निस्केको कोटहीमाई गाउँपालिकास्थित सो विद्यालयको भ्रमण टोली शनिबार भारतको हरिद्वार पुगेको सामाजिक सञ्जाल फेसबुकमार्फत देखिएको छ ।

आगामी चैत ५ गतेदेखि कक्षा १ देखि कक्षा ७ र कक्षा ९ को परीक्षा सञ्चालन हुने सूचना छ । कक्षा ८ को परीक्षा चैत ६ गतेदेखि सञ्चालन हुने निश्चित छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा १० को एसइई परीक्षा पनि चैत १७ गतेदेखि सञ्चालन हुने समयसारिणी छ । फागुन १४ देखि १७ गतेसम्म भारतको उत्तराखण्ड भ्रमणमा जान लागेको भन्दै बिदाको जानकारीसहित सो विद्यालयले गाउँपालिकालाई एक पत्र पठाए पनि १२ गते शुक्रबारदेखि नै विद्यालय ठप्प बनाई व्यवस्थापन समितिसहित शिक्षक कर्मचारी यात्रामा निस्किएक हुन् ।

विद्यालय बन्द भएकाले परीक्षाको तयारीमा बाधा पुगेको सोही विद्यालय कक्षा १० मा अध्ययनरत एक विद्यार्थीले बताए । “अहिले कोर्ष पनि पूरा भएको छैन, झन तयारी गराउनुपर्ने अवस्थामा विद्यालय नै बन्द गरेर हाम्रो परीक्षा र भविष्यलाई बेवास्ता गरिएको छ, मेरो नाम नखोली दिनुहोला अप्ठ्यारो पर्छ”, दु:खेसो पोख्दै उनले भने, “विद्यालय बन्दको कुनै लिखित सूचना पनि छैन, मौखिक जानकारी मात्र दिइएको छ । यस विद्यालयमा विद्यार्थीको भविष्यप्रति कोही जवाफदेही देखिँदैनन्, न विद्यालय व्यवस्थापन समिति जिम्मेवार देखिन्छ न त शिक्षक नै ।”

वार्षिक परीक्षा मुखैमा पुगेको बेला शिक्षक–कर्मचारी र विद्यालय व्यवस्थापन समितिले विद्यालय बन्द गरी अक्षम्य गल्ती गरेको आक्रोश पोख्दै अभिभावक पारस यादवले भने, “सरोकारवाला निकायले तत्काल कारबाही गरी उचित क्षतिपूर्ति भराउने व्यवस्था हुनुपर्छ ।”

“मर्चवार क्षेत्रकै मुख्य विद्यालयमा भएको यस्तो गैरजवाफदेही हर्कतले मर्चवारलाई नै बदनाम गर्ने कार्य भएको छ”, स्थानीयवासी गुरुवचन यादवले भन्नुभयो, “बालबालिकाको जीवन अन्धकारमा पारेर शिक्षक कर्मचारीसहित विद्यालय व्यवस्थापन समिति तीर्थाटन गएको कुनै फलदायी हुने छैन ।” विद्यार्थीको भविष्यप्रति हेलचेक्र्याइँ गर्ने प्रधानाध्यापकलाई कारबाही गरी विद्यालय व्यवस्थापन समितिसँग स्पष्टीकरण माग्न र कारबाही गर्न आग्रह गर्दै यादवले भने, “यस्तो गल्तीप्रति गाउँपालिका शिक्षा शाखा पनि उत्तिकै जिम्मेवार छ ।”

यसबारे गाउँपालिकास्थित शिक्षा शाखा प्रमुखसित सम्पर्क हुन नसके पनि कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले विद्यालय बन्दबारे आफूलाई कुनै जानकारी नभएको बताए । उनले भने, “मनपरी हिसाबले विद्यालय बन्द गरी जान पाइने छैन, त्यसबारे विद्यालयका प्रधानाध्यापक धनञ्जय त्रिपाठीसँग सोधपुछ गर्नेछु ।”

कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले यसबारे आफूलाई कुनै लिखित जानकारी नभएको बताए । उनले भने, “मैले मौखिक जानकारी पाएको थिएँ र विद्यालय बन्द नगर्न अनुरोध पनि गरेको थिएँ ।”

आफ्नो अनुरोधप्रति वास्ता नगरी मनपरी ढङ्गले सबै भारत भ्रमणमा जानुभएको जानकारी पाएको उनले बताइ । “विद्यालय खुलेपछि यसबारे सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोध्ने छु”, उनले भने । रासस