२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरि पनि भ्रष्टाचार नियन्त्रण कै कुरा …



अ+ अ-

केही दलहरुले चुनाव घोषणापत्रमा भ्रष्टाचार नियन्त्रणका विषय उल्लेख गरेका थिए र अहिलेको संसदमा ती दलहरुको राम्रै उपस्थिति पनि छ र सरकारमा पनि प्रतिनिधित्व छ ।

ती दलका केही सांसदहरुले संसदको बैठकमा भ्रष्टाचारको नियन्त्रणका कुरा उठाउन थालेको देखियो जुन सराहनीय पनि हो । कतिपय सांसदले २०४६ सालपछिका ठूला नेता तथा कर्मचारीको सम्पत्ति छानविन गरिनेछ भनेर कुरा राख्ने गरेको पनि पाइयो ।

भ्रष्टाचार छानविन गर्न समय किटान गर्नु उपयुक्त होइन । २०४६ सालभन्दा पहिले पनि ठूला भ्रष्टाचार भएका थिए तिनको पनि छानविन गर्नुपर्छ । पञ्चायत कालमा र त्यो भन्दा पहिले पनि खासगरी सरकारी र सार्वजनिक जग्गाहरुको ठूलो मात्रामा अपचलन भएको थियो त्यसको पनि छानविन हुनुपर्छ ।

अनि ठूला नेता र माथिल्लो तहका कर्मचारी मात्र होइन तल्लो तहकाहरुले पनि ठूलो भ्रष्टाचार गरेका उदाहरण पनि छन् । तिनको पनि छानविन हुनुपर्छ ।

तर शुरुवात वर्तमान समयबाट गर्दै पछाडि जानुपर्छ । संसद र सरकारमा हुनेहरुले भ्रष्टाचार नियन्त्रणको लागि साँच्चै काम गर्ने नै हो भने शुरु सबभन्दा पछिल्ला केशहरुबाट यसरी गर्नु पर्छ-

१) के अहिलेको संविधान र भ्रष्टाचार नियन्त्रण सम्बन्धी कानुनले साँच्चै भ्रष्टाचार नियन्त्रण गर्न सक्ने व्यवस्था गरेको छ रु सबभन्दा पहिले विज्ञहरु सहितको एक उच्चस्तरीय संसदीय समिति बनाएर संविधान र कानुनका प्रावधानहरुको पुनरावलोकन गर्न सक्नु पर्छ र भेटिएका कमी कमजोरी हटाउन संविधान र कानुनमा संशोधन गर्न सक्नुपर्छ ।

२) भ्रष्टाचारको नियन्त्रणका लागि स्थापित विद्यमान संयन्त्रको क्षमता र तिनबाट विगतमा तामेलीमा राखिएका चर्चित भ्रष्टाचार सम्बन्धी फायलको पुन अनुसन्धान गराउने व्यवस्था गर्न सक्नुपर्छ ।

३) विद्यमान संविधान र कानुनमा टेकेर र नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम २०७९ मा समावेश गरिएको एउटा बुँदा ‘ूभ्रष्टाचार र अख्तियारको दुरूपयोगसँग जोडिएका विषयको छानविन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानूनी कारबाही अगाडि बढाउने । भ्रष्टाचारी एक दिन कानूनको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गर्ने ‘ भन्ने अठोटलाई पुरा गर्न देहायबमोजिम कार्वाही अगाडि बढाउन सक्नुपर्छ I

(क) सर्बप्रथम अहिले सरकारमा रहेका र सरकारलाई समर्थन गरेका नेताज्यूहरुले गत निर्वाचनमा हेलिकोप्टर चढेको विवरण, हेलिकोप्टर प्रयोग गर्दा भएको खर्च र त्यो खर्चको स्रोत पारदर्शी गरेर देखाउन सक्नुपर्छ । अनि उम्मेद्वारलाई निर्वाचन आयोगले तोकेको खर्चको सीमाभित्र त्यो खर्च भएको पुष्ट्याइँ दिन सक्नुपर्छ ।

(ख) हरेक दलले गरेको निर्वाचन खर्च र आम्दानीको यथार्थ विवरण सार्वजनिक गर्नसक्नुपर्छ । राजनीतिक दल सम्बन्धी ऐनको प्रावधान अनुसार रु २५ हजार र सो भन्दा बढी दान दिने दाताहरुको नाम नामेसी र बैंक विवरणसहित सार्वजनिक गर्नुपर्छ ।

(ग) बालुवाटारस्थित ललिता निवास जग्गा अपचलनमा किर्ते र ठगी गरेको सम्बन्धमा नेपाल प्रहरीको सी आइ बी ले गरेको अनुसन्धान प्रतिवेदन, जुन अन्तिम समयमा आएर अदालतमा पेश गर्नु अघि रोकिएको थियो, त्यो प्रतिवेदन सार्वजनिक गर्नसक्नुपर्छ र त्यो प्रतिवेदन अदालत समक्ष पेश गर्न रोक्ने तत्कालिन महान्यायाधिवक्ता लगायतका पात्रहरुउपर छानविन गराई कारवाही गर्न सक्नुपर्छ ।

(घ) यस आ व को बजेट निर्माणमा वाह्य व्यक्तिको प्रवेशको विषयलाई सी आइ बी मार्फत पुन अनुसन्धान गराएर सत्य तथ्य बाहिर ल्याउनु सक्नुपर्छ ।

(ङ) कोभिड -१९ को समयमा स्वास्थ्य मन्त्रालय लगायतबाट भएको भ्रष्टाचारको अनुसन्धान गर्न मन्त्रिपरिषदबाट निर्णय गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरी पठाउन सक्नुपर्छ ।

(च) जनस्वास्थ्य सेवा ऐनको प्रावधान विपरित एकजना पूर्व प्रधानमन्त्रीलाई विदेशमा गएर उपचार गरेको खर्च व्यहोर्ने मन्त्रिपरिषदको निर्णयका दोषी उपर कार्वाही गर्न आयोगलाई अनुरोध गरी पठाउन सक्नुपर्छ ।

(छ) विगत ५ वर्षमा मन्त्रिपरिषदले निर्णय गरी दिइएको आर्थिक सहायता र व्यहोरेको उपचार खर्चको यथार्थ विवरण सार्वजनिक गर्न सक्नुपर्छ ।

(ज) तत्कालिन सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐनमा संशोधन गर्न राष्ट्रिय सभामा पेश गरेका विधेयकहरु फिर्ता गरेर विज्ञहरुसँग छलफल गरी माथि बुँदा नं मा उल्लेख भएको कार्यसँग जोडेर मूल्याङकन गरी पुन पेश गर्ने व्यवस्था गर्नसक्नुपर्छ । ती दुबै विधेयकमा भ्रष्टाचार गर्नेहरुको संरक्षण गर्ने प्रावधान राखिएकोछ ।

(झ) विगत ५ वर्षमा चर्चित भ्रष्टाचारहरुको अनुसन्धान गर्न मन्त्रिपरिषदबाट निर्णय गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरी पठाउन सक्नुपर्छ ।

(ञ) सधैं विवादास्पद रहेको वर्तमान प्रधानमन्त्रीज्यू बस्तै आएको घरका मालिक भनिएका ठेकदार, जसले सरकारका दर्जनौ कार्यक्रमको ठेक्का लिएर पुरा नगरी जनतालाई दुख दिइरहेकाछन्, निजलाई तत्काल कार्वाही गरेर देखाउन सक्नुपर्छ ।

यति गरेर देखाउनु भयो भने अरु सबै कालखण्डका भ्रष्टाचारको क्रमश अनुसन्धान हुँदै जानेछ र सांसदहरु र सरकारमा बस्नेहरुबाट भ्रष्टाचार नियन्त्रणका विषयमा गरेका प्रतिबद्धतामा विश्वास गर्न सकिनेछ ।

पूर्व सचिव शारदाप्रसाद त्रितालको फेसबुकबाट