२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा भण्डारी निर्वाचित



अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा नेकपा (माओवादी केन्द्र)का भीमबहादुर भण्डारी निर्वाचित भएका छन् ।

प्रदेशसभाको आज बसेको बैठकमा नेकपा (एमाले) की जानकी ऐर बमले सभामुखमा भण्डारीलाई निर्वाचित गरियोस् भनी राखेको प्रस्तावको पक्षमा २९ र विपक्षमा २३ मत परेको थियो । भण्डारीको समर्थकमा माओवादी केन्द्रकी गीतदेवी माल थिइन् । भण्डारीको पक्षमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका प्रदेशसभा सदस्यले मत जाहेर गरेका थिए ।

यसअघि प्रदेशसभा सदस्य मानबहादुर रावललाई सभामुखमा निर्वाचित गरियोस् भनी नेपाली कांग्रेसका मेघराज खड्काले राखेको अर्को प्रस्तावको पक्षमा २० मत र विपक्षमा २८ मत परेको थियो । रावलको समर्थकमा कांग्रेसका पृथ्वीबहादुर सिंह थिए ।

उक्त प्रस्तावमाथि भएको मत विभाजनमा कांग्रेसका दिवानसिंह विष्ट, ललिता सुनार, गीतादेवी चौधरी र माओवादी केन्द्रकी लक्ष्मी विक अनुपस्थित थिए । कांग्रेस, एकीकृत समाजवादी र स्वतन्त्र प्रदेशसभा सदस्यले रावलको पक्षमा मत जाहेर गरेका थिए ।

सभामुखको भूमिकामा रहेका शिवराज भट्टले भण्डारीको प्रस्तावको पक्षमा २९ मत परेको र उक्त मतसङ्ख्या बहुमत रहेकाले सभामुखमा उनी निर्वाचित भएको घोषणा गरेका थिए । सभामुखमा निर्वाचित भण्डारीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए ।

यसअघि गत पुस २८ र ३० गते बसेको प्रदेशसभाको बैठकमा उक्त दुवै प्रस्तावउपर कारबाही हुँदा कुनै पनि सदस्यको पक्षमा बहुमत सदस्य सङ्ख्या जुट्न नसकी प्रस्ताव अस्वीकृत भएको थियो । त्रिपन्न सदस्यीय प्रदेशसभाको सभामुखमा निर्वाचित हुन २७ जना मत आवश्यक हुन्छ ।

प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमाले १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् । तेस्रो पटक भएको मतविभाजनको निर्वाचनपछि मात्र प्रदेशसभाले सभामुख निर्वाचित गर्न सकेको हो । यसअघिको दोस्रो बैठकमा सत्तापक्ष नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सत्तापक्षका सभामुखको उम्मेदवारलाई बहुमत सङ्ख्या पुग्न सकेको थिएन ।

यस्तै पहिलो बैठकमा सत्तापक्षकै एक सदस्यको मत बदर भएको थियो भने अर्का एक सदस्य अनुपस्थित रहेका थिए । पहिलो बैठकमा नागरिक उन्मुक्तिका एक प्रदेशसभा सदस्य पनि अनुपस्थित रहेका थिए । रासस