१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

पूरा भयो पोखरेलीको पाँच दशकदेखिको सपना

पूरा भयो पोखरेलीको पाँच दशकदेखिको सपना
अ अ+ अ-

गण्डकी । पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने पाँच दशकदेखिको सपना पूरा भएको छ ।

विमानस्थलको भव्य समारोहबीच आज प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लगायतको उपस्थिति थियो ।

तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झन्डै रु २२ अर्ब लागतमा निर्माण गरिएको हो । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग छ ।

समारोहमा प्रधानमन्त्री दाहालले पोखरा विमानस्थलले गण्डकी प्रदेशको मात्र नभई समग्र देशकै अर्थतन्त्रमा विशिष्ट योगदान पु¥याउने बताउनुभयो । विमानस्थलले पोखरालाई अन्तर्राष्ट्रिय सहरसँग जोड्ने उहाँको भनाइ छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा विमानस्थल सञ्चालनमा सरकारले सघाउने बताउनुभयो । नवनिर्मित विमानस्थललाई चितवन, भैरहवालगायत विमानस्थलसँग जोड्नुपर्ने उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा विमानस्थल गण्डकी प्रदेशको समृद्धि र विकासका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्नका लागि सङ्घ सरकारको उहाँले ध्यानाकर्षण गराउनुभयो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय भएको बताउँदै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानीका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । विमानस्थल सञ्चालनका लागि सबैको साथ र सहयोग आवश्यक भएकामा जोड दिँदै उहाँले विमानस्थल सञ्चालनमा समस्याका रुपमा रहेका रिठेपानी डाँडा कटान र ल्यान्डफिड साइडको व्यवस्थापन गरिएको बताउनुभयो ।

विमानस्थल निर्माणकै लागि २०३४ सालदेखि जग्गा अधिग्रहण गरे पनि लामो समयसम्म काम अघि बढ्न नसकेकामा चिन्तित पोखरावासीले यसको निर्माण थाल्नुपर्ने मागसहित लामो समयसम्म सङ्घर्ष गरेका थिए ।

पोखरेलीको लामो समयदेखिको सङ्घर्षको प्रतिफलस्वरूप विमानस्थल सञ्चालनको अवस्थामा आउनु पोखरेलीका लागि हर्षको विषय भएको अभियानकर्मी विश्वशङ्कर पालिखे बताउनुहुन्छ ।

विमानस्थल निर्माणसँगै पोखरा अन्तर्राष्ट्रिय सहरका रुपमा स्थापित भएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ यो आगामी दिनमा व्यस्त विमानस्थलका रुपमा चल्नुपर्ने बताउनुभहुन्छ ।

चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ साल वैशाख १ गते शिलान्यास गर्नुभएको थियो । निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सिएमसिईले पाएको थियो ।

अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनबाटै विमानस्थल सञ्चालन आउनुले यसले पोखराको पर्यटनमा विशेष अर्थ राख्ने पर्यटन व्यवसायीहरू बताउँछन् । विमानस्थल सञ्चालनसँगै यससँग जोडिएका पूर्वाधारको विकासमा राज्यको ध्यान पुग्नु जरुरी रहेको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले बताउनुभयो ।

“पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय हो”, उहाँले भन्नुभयो, “यसको अधिकतम उपयोग हुने किसिमको वातावरण तयार गरिनु आवश्यक छ ।”

तथ्याङ्कअनुसार काठमाडौँ आएका विदेशी पर्यटकमध्ये ४० देखि ४५ प्रतिशत पर्यटक पोखरा आउने गर्दछन् । नेपाल आएकामध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक मनोरञ्जनका लागि आउने गरेको र ४० देखि ४५ प्रतिशत पोखरा पुग्ने गरेका छन् ।

उद्घाटनमा हजारौँको सहभागिता
पाँच दशकदेखिको सपना पूरा भएको भन्दै आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा हजारौँ पोखरेली सहभागी भएका छन् । पोखरा महानगरपालिकाको आयोजनामा पोखराको अमरसिंह चौरबाट विमानस्थलसम्म बाजागाजासहित विभिन्न जातजातिको वेशभूषामा सर्वसाधारणहरू सहभागी भएका थिए ।

विमानस्थल पोखरेलीको गौरव भएको भन्दै पोखरा महानगरपालिकाले आज उद्घाटन समारोहलाई भव्य बनाउने लक्ष्यका साथ ३३ वटै वडा र मातहतका विद्यालय तथा अन्य शैक्षिक संस्था बन्द गरेको थियो । उद्घाटन समारोहमा विमानस्थलको परिकल्पनाकार शङ्करराज पाठकलगायत विमानस्थल निर्माणमा विशिष्ट योगदान गर्ने व्यक्तिहरूलाई प्रधानमन्त्रीले सम्मान गर्नुभयो । वासुदेव पौडेल/कृष्ण दवाडी – रासस