२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेडाबाख्रा पाल्न चरन क्षेत्रको अभाव



अ+ अ-

टङ्कीसिनवारी । जमिनलाई टुक्रा–टुक्रा गरेर घडेरीमा बिक्री वितरण गर्ने चलन बढेपछि भेडाबाख्रा पालनका लागि चरन क्षेत्रको अभाव भएको छ ।

कृषियोग्य जमिन कम हुँदै गएपछि भेडा चराउने ठाउँको कमी भएको हो । चरन क्षेत्रको अभावका कारण भेडापालकलाई भेडा चराउन र भेडा बचाउन सकस पर्न थालेको छ । सुनसरीको हरिनगरा गाउँपालिका–४ का दयानन्द पाल, सदानन्द पाल र खिलानन्द पाल भेडा चराउन सयौँ भेडा लिएर महिनौँ घर छाडेर हिँड्ने गर्नुभएको छ । उहाँहरूको दिनचर्या भेडा चराउनमै बित्ने गरेको छ । घरका परिवारसँगको सम्पर्क कमै हुने गर्छ । भेडा चराउनैका लागि घाँस भएको क्षेत्र खोज्दै दैनिक १० देखि २० किलोमिटरको यात्रा भेडा लिएर पैदल तय गर्नुपर्ने बाध्यता छ ।

“भेडालाई बाँधेर राख्न गाह्रो छ । खुलामा चराउनु पर्छ । खुलामा चराउँदा खेतमा पसेर अरूको बाली खाइदेला भन्ने पीर हुन्छ”, दयानन्द पालले भन्नुभयो, “राति बास बस्दा पनि जङ्गली जनावरले भेडा खाइदेला भन्ने चिन्ता छ । आलोपालो गरेर २४सैँ घण्टा भेडाको सुती–नसुती निगरानी गर्नुपर्ने अवस्था छ ।”

भेडापालन गर्न दुःख बढी हुने गरेको अर्का भेडापालक सदानन्द पालले बताउनुभयो । पुख्र्यौली पेशा भएर मात्र भेडापालन अँगालेको उल्लेख गर्दै उहाँले चर्ने ठाउँ कम हुँदै गएकाले पाल्न कठिन बन्दै गएको बताउनुभयो ।

वर्षमा दुईपटक भेडाबाट ऊन निकाल्ने गरिएको छ । आधुनिकतासँगै भेडाको ऊनको बिक्री पनि कम हुँदै गएको छ । भेडाको ऊनको चाङले घर नै भरिए पनि बिक्री गर्न समस्या छ । भेडा चराउन हरिनगराबाट थालिएको यात्रा विराटनगर, लौकही, इनरूवा, भण्टाबारी, जनकपुरसम्म पुग्ने उहाँ बताउनुहुन्छ ।

भेडा चराउनैका लागि विराटनगर आउनुभएका दयानन्द, सदानन्द र खिलानन्द नहर छेउमा पाल टाँगेर बस्नुभएको छ । एक सय २० भेडा लिएर हिँड्नुभएका उहाँहरूको बढीजसो समय चरन क्षेत्र खोज्नमै वित्ने गरेको छ । सरकारले भेडाबाख्रा पालन गर्न सेवा सुविधा उपलब्ध गराउनुपर्ने उहाँहरुको माग छ ।