२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन बस्न सकेन नेकपा (एमाले) को स्थायी कमिटी बैठक ?



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक कुनै पनि विषयमा प्रवेश नगरी स्थगित भएको छ । 

तुलसीलाल स्मृति प्रतिष्ठानमा आज दिउँसो ३ः०० बजे बसेको बैठक कुनै पनि विषयमा प्रवेश नगरी पार्टी एकताका लागि थप पहल गर्ने भन्दै अध्यक्ष केपी शर्मा ओलीले आइतबारसम्मका लागि बैठक स्थगित गर्नुभएको हो । 

एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी एकताको प्रयासका लागि बैठक स्थगित गरिएको जानकारी दिनुभयो । “बैठकको शुरुआतमा अध्यक्ष ओलीले पार्टी एकताका सन्दर्भमा अहिलेसम्म भएको प्रयासबारे विघटित कार्यदलका सदस्यसँग जानकारी माग्नुभयो”, उहाँले भन्नुभयो, “पार्टी एकताका सन्दर्भमा आज बिहान भएको छलफलका बारेमा मैले अध्यक्ष ओलीलाई जानकारी गराए । त्यसपछि अध्यक्ष ओलीले पार्टी एकताको प्रयासलाई अगाडि बढाउन बैठक स्थगित गर्नुभयो ।”

नेता नेम्वाङले पार्टी एकताबारे छलफल गर्न वरिष्ठ नेता माधवकुमार नेपालसँग पार्टीका केही साथीहरु जानुभएकाले बैठक स्थगित गरिएको जानकारी दिनुभयो । आजको बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमाथि छलफल राखिएको थियो । उहाँका अनुसार बैठक भोलि अपराह्न ३ः०० बजे पुनः बस्नेछ । 

यसैगरी आज बिहान ओली र नेपाल पक्षबीच भएको छलफलमा पार्टी एकताका लागि दृढतापूर्वक लाग्ने सहमति भएको छ । आज सिंहदरबारमा भएको छलफलमा कुनै पनि हालतमा पार्टी एकतालाई जोगाउन दृढतापूर्वक लाग्ने सहमति भएको नेता नेम्वाङले जानकारी दिनुभयो ।