२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी

कृषि प्रधान मुलुक: धान पकेट क्षेत्रका किसान चामल किनेर खाँदै !

कृषि प्रधान मुलुक: धान पकेट क्षेत्रका किसान चामल किनेर खाँदै !
अ अ+ अ-

डुम्रे । अहिले उत्पादन भइरहेको धानको भातको स्वाद नै फरक भएको तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय किसान विष्णुप्रसाद ओझा बताउनुहुन्छ । “पहिले चामलको स्वाद गुलियो हुन्थ्यो । अहिले स्वाद नै फरक छ । अहिलेको चामलमा गुलियोपन छैन”, उहाँ भन्नुहुन्छ, ““पहिला गाउँमा एउटा घरमा मसिनो चामल पाक्दा गाउँभर नै बास्ना थाहा पाइन्थ्यो । अहिले बास्ना पनि कम आउने र कम गुलियो छ ।”

कृषक ओझा प्राङ्गारिक मल प्रयोग खेतीपातीमा गर्ने चलन नै हराएको बताउनुहुन्छ । विगतमा प्राङ्गारिक मल र गाईवस्तुको मल हाल्दा उत्पादन पर्याप्त हुनुका साथै स्वादिलो हुने गरेको उहाँको भनाइ छ । “पहिले रासायनिक मल भन्ने नै थाहा थिएन । गोठ नै खेतबारीमा राखिन्थ्यो । प्राङ्गारिक मलले उत्पादन पर्याप्त हुन्थ्यो । स्वादिलो हुन्थ्यो”, उहाँ भन्नुहुन्छ, “ढिकी, झाँतोमा कुटानीपिसानी गर्ने भएकाले पनि स्वादिलो हुन्थ्यो । अहिले विद्युतीय मेसिनमा कुटानी पिसानी हुँदा स्वाद फरक परेको जस्तो लाग्छ ।”

“अहिले खेतीपाती गर्न खर्चिलो छ । रासायनिक मलको प्रयोग गरिन्छ । त्यो किन्नै प¥यो । अहिले गाईवस्तु पाल्ने, मल उत्पादन गर्ने प्रचलन हराएको छ । अनि कसरी राम्रो उत्पादन होस् । यो दुःख गर्नुभन्दा बजारको चामल सस्तो पर्छ । केको दुःख गर्नु अहिलेकाले”, ओझा भन्नुहुन्छ, “भकारीको धान निकाल्नुभन्दा बजारको बोरा बोक्न सजिलो मान्छन् अचेल । दुःख किन गर्छन् र रु”

आफ्नै खेतबारीमा उत्पादन भएको धान किनेर खानुपर्ने अवस्था आएको बताउँदै उहाँ भन्नुहुन्छ, “अधियाँ गर्ने मान्छे पाइँदैन । खेत बाँझै रहन्छ । आफ्नो खेत ठेक्कामा दिएर उत्पादन भएको धानलाई बजारबाट किनेर चामल खानुपरेको छ ।” “अहिले तीन भकारी धान भए पनि वर्षभरलाई खान पुग्दैन”, ओझा भन्नुहुन्छ, “रासायनिक मलकै कारण पहिलेको जस्तो आटिलो हुँदैन ।” विगतमा मङ्सिरे धान मात्रै ७० देखि ८० मुरी धान उत्पादन गर्ने गरेको ओझाले बताउनुभयो । केही वर्षदेखि आफूले खेती गर्न नसकेको उहाँ बताउनुहुन्छ ।

उत्पादन धेरै भएको देखिए पनि खानका लागि पर्याप्त नहुने अग्रज किसान ओझाको अनुभव छ । उहाँले अहिले पनि केही खेतमा धान रोप्ने गर्नुभएको छ तर काम गर्न सक्ने अवस्था नभए पनि ज्याला र ट्र्याक्टर लगाएर खेती गर्दै आउनुभएको छ । खेती नगर्न छोरा, बुहारी, नातीनातिनाले सुझाव दिने गरेको उहाँ बताउनुहुन्छ ।

यस्तै व्यास नगरपालिका–७ का ८० वर्षीय इन्द्रबहादुर शाहीले उत्पादन गर्न नसकेपछि बजारको चामल किनेर खानुपर्ने अवस्था आएको बताउनुभयो । “खेतीपाती गर्न सकि ँदैन । छोराछोरी बजार झर्ने र विदेश जाने गर्दा खेतीपाती गर्दैनन् । जसले गर्दा भएको जग्गा जमिन बाँझो भएका छन् र किनेर बजारको चामल खानुपर्ने बाध्यता भएको छ”, शाहीले भन्नुभयो ।

बजारबाट किनेको चामलको मूल्यभन्दा उत्पादन लागत बढी हुने हुँदा पनि युवापुस्ताले चासो दिन छाडेको अगुवा कृषकको बुझाइ छ । आफैँले खेतीपाती गर्दा उत्पादनभन्दा लागत बढी लाग्ने भएकाले विदेशिने वा बजारमा काम गरेर चामल किनेर खाने चलन बढ्दै गएको उहाँहरुको भनाइ छ ।

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले धान उत्पादन बर्सेनि घट्दो क्रममा रहेको बताउनुभयो । “धान उत्पादन लागत बर्सेनि वृद्धि हुन्छ तर धानको मूल्य वृद्धि हुँदैन । जसले गर्दा धान खेतीमा युवाको चासो छैन”, उहाँले भन्नुभयो । साना किसानको धान बिक्री नै नहुँदा पनि उत्पादन घट्ने क्रममा रहेको उहाँको भनाइ छ ।

जिल्लामा जमिन बाँझिने क्रम बढ्दै गएको तिवारीले बताउनुभयो । सरकारले यसको नियन्त्रणका लागि रणनीतिक योजना तयार गर्नुपर्ने उहाँको भनाइ छ । “जबसम्म स्थानीय, प्रदेश र सङ्घ सरकारले जमिन बाँझो राख्न नपाउने नीति निर्माण गर्दैन । तबसम्म बाँझो जमिन बढ्दै जान्छ । यसको न्यूनीकरणका लागि कम्पनी मोडेलतर्फ सरकारले योजना बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

कृषि पेसालाई बचाइ राख्न कम्पनी मोडेलको योजना सरकारले बनाउनतर्फ ध्यान दिनुपर्ने अवस्था देखिएको तिवारीले बताउनुभयो । “कृषि पेसालाई कम्पनी मोडेलतर्फ विकास गर्न सकिएन भने कृषि प्रधान देशमा नै अध्ययनको विषय बन्न सक्ने सम्भाव्यता बढेको छ”, उहाँले भन्नुभयो । कृषि प्रधान देशमा नै कृषि पेसा अध्ययनको विषय बन्ने अवस्थामा पुग्न नदिन किसानसँग सम्बन्धित रहेका पक्ष सचेत हुन आवश्यक देखिएको छ ।

धान उत्पादन वृद्धि

चालु आर्थिक वर्षमा तनहुँमा धान उत्पादन वृद्धि हुने भएको छ । धान फुल्ने समयमा वर्षा भएकाले उत्पादन वृद्धि भएको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताउनुभयो । “गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो । गत वर्ष आठ हजार हेक्टरमा गरिएको धान खेतीबाट ३२ हजार आठ सय २४ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष उत्पादन क्षेत्र केही वृद्धि भएको उहाँले बताउनुभयो ।

यस वर्ष आठ हजार सात सय ३० हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ३३ हजार आठ सय ४० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको तिवारीले बताउनुभयो । उत्पादन वृद्धि भए पनि पकेट क्षेत्रकै किसानले धान किनेर खानुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

कृषि पेसाबाट विमुख

कृषि पेसामा लागत वृद्धि हुने क्रम रहेकाले यसबाट विमुख हुने कृषक बढ्दै गएका छन् । आफँैले उत्पादन गर्नुभन्दा किनेर चामल खान लागत कम पर्ने भएपछि दुःख गर्न युवा नचाहने बताइएको छ । धान उत्पादनका लागि धेरै खर्च बढ्दा विदेशबाट आयातित चामल किनेर खान किसानले नै थालेको व्यास नगरपालिका–८ बर्लाचीका ७२ वर्षीय अगुवा व्यक्ति दिनानाथ लम्साल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “पुरानो परम्परागत खेतीपाती गर्ने चलन छैन । पूर्णरुपमा परम्परागत खेतपाती गर्ने चलन हराएको पनि छैन र पूर्णरुपमा आधुनिक प्रविधिको उपयोगबाट खेतीपाती गर्न सकिएको छैन । यसले गर्दा उत्पादनमा समस्या भएको हो ।”

स्थानीय उत्पादित मल, बीउ हराएको र पूर्णरुपमा आयातित मल, बीउबिजन हुने भएकाले उत्पादन राम्रो भएको देखिने गरेको उहाँले बताउनुभयो । धेरै देखिए पनि दीर्घकालसम्मलाई अन्न नपुग्ने गरेको लम्साल बताउनुहुन्छ । तराई क्षेत्रमा जस्तो कामदार यहाँ नपाइने उहाँ बताउनुहुन्छ । “पहिले पहिले जस्तो खेताला पाइँदैन । मेसिनको प्रयोग गरिन्छ तर पूर्णरुपमा होइन । आधाआधी मेसिन त्यो चलाउन आफैँले काम गर्नुपर्छ । महँगो पर्न जान्छ यसले युवा विमुख भएको हुनसक्छ”, उहाँले भन्नुभयो ।

रासायनिक मलको प्रयोगले माटो बिग्रने र उत्पादन घट्ने उहाँहरुको बुझाइ छ । विगतमा आफ्नै खेतबारीबाट उत्पादित खाद्यान्न खाएर स्वस्थ्य रहने गरेको अगुवा किसानको भनाइ छ । विगतमा तनहुँ जिल्ला करिब करिब धान उत्पादनमा आत्मनिर्भर रहेको अगुवा किसान बताउँछन् । यहाँबाट अन्यत्र निर्यातसमेत हुने गरे पनि हाल जिल्लामा आयात हुने गरेको उनीहरु बताउँछन् ।

खेती गर्नुभन्दा चामल किन्दा कम मूल्य पर्ने भएर पनि युवा कृषि पेसाबाट विमुख भएको पाइएको वरिष्ठ कृषि विकास अधिकृत तिवारी बताउनुहुन्छ । “चामल र घर चलाउनकै लागि विदेशिएर आयआर्जन गर्न पुग्ने गरेका छन् । यहीँ उत्पादन वृद्धि र सहज मूल्यको वातावरण बनाउन सरकार र राजनीतिक दलको मुख्य भूमिका रहन्छ । त्यसैले युवालाई कृषि र कृषकले मूल्य पाउने गरी बिक्री नभए सरकार वा कुनै कम्पनीले खरिद गर्ने तथा प्रोत्साहन गर्न जरुरी छ”, उहाँले भन्नुभयो ।

तनहुँको व्यास नगरपालिकाअन्तर्गत साँगेफाँट, रिस्तीफाँट, सेरा, गजौडे, माझफाँट, शिशाघाट, सत्रसय, घाँसीकँुवा, भानु नगरपालिकाको चुँदीफाँट, बाइसजागर, आँबुखैरेनी गाउँपालिकाको ढापटार, बन्दीपुर गाउँपालिकाको याम्पाफाँट, सत्रसयफाँटमा धान उत्पादन हुन्छ ।

त्यस्तै देवघाट गाउँपालिकाको वेटार, म्याग्दे गाउँपालिकाको गुणादी, अकलाफाँट, शुक्लागण्डकी नगरपालिकाको फिर्दीफाँट, क्यान्दीफाँट, मान्द्रेफाँट, भिमाद नगरपालिकाको डुम्रीबँेसी, बुढुवाफाँट, बैडीफाँट, घिरिङ गाउँपालिकाको अत्रौलीफाँट, पुट्टारफाँट, ऋषिङ गाउँपालिकाको पिपलटारफाँटलगायतका क्षेत्रमा धान उत्पादन हुन्छ । धान उत्पादन हुने क्षेत्रमा नै खेतीपाती गर्न कम हुँदा उत्पादन घट्दै गएको छ । रासस