६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फूल व्यवसायीलाई भ्याइनभ्याइ



अ+ अ-

फूलबेदकोट । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ कलुवापुरकी सङ्गीता धामीलाई सयपत्री फूल टिपेर माला गाँस्न र बेच्न भ्याइनभ्याइ छ ।

सङ्गीताको फूलबारीमा आजभोलि तिहारका लागि फूल र माला किन्न आउने ग्राहकहरूको घुइँचो लाग्ने गरेको छ । कलुवापुरमा उहाँले करिब आठ कट्ठा जमीनमा पुष्प खेती गर्नुभएको छ । मागअनुसार फूल पुर्याउन हम्मेहम्मे परेको सङ्गीताले बताउनुभयो । “तिहारका लागि फूलको माग असाध्यै छ, मागअनुसार फूल पु¥याउन सकिएको छैन”, उहाँले भन्नुभयो, “सयपत्रीको आठ हजार बिरुवा रोपेको थिएँ, पहिलो पटक फूल खेती गरेको व्यापार राम्रै छ ।”

सङ्गीताले कृषि जेटिए अध्ययन गरेपछि गाउँमै पुष्प व्यवसाय गर्नुभएको हो । फूल र गाँसेको माला बिक्री गर्ने गरेको उहाँको भनाइ छ । “एउटा मालाको एक सय र प्रतिकिलो ग्राम फूल पाँच सयमा बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो, “पानी परेर केही बिरुवा रोगले नष्ट भए, नभए अझै फूल उत्पादन बढी हुन्थ्यो ।”

भीमदत्त नगरपालिका–१० तिलकेनीमा पुष्प व्यवसाय गर्दै आउनुभएका जनकबहादुर सिंहलाई पनि सयपत्री फूलबारीमा भ्याइनभ्याइ छ । बझाङ तलकोटका सिंहसहित चारजना युवाले तिलकेनीमा दुई बिघा जमिन लिजमा लिएर संयुक्तरूपमा व्यावसायिक पुष्प खेती गरिरहेका छन् । पाँच लाखको लगानीमा सयपत्रीका चार जातको फूल खेती गरिएको सिंहले बताउनुभयो । “फूलको माग धेरै छ, पूर्ति गर्न सकेका छैनौँ”, उहाँले भन्नुभयो, “एक पटक फुलेको पूरै फूल बिक्री गरेर सकिएको छ ।”

चितवनबाट फूलको बेर्ना ल्याएर खेती गरिएको उहाँको भनाइ छ । “एक बोटमा दुई माला बनाउनेसम्म फूल उत्पादन भइरहेको छ”, उहाँले भन्नुभयो, “अहिले तिहारलाई लक्षित गरेर फूल उत्पादन गरेका छौँ ।”

उहाँका अनुसार अब फूल खेतीलाई नियमित गरेर बाह्रै महिना उत्पादन गर्ने तयारी छ । यस पटक फूल राम्रै बिक्री भएकाले १५ लाखसम्म आम्दानी हुने उहाँको भनाइ छ ।